हराइरहेका तीन किशोर अझै भेटिएनन्

इनेप्लिज २०७३ साउन १३ गते ५:०७ मा प्रकाशित

बर्दिवास, १३ साउन । कमला नदी तर्दा हराइरहेका महोत्तरी जिल्लाका तीनजना किशोर अझै भेटिएनन् । गत आइतबार बोलबम मेलाका लागि कमलाको उत्तरायणीमा पवित्र जल लिन जाँदा बाढीले बगाएर हराइरहेका तीनजना अझै नभेटिएपछि महोत्तरीको बर्दिवासमा चिन्ता छाएको छ ।

भोलिपल्टको सोमबारको बोलबम मेलामा बर्दिवास–१२ को टुटेश्वर महादेव मन्दिरमा पवित्र जल चढाउने उद्देश्यले गत आइतबार उत्तरायणी गएका बर्दिवास–१ का १७ वर्षीय सुरज तामाङ, बर्दिवास–११ ढुङग्रेका १६ वर्षीय धनराज बलम्पाकी र गौशालाका १९ वर्षीय शिवशङ्कर ठाकुर हराइरहेका छन् । उनीहरुसँगै बाढीमा बगेका बर्दिवास–१ का १७ वर्षीय मनोज योगीको शव भने सोमबार साँझ प्रहरीले उनीहरु तरिरहेको ठाउँबाट सात किलोमिटर तल कमलाको बगरमा भेटेको थियो ।

धनुषा र सिरहा जिल्लाको साँधमा पर्ने कमलाको बाढीमा बगेर हराइरहेका तीनै जनाको खोजी सिरहा र धनुषा प्रहरीको समन्वयमा भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

धार्मिक उद्देश्यले रमाइलो बोलबम यात्रामा गएका आफ्ना बस्तीका युवाको यो घटनाले अहिले बर्दिवास र गौशालामा रुवावासी र विलाप सुनिने गरेको छ । मृत फेला परेका योगी र हराइरहेका तीनैजना घरसल्लाह नै नगरी लहडमा बोलबम मेलाका लागि गएका घरपरिवार र छिमेकीले बताएका छन् । बोलबम मेला रमाइलो मनाउन लहडमा निस्कने किशोर र भर्खर युवा उमेरमा प्रवेश गरेकाहरुमा होडबाजी नै देखिने गरेको बर्दिवास–१ का सामाजिक कार्यकर्ता कुर्महरि सुवेदीले बताउनुभयो ।

किशोर र युवामा लहडमा यात्रा गर्ने र बाढीसँग पनि खेलाँची गर्ने बानीले बोलबम मेलाकै समयमा बर्सेनि कमला नदीको बाढीमा बगेर मृत्यु हुने र हराउने घटना हुँदै आएका छन् । यस्ता घटना बढ्न नदिन मेलाका बेला घरपरिवारले किशोर र भर्खरै युवावय टेकेका आफ्ना सन्तानबारे चासो राख्नुपर्ने इप्रका बर्दिवासका प्रनाउ शर्माको सल्लाह छ ।

प्रतिक्रिया