अमेरिकामा आपत विपत पर्दा पनि नेपाली समुदायमा अन्यौलता बढ्यो – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ साउन १३ गते १८:५० मा प्रकाशित

prakash 1

नेपालीहरु संसारकै जुनसुकै भुगोलमा पुगे पनि एकले अर्कोलाई समस्या पर्दा मन फुकाएर सहयोग गरेको पाईन्छ । त्यसो त जन्मभुमिमा आपत विपत पर्दा संसार भरि छरिएर रहेका नेपालीहरुले पुर्याएको सहयोग अतुलनीय छ । यस्को ज्वालन्त उदाहरण दिनुपर्दा गत सालको विनाशकारी भुकम्पलाई नै लिन सकिन्छ । त्यस्तै गत सालकै भारतले नेपाललाई गरेको नाकावन्दीको विरोधलाई समेत उदाहरणको रुपमा लिन सकिन्छ । देशमा रहँदा होस् या विदेशमा दु:ख, गार्हो, सारो, विपत पर्दा नेपालीहरु एकजुट भएर दिलोज्यानले सहयोग गर्छन् भन्ने सर्वत्र चर्चा हुने गर्छ । यसलाई सबैले स्वीकार गरेको पाईन्छ । यसो त विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्ने र आवस्यक परेको खण्डमा आफ्नो जन्मभुमिलाई समेत आवस्यक सहयोग गर्ने लक्ष्यका साथ विदेशमा प्रशस्त सामाजिक संघ-संस्थाहरु पनि खोलिएका छन् । अझै एन.आर.एन. लगायतका नाम चलेका संस्थाहरु पनि विभिन्न देशहरुमा क्रियाशिल छन् ।

विभिन्न देशहरुमा झै अमेरिकामा समेत नेपाली समुदायलाई भैपरि आउने समस्या समाधान एकआपसमा मिलेर सहजै गर्न सकियोस् भनेर धेरै सामाजिक संघ-संस्थाहरु, सम्पर्क समितीहरु, विभिन्न समाज, समुदायहरुको संगठनहरु खोलिएका छन् र तिनीहरु क्रियाशिल पनि छन् । यी सबै खाले सामाजिक संस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो सहयोग पनि पुर्याएका होलान् तथापी नेपालमा गएको विनाशकारी भुकम्प पछि भने यी संस्थाहरुको क्रियाकलाप र आर्थिक विस्वासनियता माथी प्रश्न चिन्ह खडा भएको सहजै अनुमान लगाउन सकिन्छ ।

विशेषगरि भुकम्पको समयमा विभिन्न तरिकाबाट उठाईएको सहयोगहरुको पारदर्शिताको अभाव रहेको भन्दै केही संघ-संस्थाहरुमा आवाज उठेको र ती संस्थाहरु विवादमा समेत तानिएको पाईयो । त्यस्तै कतिपय संस्थाहरु विभिन्न नामबाट व्यापार प्रदर्शन र सभा-सम्मेलनको नाममा पैसा कमाउ धन्दामा सरिक हुन थालेको समेत आशंक गरिएका समाचारहरु सामाजिक संजाल र अनलाईन मिडियाहरुमा आउन थाले पछि भने आम सर्वसाधारण निकै अन्यौलमा परेको देखिन्छन् । अमेरिकामा रगत र पसिनासँग साटेको डलरले कसैको ज्यान बचाउन सकिन्छ, लुटिएको खुशीमा केही न केही मुस्कान छर्न सकिन्छ भनेर नै दाताहरुले सक्दो सहयोग गरेका हुन्छन् तर त्यसरी गरिएको सहयोग विभिन्न व्यक्तीहरुको खोल्टीमा थन्किएर बस्छ र सम्बन्धित पिडित समक्ष त्यो पुग्दैन भने पक्कै पनि दाताहरु आक्रोसित हुनु स्वाभाविक हो । यस्तै घटनाहरुले हालका दिनहरुमा नेपाली समुदायहरु विच बजार तातेको छ । समाज सेवाको नाममा हुने यस्ता गतिविधी कुनै पनि हालतमा क्षम्य हुनै सक्दैनन् ।

