सेनाको हेलिकोप्टरबाट घाइतेको उद्धार

इनेप्लिज २०७३ साउन १२ गते ११:०५ मा प्रकाशित

downloadबागलुङ, १२ साउन । पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ   लगिएको छ । आठ महिने गर्भवती समेत रहनुभएकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा सुशीलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । पहिरोका कारण उहाँकी ८ वर्षीया छोरी तुजी र २२ वर्षीया भतिजी डिकीको मङ्गलबार निधन भएको थियो ।

प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले सुशीलाको अवस्था अति संवेदनशील भएका कारण हेलिकोप्टरबाट काठमाडौँ लाने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ आठ महिनाको गर्भवती पनि रहेको पाइयो, पहिरोका कारण उहाँले परिवारका अन्य सदस्य पनि गुमाउनुभएको छ, ठाउँ–ठाउँमा सडक पनि अवरुद्ध भएकाले हेलिकोप्टर झिकाउन विशेष पहल गरिएको हो ।”

बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि सुशीलालाई काठमाडाँैं लगिएको हो । सोमबार रातिको वर्षासँगै घरमाथिबाट आएको पहिरोमा परी उहाँ घाइते हुनुभएको थियो । घाइतेको उद्धारसँगै पहिरो पीडितका लागि प्रारम्भिक राहत सामग्री पनि हेलिकोप्टरबाट पु¥याइएको छ ।

५४ थान पाल, चार बोरा चिउरा र चाउचाउ पठाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । बुर्तिवाङमा रहेको एकीकृत सेवा केन्द्र र इलाका प्रहरी कार्यालयमार्फत राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया