कथा ‘ प्रियलाइ पत्र… ‘

इनेप्लिज २०७३ साउन १३ गते १९:०६ मा प्रकाशित

prakash-1-1

एउटा डल्लै युग पश्चात अचानक जब तिमीलाई अस्पतालको बेडमा देखें केहीबेर त सत्य लागेन केहि पनि बल्लतल्ल सम्हालिए र ठम्याए त्यो बिरामी मान्छे ! जो तिमी नै थियौ । अनि सगमगाउन थाले निकै पछी छुटिसकेका यादहरु . . . ।

बास्तवमा मलाइ कुनै अधिकार त छैन ‘प्रिय’ सम्बोधन गर्ने त ! तर अन्जानमै सहि कुनै समय तिमीसितको चोखो र निर्दोष प्रेम अनुभूतिको आँड लागेर ” प्रिय ” भनि सम्बोधन गर्ने साहस जुटाउँदै एउटा पत्र कोर्दै छु तिमीलाई ।

यो जगत एउटा नाट्यशाला रहेछ र हामी बिभिन्न भूमिका निभाउने पात्रहरु…
तमासा बनिनुपर्ने कहिले त कहिले तमासा देखाउनु पर्ने ।
कहिलेकाही त ओल्टाईपल्टाई गरीगरि धित मरुन्जेल चिथोरेर बेरूप बनाउँ लाग्छ यी अबस्थाहरुलाई ।

समयचक्रको घानमा समस्त निर्दोष चाहना र सुन्दर सपनाहरु टुक्राटुक्रा पाउँदा अघात चोट पुग्छ यो सानो चित्तमा अनि खेद लाग्छ यो जन्म प्रति नै ।
खै दोसुं त कस्लाई ?
समय/परिस्थितिलाई, आफैंलाई ? कसलाई ?
फर्केर हेर्दा यी सबै दोषी देख्छु र देख्दिन पनि ।
र हेर्छु यी हस्तरेखा म सानै छँदा पण्डित बाले भनेका थिए राम्रो लघ्नमा जन्मिएकाले बडो उज्जल भविष्य छ यी नानीको। वाहियात लाग्छन यस्ता भविष्यवाणी जब यथार्थ फरक हुन्छ ।

प्रिय ब्रिजेस , साच्चै कहिलेकाही मनको दलिनमा हजार कुराहरु चाकाचुली खेल्न आउंथे अनि म सालिकमा ठोक्किएर खिसी गर्दै अलप हुन्थे । म त उस्तै नै उभीइरहेछु , यस्तै लाग्थ्यो । समय सँगै निष्ठुरी परिथितिले घिसारिरह्यो र म इच्छा-अनिच्छाले उनकै पछिपछि घर्सी रहें । कर्तव्यको गह्रुङ्गो ढाकर थाप्लोमा बोकेर, सारा रहर, लक्ष्य, आकांक्षा र इच्छाहरुलाई खकन-खकनमा बलियो कसी समयचक्र सँगै गन्तव्य भेट्न असिनपसिन हुँदै दुख-शुखको भन्ज्याङ्ग उक्लिरहें । त्यो साहस कहाँ रह्यो र अब ।

जीवन यात्राकै क्रममा अनेकौं पटक ठेस लाग्दा सम्झनाका झोलुङ्गे पूल घरिघरी मन मस्तिष्कमा डाइफ मार्न आउंथे । आहा, कति स्वर्णिम थिए त्यो क्षण , त्यो पल , त्यो निर्दोष मुस्कान, निर्दोष हेराई जब तिमी घोडामा ओहर दोहर गर्थ्यौ मेरै घरको बाटो भएर । तिमी प्रति कुनै आसक्ति नै त थिएन तर लुकीलुकी हेर्दा मज्जा आउँथ्यो । तिम्रो शालीन स्वभावले तिमी कुनै राजकुमार जस्तै लाग्थ्यो ।

