परदेशी नेपालीको देशप्रेम

इनेप्लिज २०७३ साउन १३ गते ८:१२ मा प्रकाशित

sanjay

नेपालीहरु विदेश जान चाहन्छन् । विदेशमा कामको खोजीमा, विदेश डुम्न र विदेशमा स्थायी बसोबासका लागि गरी कम्तीमा तीनथरि नेपाली विदेश जान चाहन्छन् । केही नेपाली विदेशमा व्यापार गर्न पनि चाहन्छन् । नेपालमा भन्दा विदेशमा धेरै सजिलो छ भने विदेशप्रति नेपालीको मोह बढेको हुन सक्छ । स्वदेशमा राजनीतिक अस्थिरता, रोजगारीको साँघुरिँदो वातावरण र पाएको रोजगारीमा पनि अनेक बाधा तथा व्यवधान आइरहने हुनाले प्रायः आफ्नो लगानी गरेर काम गरिरहेकाहरुले विदेशको कामलाई राम्रो मान्ने गरेका छन् । नेपालीमा विदेशप्रतिको मोह बाल्यकालदेखि नै उत्पन्न गराइने गरिएको छ । नेपालमा पढिरहेका बालबालिकालाई केही धनीहरुले विदेशमा पढाउने गर्दछन् जसले गर्दा सहर बजारका मध्यमवर्गमा पनि त्यो मोह चल्छ । नेपालका राम्रा विद्यालयमा पढिरहेका बालबालिकालाई भारत र तेस्रो मुलुकमा पढन पठाउँछन्, जसले गर्दा अन्य समुदायमा पनि यो लहर चल्दछ । एक किसिमले विदेशमा बालबालिकालाई पढाउने परिवारको प्रतिष्ठा नै ठूलो मानिन थालिएको छ समाजमा । यसै कारणले विदेशमा पढाउने वा विदेशमा पढ्ने तथा विदेशमा नै रोजगारी गर्ने र विदेशतिरै हराउने चलन छ ।

जुनसुकै कारण वा माध्यमले विदेश पुग्ने गरेका नेपालीहरु किन नहोऊन् कम्तीमा आफूले आफ्नो जुनीभरि नेपाल र नेपालीलाई बिर्सन सक्दैनन् । कुनै पनि कारणले विदेशमा रहेका नेपालीमा नेपालप्रति, नेपालीप्रति र नेपाली शब्दप्रति नै माया लाग्ने गरेको पाइएको छ । नेपालीहरु विदेशमा कुनै रोजगार अथवा अन्य कारणले रहेकामा सामान्यतया भेटघाट हुने वित्तिकै कोही आफन्त वा आफ्नो मानिस भेट भएको जस्तो अनुभूति हुन्छ । आफ्नो कर्मभूमिमा रमाएर पनि जन्मभूमिप्रतिको आस्था र चाहनालाई निकै उच्च तहमा मूल्याङ्कन गर्ने गरेका छन् । नेपालप्रतिको आस्थालाई विदेशका सबै नेपालीले विभिन्न माध्यमले पोख्ने गरेका छन् । नेपाल र नेपालीको उन्नति र प्रगति उच्चतम चाहना हुने गरेको पाइएको छ । विदेशमा रहेर नेपाल र नेपालीको उच्चतम प्रगतिको कामना गर्ने नेपालीहरु वास्तवमा सच्चा नेपाली हुन् ।

नेपालीहरु विश्वको जुनसुकै कुनामा रहे पनि अधिकांशको मनमा नेपाल छ भन्ने कुरो गैरआवासीय नेपाली संघजस्तो अन्तर्राष्ट्रिय संस्थाको गठन हुनु र त्यसको शाखा (च्याप्टर) विश्वका विभिन्न देशमा गठन हुनु तथा सबैले विभिन्न किसिमले नेपाल तथा नेपालीको समृद्धिमा आफूलाई संलग्न गराउन खोज्नुले स्पष्ट हुन्छ । विदेशमा आफ्नो अस्तित्व र पहिचान बनाइसकेका, बनाइरहेका तथा बनाउन चाहेकाहरुले नेपाल र नेपालीलाई माया गर्दै यस भूमिको शान्ति, अमनचयन तथा समृद्धिमा आफूलाई भौतिक र मानसिकरुपमा समावेश गराउन चाहनु नेपालको भविष्य सुन्दर रहेको सङ्केत मान्नु पर्दछ । परदेशीमा नेपालीमा नेपालप्रतिको मोह र मायामात्र नभई नेपालको नाम आफू रहेको देशको जस्तै उज्ज्वल बनोस् र समृद्धिको सिंढी नेपालले निरन्तर चढिरहून् भनेर देशमा लगानी पनि गर्न तयार रहेका छन् । विभिन्न क्षेत्रमा लगानी गरेका छन् र गरिरहेका पनि छन् । नेपालमा लगानी गर्न खोजिरहेका अन्य देशमा रहेका नेपालीहरुले नेपालको समृद्धिको लागि विदेशमै गोष्ठी तथा विमर्शहरु पनि गर्ने गरेका छन् । नेपालको हक र हितमा गरिएका यस प्रकारका चिन्तनले नेपाललाई वर्तमान तथा भविष्यमा फाइदा नै गर्ने निश्चित छ ।