यस्ता घटनाले जो वास्तविक पिडीत थिए तिनीहरु सामु राहत नपुग्नुले एकदमै अन्याय भएकै छ भने दाताहरुको पसिनाको पनि दुरुपयोग गरिएको छ र अर्को तर्फ अमेरिकामा वास्तविक आपत विपतमा पर्नेहरुलाई समेत परोपकारी हिसावले आर्थिक सहयोग उठाउन खोजिए पनि आवस्यक सहयोग जुट्न कठिन बनिरहेको छ । त्यस्तै कहिकतैबाट सहयोग परोपकारी तवरबाट माग्दा समेत संका उपसंका गर्ने ठाउँ बढेको छ जसले गर्दा वास्तवमै सहयोग चाहिने व्यक्तीहरुलाई समेत सहयोग जुटाउन नसकिने अवस्था सृजना भएको छ । यस्तो वातावरण आउनुमा समेत त्यस्ता सामाजिक संस्थाहरु, व्यक्तीहरु जिम्मेवार छन् जसले सामाजिक सेवाको नाममा आफ्नो व्यक्तीगत लालचालाई पुरा गर्न हदै सम्मको अमानवीय काम गरेर आर्थिक घोटला गरे ।

त्यस्ता संस्थाहरु र व्यक्तीहरुलाई समयमै कानुनी कार्वाही गर्न नसक्ने हो भने आउँदा दिनहरुमा अमेरिका र जन्मभुमि नेपालमै प्राकृतिक विपतमा पर्दा समेत आर्थिक सहयोग जुट्न सक्ने सम्भावना निकै कम देखिन्छ । यस तर्फ जिम्मेवार व्यक्तीहरु र संस्थाहरुले बेलैमा ध्यान पुर्याउनु पर्ने देखिन्छ । सामाजिक सेवालाई कमाउ धन्दामा प्रयोग गर्नेहरु प्रति नेपाली समुदायले निष्पक्षरुपमा कानुनको कठाघरामा उभ्याउनु जरुरी छ । कुनै पनि राजनितिक आस्थाकै कारणले अपराधीलाई काखी च्याप्ने काम हुनु हुँदैन तर यस्ता कामहरु पनि हुँदै गरेको र यस्ता अनियमितता बारे औला ठड्याउनेलाई समेत राजनितिक आँखाले हेर्ने गरेको समेत देखिन्छ । आफ्नो राजनितिक आस्था मिल्नेहरुले जतिसुकै कमिकमजोरी र आर्थिक घोटला वा भ्रस्टचार गरे पनि देखे नदेखे गरिदिने र यदी राजनितिक आस्था नमिल्ने भएमा हुँदै नभएका घटनाहरुलाई समेत अतिरंजित गर्ने काम नेपालमा मात्रै हैन अमेरिकामा झन् बढि देखिएको छ । यस्तो प्रवृतीले हामी र हाम्रो समाज कता पुग्न खोजेको हो यो अतिनै विचारणीय पक्ष बनेको छ ।

त्यसैले समयमै सही लाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत सबैले गरौ । विदेशमा सामाजिक संघ-संस्था खोलेर बदनाम हुने काम नगरौ र एक नेपालीलाई परेको आपत विपतमा अर्को नेपालीले तमसा हेरेर बस्ने पनि नगरौ । जो जसले आपत विपतमा परेकाको लागी सहयोग जुटाउन जुनसुकै तवरबाट लागे पनि आर्थिक पारदर्शीता प्रदर्शन गरौ र सामाजिक संस्थाहरुको जनविस्वास बढाउन तर्फ लागौ । अमेरिकामा सामाजिक संस्थाहरु प्रतिको घट्दै गएको साखलाई पुनर्जीवित गर्न तर्फ सबैले आ-आफ्नो ठाउँबाट प्रयास गरौ । वास्तविक विपतमा परेका सबैलाई सक्दो सहयोग गरेर मानविय धर्म निर्वाह गरौ । आपत विपत भन्ने कुरा जसलाई पनि जहिले पनि पर्न सक्छ यसलाई मनन गरौ, काटेको घाउँमा नुनचुक हैन मलम- पट्टी लगाउन सहयोग गरौ ।

प्रतिक्रिया