नेविसंघ बलियो भयो भने माउ पार्टी बलियो हुन्छ

इनेप्लिज २०७३ साउन १३ गते १६:२७ मा प्रकाशित

Urmila-Thapaliya

उर्मिला थपलिया, महामन्त्रीको उम्मेदवार, नेविसंघ

० नेपाल विद्यार्थी संघको चुनावको रापले तपाइहरूलाई कति तताएको छ ?

– चुनावको संघारमा छौँ । साउन २३, २४ र २५ को लागि नेपाल विद्यार्थी संघको ११औँ महाधिवेसनको लागि समय तोकिएको छ । त्यो कारण पनि चुनावको माहोल तातेको छ । साथीहरू भेटघाटदेखि सुझाव लिने काम भएको छ । विशेषगरेर आफना चुनावी ऐजेण्डा राख्ने र साथीहरूले दिएका सुझावलाई आधार मानेर अघि जाने काम भएको छ ।

० यो दुधे बालक (उनी काखमा आफ्नो नावाकल छोरालाई लिएर अभियानमा हिँडेकी छिन्)लाई बोकेर किन दौडधुप गर्नु भएको छ ?

– यो दौडधुप नै हो । विशेष गरेर यो महाधिवेसनको लागि मेरो महामन्त्रीमा उम्मेदवारी हुने भएको कारण साथीहरूसँग भोट माग्नको लागि नै दौडधुप हो । साथीहरूले अघि बढन सल्लाह दिनु भएको छ । म अघि बढेको छु । दुधे बालक हाम्रो भबिष्य हो । उनीहरूको अनुहार हेरेर आज हामीले सही बाटो समात्न सकौ भन्ने उर्जा पनि यो मेरो बालकले दिइरहेको छ ।

० यो दौडधुपमा के ऐजण्डा लिएर पुग्नु भएको छ ?

– विशेष गरेर हामीले विगतदेखि नै संगठनको बारेमा चिन्ता गर्दै आएका छौँ । विगतमा पनि हामीले संगठन राम्रो र बलियो भयो भने मात्र नेता र माउ पार्टी बलियो हुन्छ भनेर राजनीतिमा हिँडेका छौ । अर्कोतिर हामीले ‘हाम्रो नेविसंघ, संगठित र प्रशिक्षत नेबिसंघ’ भन्ने अभियान नै चलाउँदै आएका छौँ । त्यो ऐजेण्डा बोकेर नै हामी नेविसंघका कार्यकर्ता माझमा आएका छौँ । संगठनमा देखापरेका कमजोरीका बारेमा छलफल गरेका छौँ । सुझाव लिने काम गरेका छौँ । कसरी अन्य संगठनभन्दा फरक संगठन बनाउने बारेमा आफनो राय दिने गरेका छौँ ।

० तपाई त नेताका रुपमा स्थापित भैसक्नु भएको छ । यो नेता बन्न कतिको कसरत गर्नु पर्छ ?

– हो सबै क्षेत्रमा चुनौती छ । अझ राजनीतिमा अन्य क्षेत्रभन्दा धेरै चुनौती र कसरत गर्नु पर्ने अवस्था छ । विगतमा भन्दा नेतालाई हेर्ने दुष्टिकोण फरक छ । झण्डै ९० प्रतिशतले नेता र राजनीतिलाई गाली गर्छन् । थोरैले मात्र सम्मान गर्छन् । देशको सर्वेसर्वा भनेको नै राजनीति हो । त्यसकारण यो समाज, राष्ट्र र देशलाई संवोधन गर्ने भनेको राजनीतिले नै हो । त्यसैले नेता बन्नको लागि घरपरिवारदेखि, समाज र पार्टीभित्र पनि धेरै संर्घष गर्नु पर्ने अवस्था छ ।

० राजनीतिमा आउन महिलालाई झन समस्या होला ?

– हो पक्कै पनि हाम्रो समाजमा पुरुषलाई भन्दा महिलालाई राजनीतिमा आउन धेरै समस्या छ । हाम्रो समाज पितृसतात्मक समाज र यो समाजभित्र रहेका मुल्य मान्यताका कारण यहाँ महिलालाई हेर्ने दुष्टिकोण त्यति फराकिलो छैन । विशेष गरेर महिलाहरू घरभित्र बस्नु पर्छ भन्ने परम्परागत मान्यता अझै पनि हाम्रो समाजमा कायमै छ । यो कारण सामाजिक, राजनीतिक र आर्थिक रुपमा महिला पछि पारिएका छन् । विगतदेखि नै घरको चुलो चौकामा देख्न चाहने यो समाजसँग राजनीतिमा आउन महिलालाई त्यति सहज पक्कै छैन । जो आउनु भएको छ । उहाँहरू ठूलो संर्घष गरेर आउनु भएको हो । र मेरो व्यक्तिगत कुरा गर्दा मैले पनि ठूलो संर्घष गरेर नै यहाँसम्म आएको छु । मैले कक्षा ६ मा पढदा देखिनै नेविसंघमा इकाई समितिमा बसेर काम गरेको हु । मैले त जीवनमा राजनीति नै देखेको छु । त्यसैले संघर्षमा खेल्न पाउँदा, मन खुसी हुने गर्छ ।