विद्यालयको सुन्दर जीवन यात्रा सकिएपछि जब क्याम्पसको अध्ययन सुरु भो लाग्दथ्यो अब म संसार जित्दै छु । नयाँ जोस, उमङ्गहरुमा पखेटा लागेर भुरर्र्,…उड्ला झैँ लाग्थे । आफ्नो हातको भाग्य रेखा आफैं कोरेर जीवन को बहिखातामा सप्तरंगी सपनाले एक सुनौलो अक्षर लेख्नेछु जहाँ खुशी र जीत मात्रै हुनेछ । कल्पना नै त हो कति मिठो थियो, मैले नि गरें कल्पना, देखें सुन्दर सपनाहरु…. ।
यतिखेर जिन्दगीको यो आधा पन्ना मिल्ने भए च्यातेर मिल्काई दिनेथें जहाँ पीडा भन्दा अरु केहि छैन ।

आइए दोस्रो बर्षको परिक्षा दिएर नतिजा नआइन्जेल आमाबुवालाई सघाउँन थाले पसलमा । बजारबाट समान ल्याउन निकै गारो हुँदो रछ बल्ल थाहा पाउने अवसर मिल्यो । अहिलेसम्म आमाबुवाले गर्नु भएको दुखमा अब म सामेल हुन तयार थिएँ । हामी चार जनाको परिवार हांसिखुशी नै चलिरहेको थियो पगितो नभए नि पुर्याएका थियौं जसोतसो प्रेमले उनेर ।

घरमा नयाँ मान्छेहरुको आवतजावत बढेसँगै मलाइ कताकता असमान्जस्य स्थिति पैदा गराइदिएको थियो । भित्रभित्रै मेरो बिहेको कुरो चलिरहेको भाइले सुटुक्क कानेखुशी गर्यो । म छाँगाबाट खसेझैं भएँ । आफैंले टेकेको जमिन हल्लिएझैं लाग्यो र बसें थचक्क उभिएकै ठाउँमा । म त धेरै पढ्न पो चाहन्थें र मेरो आमाबुवाको भविष्यको सहारा बन्न चाहन्थें । भाइ अलि सानो थियो, स्कुल पड्दै ।

साँझको खानपान पछी आमाले खुब सम्झाउनु भयो, फकाउनु भयो । छोरी भएर जन्मिनुको अर्थ बुझाउनु भयो पहिलो पटक । म देखि म नै हैरान भएर बिरानो हुँदै गएको महसुस गरें त्यतिखेर मैले । आमा झन् मायालु स्वरमा सुम्सुम्याँउदै फकाउँन थाल्नु भयो केटो विदेशबाट छुट्टी आएको रछ, राम्रो छ रे । हामीले तिमीलाई धेरै शुख दिन सकेनौं छोरी सायद बिहेपछी पो शुख भोग गर्न लेखेको छ कि तिम्रो भाग्यमा !। मलाइ आमाको निर्दोषपना प्रति अथाह माया लागेर आयो कस्तो विश्वास हो यो उनको कठैबरा मेरी आमा ! खै कता विलिन भए बाक्यहरु निस्केनन् , जुरुक्क उठेर अँगालोमारे…आमालाई । आमाले पनि बेस्सरी कस्नु भो आफ्नो न्यानो अँगालोमा र रोयौं दुवै…रातभर ।

मैले कुनैपनि तबरले आफुलाई बिहेको लागि तयार गरेकी थिइन् । इमान्दारिताका साथ् भन्नुपर्दा मलाई बिहे गर्ने रत्तिभर मन थिएन । आमाबुवाको कुनैपनि कुरो अहिलेसम्म काटेकी थिइन । कस्तो धर्मसंकट आइपर्यो यो, हे ईश्वर !। बन्चरोले गोडै चिरे झैं लाग्यो । यो जीवन, यो शरीर आफ्नो लागेन सत्य । अस्वीकारोक्तिका मौन ताता आँशुहरु चिच्याँउदै उर्लिए । आजको दिनसम्म आउँदा मैले तपाईहरुको कुनैपनि कुरा अबज्ञ गरेकी थिइन आमा मलाइ यो बिहे गर्नु छैन ! मलाइ पराय नबनाउनुहोस् भित्ताहरु चर्किने गरि कराउँदै भन्न मन थियो तर निस्किएनन् वेवस स्वर, शब्दहरु.. । पहिलो पटक लाग्यो म छोरी भएर किन जन्मिएछु !