देशभित्र रहेर आफ्ना काममा व्यस्त रहँदा स्वदेशी नेपालीले वास्तवमा देशको माटोमा पसिना चुहाएर देशभक्ति प्रदर्शन गरिरहेका हुन्छन् । हरेक इमानदार र श्रम गर्ने नेपाली वास्तविक देशभक्त हुन् । देशभक्ति ओठले मात्र हुने होइन । कुनै कवितामा मात्र देशभक्ति सीमित रहन सक्दैन । देशभक्तिको सुगन्ध इमानदारीपूर्वक गरिएको हरेक कर्म र कर्मको प्रयत्नमा पनि रहेको हुन्छ । देशको लागि गरिएको भनेर काममा मात्र देशभक्ति हुन्छ भन्ने होइन । आफ्नो लागि भनेर देशमा इमानदारीले गरिएको श्रमको हरेक कणमा देशभक्ति रहेको हुन्छ । आफ्नो कर्मले सुगन्धित पारिएको माटोले, सिञ्चित गरिएको श्रमले यथार्थमा देशको माटोलाई चिसो बनाएको हुन्छ । देशको माटोलाई पसिनाले भिजाउनुभन्दा ठूलो देशभक्ति अरु कुनै किसिमले देशको सेवा गरिने भक्तिभन्दा कम हुन सक्दैन । हो, देशको रक्षा गर्नु, सिमाको सुरक्षा खट्नु, देशको विरोधमा काम गर्नेहरुलाई तह लगाउनु, देशको हकमा नीति नियम निर्माण गर्नु, सन्धि सम्झौताहरु गर्नु, देशको अर्थतन्त्रलाई बलियो बनाउने काम गर्नु, देशको भविष्यलाई अझ सुरक्षित बनाउनेतर्फ चिन्ता र चिन्तन गर्नु, देशका लागि विभिन्न आविष्कारहरु गर्नु आदिलाई देशको सर्वोच्च देशभक्ति मान्न सकिन्छ तर बिना स्वार्थ खेतमा पसिना बगाएर यही देशको माटोमा जीवन व्यतित गर्ने अनेकन कीरा–फट्याङ्ग्रा, चराचुरुङ्गी, जन्तुजनावरहरु, विभिन्न मानिसलाई भरणपोषण गर्ने वा हुने अवसर दिनुलाई पनि सम्पूर्णतः देशभक्ति मान्नु पर्दछ ।

यसै गरी कुनै बाध्यतावश, रहर वा आवश्यकताले विदेशमा पुगेका नेपालीहरुले आफूले आर्जन गरेको सम्पूर्ण सम्पत्ति नेपाल पठाएर आफ्नो परिवारलाई पालेकोजस्तो देखिए पनि देशलाई रेमिटान्स दिएर उनले पनि देशको सेवा गरेका हुन्छन् । विदेशमा पुगेर सम्पूर्णतः विदेशको नागरिक भइसकेका पूर्व नेपालीहरुले विदेशमा आफ्नो लागि आर्थिक आर्जन गरेको रकमबाट नेपालमा विभिन्न योजनाहरुमा लगानी गर्नु पनि देशप्रतिको माया नै हो । अन्यत्र लगानी गर्दा नेपालको भन्दा निकै बढी लाभ हुने जान्दाजान्दै पनि नेपालमा लगानी गर्नेहरुमा देशभक्तिको भावना रहेको कुरोलाई अस्वीकार गर्न सकिन्न । देशमा लगानी गर्न नसकिए पनि विदेशमा रहेर पूर्व नेपालीले कविताको रचना गर्ने, साहित्यमार्फत देशभक्तिको भावना जगाउने, विभिन्न सभासमारोहमा नेपाल र नेपालीको महिमा बखान गरी अरुको मनमा देशप्रति ममत्वको भावना उमार्नु, आफ्ना सन्तान तथा कार्यालयका साथीहरुको बीचमा नेपाल र नेपालीका राम्रा गुणहरुको चर्चा गर्नु, नेपालका विभिन्न स्थानहरुको सुन्दर वर्णन गरी देशको पर्यटनलाई टेवा पु¥याउने कार्य गर्नु, नेपाललाई आफ्नो मन र मस्तिष्कले माया गर्नुलाई पनि देशभक्तिको फराकिलो दायरामा समेट्न सकिन्छ । नेपाल त सामाजिक, आर्थिक, भौतिक विकासको दृष्टिले पछाडि परेको भए पनि विदेशमा देखिएको प्रगतिको आधारमा नेपालको प्रगतिको बारेमा चिन्तन गर्ने सम्पूर्ण विदेशी नेपालीहरुलाई समेत देशभक्त मान्नु पर्दछ । आफू जुन देशको नागरिक भएर काम गरिरहेको छ, त्यस देशका लागि काम गरेर पनि सपनामा भए पनि नेपालको सुख, शान्ति तथा प्रगति र उन्नतिको कल्पना गर्ने परदेशीलाई समेत देशभक्त नेपाली मान्न सकिन्छ ।

परदेशमा बस्ने नेपालीको देशप्रेमलाई देशले सम्मान गर्नु पर्दछ । समाजले सम्मान गर्नु पर्दछ । आखिरमा देशभक्ति वा देशप्रेमभन्दा ठूलो अरु केही हुन सक्दैन । हुन त देशभित्रै रहेर देशको हित हुनेभन्दा उल्टो दिशामा काम गरेको पनि हुन सक्छ । र, नेपाली नागरिकता परित्याग गरेर पनि नेपालको लागि विदेशमा र विदेशबाट नेपालको लागि धेरै गर्न नसके पनि सबैतिर सकारात्मक सन्देश फैलाउन चाहनेलाई सलाम गर्नु पर्दछ । देशको लागि मानसिक तथा भौतिकरुपमा केही गर्ने तथा देशलाई सम्मान गर्ने सबै परदेशी नेपालीको देशप

प्रतिक्रिया