० राजनीतिमा महिलाको अवस्था कस्तो देख्नु भएको छ ?

– राजनीतिमा महिलाको अवस्था सन्तोषजनक छैन । नेपालको कुल जनसंख्याको झण्डै ५१ प्रतिशत महिलाको जनसख्या छ । तर राजनीतिमा भन्ने कमजोर उपस्थिति छ । ३३ प्रतिशतका कुरा गर्छन् । त्यो ३३ प्रतिशत पनि दिन राजनीतिक पार्टीहरू तयार छैनन् । विभिन्न बाहना देखाउँदै महिलाहरूलाई पछि पार्ने काम भएको छ । मुख्य भूमिकामा त भेट्नै सक्दैनौ । विशेष गरेर हाम्रो माउ पार्टी नेपाली कांग्रेसभित्र पनि त्यो देख्न सक्नु हुन्छ । जुन पार्टी सवैभन्दा ठूलो, पुरानो र लोकतान्त्रिक पार्टी भएको हामीले दावी गर्दै आएका छौँ । त्यहाँभित्र पनि यो समस्या छ । अन्य पार्टीमा पनि त्यो कायमै छ । नयाँ संविधान निर्माणसँगै देशको राष्ट्रपति र सभामुख महिला हुनु भएको छ । यसले केही आश भने जनाएको छ । तर यसलाई आधार मानेर बस्न सक्ने अवस्था भने छैन ।

० राजनीतिमा दुःख गर्ने व्यक्तिले अवसर पाउँदैन भन्ने गरिन्छ के सत्य हो ?

– तपाइले भनेको जस्तो केही सत्य हो । विशेष गरेर बहुदल स्थापनासँगै त्यो बढेर गएको छ । नेतृत्वले पार्टीमा आउने अवसरमा आफना निकटका नातेदार वा बाहुबलीको दबाबमा राजनीतिमा कुनै अनुभव नभएकालाई अवसर दिने गरेका छन् । जसले इमान्दार कार्यकर्ता नेतालाई पन्छाउने काम भएको छ । नेपालको राजनीति त कस्तो भएको छ भने नेतामुखी, नातामुखी र दातामुखी भएको छ । यो अवस्था कायमै भएमा राजनीतिमा अझै विकृति बढ्नेछ । त्यसकारण यो समयैमा सच्चाउनु पर्छ । त्यसो गर्न सकेनौ भने भोलीका सन्ततीको लागि हाम्रा राजनीतिक दलले के शिक्षा दिने हुन, त्यो पनि चिन्ता छ ।

० विद्यार्थी संगठनहरू निस्क्रिय नै भएका छन् किन ?

– सबै पार्टीका विद्यार्थी संगठनहरू कम चलायमान छ । निस्क्रिय नै भन्ने अवस्थामा त पुगेका छैनन् । विगतको तुलनामा भने केही कम चलायमान छ । त्यो सत्य हो । विशेष गरेर विद्यार्थीको नेतृत्व गरेर जाने नेतृत्वले काम गर्न नसक्नु र माउ पार्टीले उनको विचारको सुनवाई नगर्नु नै हो । अर्कोतिर राजनीतिमा स्थिरिता छैन । पढेर काम पाउन सकेका छैनन् । त्यो कारण धेरै विद्यार्थीहरू राजनीतिलाई घृणा गर्छन् । हामीले पहिले देखि नै यो कुरा राख्दै आएका छौँ । यस्ता समस्याको समधानको लागि पनि हाम्रो उम्मेदवार हो ।

० संगठनभित्र धेरै कम्जोरी छन्, तिनलाई कसरी सुधार गर्न सकिन्छ?