एक दिन भेटघाट कार्यक्रम राखे र त्यसै दिन तोके बिहेको तिथिमिति बुजुर्कहरुले ।
घरको रौनकता फेरिएको थियो एकप्रकारले ।आफन्त, नातानाला , छिमेकी सबै रमाएको त्यो वातावरणमा म भने एक्लो एक्लो हुँदै थें । मलाइ पराय बनाउन तिमीहरु यतिबिघ्न किन रमाउंदै छौं हँ ? के म बोझ भएकी थिएँ भनि भाडभैलो गर्न मन लाग्दथ्यो तर म बिचरी निथ्रुक्क रुझेको चरी जस्तै भएकी थिएँ सच्चै त्यतिखेर । आमाबुवा दिनरात नभनी खट्नुहुँदैथ्यो बिहेको लागि । उहांहरु बडो हर्षित हुनुहुन्थ्यो मलाइ त्यो खुशीको हेर्दा आनन्दित लाग्थ्यो तर टाडा हुँदैछु भन्ने कुरोले बेस्सरी पोल्थ्यो अन्तर्मन ।

आफ्नो क्षमताले भ्याएसम्मको ढोल पिटाए धुमधामसँग बिहेको मेरो आमाबुवाले र गरे बिदाइ आफ्नी प्यारी छोरीको । नव दुलही बनि गृह प्रवेश गरेको महिना दिनपछि श्रीमान विदेश फर्कनु भयो । समाजको रिति/थिति, संस्कार पनि खै कस्तो हो कस्तो ! अपरिचित सँग जीवनको संगीतमा सुर र ताल मिलाउनु पर्ने ।

म घर थामेर बसें कहिलाही आमाबुवालाई भेट्न जान्थें । मेरो श्रीमान टेलिफोन गर्नु हुन्थ्यो समय-समयमा । समग्रमा जिन्दगी ठीकठाक सँगै चलिरहेको छ भन्ने लाग्थ्यो ।

एकदिन बजारबाट फर्कंदै गर्दा मेरी स्कुल देखिको साथि शिखा भेटीइन । सामान्य हालखबर सोधपुछ पश्चात उनले नमिठो गरि भनिन् तिमी त बडो निष्ठुरी पो रैछौ !
म छक्क पर्दै प्रति प्रश्न गरे , हन कसरी म निष्ठुरी भएँ हँ शिखा ?
ब्रिजेसलाइ किन यसरी धोका दिएको तिमीले ?
मैले धोका दिएँ ब्रिजेसलाई , के मा ?
प्रेम मा ।
प्रेममा ?
हो, प्रेममा ।
तर मैले उस्लाई प्रेम गरेकी थिइन शिखा ।
तिमीहरु हाँस्नु , ख्यालठट्टा गर्नु, हालखबर सोधिरहनु आदि इत्यादी यी एक नजानिँदो प्रेम नै त थियो नि ।
गलत शिखा !
त्यो त सामान्य टोलबासी भएको नाताले र हाम्रो पसल भएकोले सबै सँग हाँसेरै बोल्नु व्यवहार गर्नु हाम्रो काम थियो । यदि त्यसलाई उसले प्रेम ठानेको थियो भने त्यो उसको एकतर्फी प्रेम थियो ।
हो, मलाइ राम्रो लाग्थ्यो उ राम्रो व्यक्तित्व भएको असल मान्छे हो म सम्मान गर्छु तर मैले त्यसरी गहिरिएर केहि सोचेकी थिइन शिखा ।
ब्रिजेसले तिमीलाई हदैसम्म प्रेम गर्थे छ । तिम्रो बिहे पश्चात त उ पागलै जस्तो पो भएको छ ।
मैले उ सँग त्यस्तो गहिरो प्रेम गरेर अर्कोसँग बिहे गरेको भए म स्वार्थी कहलिनेथें तर मैले त्यस नजरले हेरिन शिखा उस्लाई ।
अबेर भो, ल छुटुं अहिलेलाई । म लागे घरतिर…।
शिखाले अचम्म मान्दै हुन्छको टाउको हल्लाइन ।
बाटोभरि मनमा आतंक मच्चियो ओरिपरी तिम्रै तस्विर घुमेर । के ति हाँसखेल, ठट्टा/मजाक, रमाइलो भित्र प्रेमका अंकुर थिए ! कहुँ त कसलाई ! नकहूँ मनभरी छटपटी भो । निकै समयसम्म सताइरह्यो तिम्रो तस्विर र पुराना यादहरुले। दिन, हप्ता, महिना, बर्ष हुँदै सुस्तरी तिम्रो सम्झनाहरु ओझेल पर्दै गए ।

