ए बिप्लव काका ! मजदुरको ट्याक्सी जलाएर कस्तो क्रान्ति गर्दैछौ ?

इनेप्लिज २०७३ साउन १० गते २१:०० मा प्रकाशित

image2

परदेशको काममा ब्यस्त थिएँ, फ़ुर्सद को बेला यसो मोवाईल के चलाएको थिएँ नेत्र बिक्रम चन्दको माओवादी पार्टीले एक गरीब युवकको सम्पत्तिको नाममा एउटा मात्र भएको ट्याक्सी नेपाल बन्दमा चलाएको भन्दै जलाएर ध्वस्त पारेको फोटो र समाचार देखेँ , सपना हो कि भनेर आफैलाई चिमोटेको बिपना नै रहेछ, मैले नचाहेको बिपना, म जस्ता लाखौँले मन नपराएको बिपना । म झसंग भएँ ।

एउटा कलिलो युवकको हातमुख जोर्ने साधनमा बिप्लवका कार्यकर्ताले आगो लगाएछन् सायद तिनीहरुलाई आगो लगाउन उनका मालिकहरुको निर्देशन थियो होला । अथवा भोलि जनताको आँखामा छारो हाल्न आन्दोलनमा घुसपेठ भएको बिज्ञप्ति निकाल्लान वा ती मज़दूर चित्र बहादुरलाई एलिट बर्गको भिजिलान्ते घोषणा गर्लान् सबै कुरा नचाहेरै पनि सुन्नु देख्नु पर्ने छ ।

दश बर्ष सम्म बम र बारुदको सिरानी राखेर रगत सँग खेल्दा पनि नपुगेर, हजारौँलाई टुहुरा अनि बिधवा र सहाराबिहीन बनाएर पनि नपुगेर अँझै पनि बिप्लव काकाले कस्तो परिवर्तन चाहेका हुन् जनताले जान्न चाहेका छन् । के तोड़फोड़ र बन्द अनि लुटपाट बिना देशमा परिवर्तन हुनै सक्दैन र अचेल ? कि बिप्लव काकाको पोल्टा नभरिएर फेरि उहि पुनरावृत्ति गरेका हुन् म जस्ता धेरै युवाहरुले प्रश्न गरिरहेका छन् ।

संसारकै राम्रो संबिधान भनेर ठूलो जमातले बोलीरहँदा बिप्लव काकाले त्यसको प्रतिकारमा गरीबहरुको रोज़ी रोटी मेटिने गरि आगो लगाउन आदेश दिन्छन् भने त्यो क्रान्ति कसका लागि होला ? के काकालाई दैनिक मज़दूरी गर्नेहरुले काम गर्न पाएनन् भन्ने चुल्हो बल्दैन भन्ने थाहा रहेनछ क्यारे ! हैन भने त्यो धुँवाको राजनीति कसको लागि हो नबुझी भएको छैन ।

मैले नबुझेको हो भने मलाई बुझाईदिनुस बिप्लव काका तपाईले गरेको बन्दले कुन चाहिँ धनी मानीलाई असजिलो भयो जसका लागि त महिनौ बन्द हुँदा पनि फरक पर्दैन । कि तपाईहरुले बन्द गर्दाको दिन दुखी गरीबहरु भोकै बस्नुपर्ने हो या ढुंगा माटो खाएर बाँच्नुपर्ने हो ? हैन भने १९ बर्षको कलिलो युवकले पासपोर्ट बनाएर अरबतिर हाम्निने कि तपाईको कार्यकर्ता बनेर आगो लगाउने हो अब तपाईले नै बताईदिनुस न ।

तपाईको भाषामा क्रान्तिको कार्यभार पूरा भएको छैन अरे त्यसो हो भने अझै कति निहत्थाले ज्यान गुमाउनुपर्ने हो त्यसको हिशाब किताब अहिल्यै गर्न पाए पछि मन सम्हाल्न गाह्रो हुँदैन होला । जनताकै लागि भनेर तपाईकै छत्रछाँयामा भएको दश बर्षे युद्दमा बगेका रगतका टाटा सुक्न मेटिन नपाउँदै फेरि के नपुगेर हिंसाको राजनीति गर्न उद्दत हुनुहुन्छ बताईदिनुस न है ! जनताकै नाममा भनेर गरेको राजनीतिले जनताकै सम्पत्तिमा आगो लगाउनु कुन वाद अन्तर्गत पर्दछ, त्यो कलिलो केटो चित्र बहादुर लाई बताईदिनु होला ।

बिष्वले यत्रो प्रगति गरिसक्यो हामी चाहिँ अझै के के वाद भनेर जनतालाई भुलाईरहेका छौँ धम्क्याईरहेका छौँ, के यहि हिंसाको राजनीतिले हाम्रो समाज परिवर्तन हुन्छ त हुन्छ भने कहिलेसम्म हुन्छ त ? हामीले त तपाई नेतृत्वकर्ताको चप्पले जीवन झक्कले भएको बाहेक अरु देखेका छैनौँ त ! हैन भने जनतालाई फुटाएर के गर्न तम्सिनु भएको हो बताईदिनुस न है !
हुनत तपाईले आफ्नो यो निकृष्ट कार्यको पनि पुष्ट्याईँ गर्नु होला किनकि तपाईहरुलाई तल माथि जता परेपनि काईँ काईँ गर्न आउँछ , केहि गर्न नसक्ने त हामी निहत्था जनता पो त ! आज अरबको पचपन्न डिग्रीमा नेपाली युवाहरु रगत संग नगद साटिरहन जाँदा राता बाकसहरुमा क़ैद भएर आउनुमा तपाईहरुकै कथित वाद पनि जिम्मेवार छ भन्ने कुरा बुझेर हो बुझ पचाउनु भएको हो र ?

तपाईका धेरै माग जायज़ होलान् तर यसै गरी गरिखानेको सम्पति जलाएर तपाई लक्ष्यमा पुगिसक्दा तपाईको अगाडि के नै बाँकी रहला र ? बरु हिम्मत भए आमरण अनसन गरेर देखाउनुस न है । तपाईले बन्द गर्ने अधिकार प्रयोग गर्दा अरुको हिड्न र काम गर्न पाउने अधिकार माथि धावा बोल्न तपाईलाई अलिकति पनि अप्ठेरो लागेन है ?

बिप्लव काका सके बिकास गरौँ नसके बल्ल बल्ल प्राण धानेको देशलाई फेरि मार्ने तिर नलागौँ । बिन्ती छ हिंसाको राजनीति त्यागेर बिकासको राजनीति शुरु गरौँ । यहि संबिधानलाई ईडिट गरेर पनि देशको मुहार फेर्न सकिन्छ । किन काटेको घाउमा नून चुक छर्किनु हुन्छ । फेरि बचे खुचेका चित्र बहादुरहरु अरब तिर हान्निए भने देश त मसानघाट जस्तो सुनसान बन्नेछ, त्यतिबेला तपाईको क्रान्ति भ्रान्ति शिवाय केहि हुने छैन । बेलैमा बुद्दि पुगोस ।

प्रतिक्रिया