– सवै संगठनभित्र कमजोरी छन् । ती कमजोरीलाई सुधार गरेर जान आवश्यक छ । लामो समय भै सकेको छ । हाम्रो संगठनभित्र महाधिवेसन हुन सकेको छैन । महाधिवेशन हुन नसक्दा संगठन क्रियाशील र चुस्त बन्न सकेको छैन । पछिल्नो चरणमा संगठनहरू नेताहरूलाई कुर्सीमा पुगाउने सिँडी मात्र बनेका छन् । रचनात्मक काम गर्न सकेका छैनन् । महाधिबेशनबाट नेतृत्व छानेर रचनात्मक ढंगले अगाडि बढ्दै जाने हो भने कमी कमजोरीहरू त्यसै घट्दै जानेछन् भन्ने मेरो विश्वास छ ।

० राजनीतिमा युवा विद्यार्थीको किन आकर्षण बढन सकेको छैन?

– राजनीतिमा युवा विद्यार्थीको आकर्षण कम भएको छ । त्यो स्वभाविकै हो । एकातिर राजनीतिक अस्थिरता छ । अर्कोतिर पढेर पनि काम पाउन सकिएको छैन । ठूलो युवाको संख्या रोजगारिको लागि बाहिर जान बाध्य छ । त्यो कारण पनि कम आकर्षण भएको हो । हाम्रो शिक्षा व्यवहारिक हुन सकेको छैन । आत्मनिभर हुन सकेको छैन । विद्यार्थीको सर्टिफिकेट धरौटीमा राखेर ऋण दिनु पर्छ भनका थियौँ । त्यो पनि राज्यले दिन सकेको छैन । शुरक्षा छैन । खाली पेटमा जय नेपाल भनेर कति दिनसम्म चल्छ ? यिनै कारणहरूले हो जस्तो लाग्छ कम आकर्षण भएको हो ।

० युवा विद्यार्थी त सडकमा ढुंगा हान्ने, टायर बाल्ने, बन्द गराउने र पार्टी तथा नेताको झोला बोक्ने मात्र भए, तर रचनात्मक काम गर्न सकेनन् नि किन ?

– हो तपाईले भनेको जस्तो समस्या देखा परेको छ । पार्टी वा नेताले पनि निश्चित स्वार्थको लागि युवाहरूलाई प्रयोग गर्ने गरेका छन् । त्यो कुरा सत्य हो । त्यसकारण हामी कति प्रयोग हुने भन्ने आफूले पनि विवेक प्रयोग गर्नुपर्छ भन्ने हो । हाम्रा साझा समस्याका सन्दर्भमा एकता आवश्यक छ । तर कुनै नेताको लागि झोले भएर प्रयोग हुने वा नहुने त्यो आफैले निर्णय गर्ने कुरा हो ।

० शैक्षिक क्षेत्रको सुधारको लागि के आवश्यक छ ?

– विशेष गरेर विद्यार्थीले विद्यालयमा संघसंगठन खोलेर शिक्षण सिकाइमा बाधा पुगाएको आरोप लाग्ने गरेको छ । त्यो केही हदसम्म साँचो पनि हुन सक्छ । त्यसकारण नेपाल विद्यार्थी संघले समान शिक्षाको कुरा उठाउँदै आएको छ । अझैपनि सरकारी विद्यालय निजी विद्यालयमा दिने शिक्षाका बीच ठूलो खाडल छ । शिक्षामा समान पहुँच हुन सकेको छैन । यो चिरेर जान सक्नु पर्छ । त्यसको लागि राज्यले विशेष भूमिका निभाउनु पर्छ । अर्कोरित राज्यले व्यवहारिक र व्यवसायिक शिक्षामा जोड दिनु पर्छ । हामीले उच्चमाविसम्म राजनीति गर्न दिनु हुदैन भनेर आएका छौँ । यो गर्न आवश्यक छ । विश्वविद्यालय गएपछि राजनीतिक गर्ने विद्यार्थीले त्यहि राजनीतिक गर्न सक्छ । त्यसकारण सबै विद्यार्थीले यो मोटामोटी अनुभव गरेको कुरा पनि हो तर व्यवहारमा लागू हुन सकेको छैन ।

० नेतृत्व सर्वसम्मत रुपमा चयन हुने संभावना कतिको छ ?

– चुनावको लागि हामी लडेका छौँ । हाम्रो मान्यता कार्यकताले आफनो मत प्रयोग गरेर नेतृत्व चयन गर्न पाउनु पर्छ भन्ने हो । त्यो मेरो मान्यता हो । सबै कार्यकर्ताले चुनाव नै चाहेकोले चुनावबाट नै नेतृत्व चयन हुन्छ भने विश्वास लिएको छु ।

प्रतिक्रिया