दुई बर्ष पछी मेरो श्रीमान आउनु भयो । नजानिँदो पाराले जिन्दगी रसिलो हुँदैथ्यो । रमाउन र मुस्काउँन सिक्दैथ्यो । यहि बिच हाम्रो छोरी जन्मियो । घर परिवारमा खुशीको अर्को रौनकता छायो । जीवनमा एउटा खुशीको फूल फुलेझैं लाग्यो । मुस्कानमा एउटा नयाँ रङ्ग थपिए झैं लाग्यो, अनि त लाग्यो, आहा जिन्दगी ।

उत्तरदायित्व र कर्तव्यको भार थपिएपछि मेरो श्रीमान पुनः विदेश जान तयार हुनु भो । पहिलेको अनुभवले गर्दा छिट्टै मिल्यो उहाँको कागजपत्र र जानु भयो प्यारी छोरी र श्रीमती छोडेर ।

खुशीको कोपिला मेरो जिन्दगीमा फक्रिन नपाउंदै दैवले चुँडीलग्यो । मेरो श्रीमान विदेश गएको छ महिना नपुग्दै दुर्घटनामा परि ज्यान गुम्यो । अनि सुरु भो म अभागीको जीवनमा दुर्दशा । सानी छोरी लिएर जाउँ त कहाँ म ? कहिल्यै गालि नगरेकी सासुआमाले मेरो छोरा खाने अलच्छिनी, डाहिनी , बोक्सी अनेक आरोप लाउँदै घर बाट गलहत्याँउदै निकालिन् , रित्तोहात । माइतीघर बिहे अघिसम्म र घर पति रहेसम्म मात्र हुँदोरहेछ छोरी मान्छेको ।

रुँदै, कराउँदै माइतीघर गएर दुखेसो पोख्न मन लागेन । र अरु बोझ बन्न पनि थिएन मलाइ । यसैले कसैले नदेख्ने शहर राजधानी पसे अन्दाधुन्दा सानी छोरी च्यापेर । न कोहि चिनेजानेका थिए , न त छन् कोहि आफन्त नै , म बिलकुल नयाँ थिएँ यस शहरको लागि । बाँच्नु त थियो नै तर कसरी , के गरी ? जिन्दगी जब त्यो अन्तिम बिन्दुमा पुग्छ तब उ ईश्वर सम्झिँदो रछ । मैले पनि सम्झीए मनमा श्री पशुपतिनाथ आउनु भो र लागे उतैतिर सोध्दै र खोद्दै । त्यहाँ आश्रममा थुप्रै बुडाबुडी बस्दा रैछन मैले पनि अनुनयविनय गरे एक बृद्धा आमाले मन मुटुमा स्थान दिईन । म धन्या भएँ र प्रणाम गरे ती आमालाई र श्री पशुपतिनाथलाई । मैले आफ्नो सम्पूर्ण रामकहानी सुनाएँ ती आमालाई र यो बिचल्ली बाट कसरी संघर्ष गरौँ भनि बिन्ति गरें । ईश्वरले आफ्नो सन्तानलाई एक्लै नछोड्दा रहेछन यो विश्वास मलाइ त्यो दिन भयो । ती आमाले मलाइ पाँचसय रुपियाँ दिनु भो र भन्नु भो यसले बाटोमा मकै पोली बेच्नु सके तिर्नु नसके ठिकै छ । घाम लागिरहेको बेला झमझम झरी परे झैं भो आँशुले गह, फेरी शब्दहीन भएँ जीवनमा दोस्रो पटक । यस्ता दयालु मान्छे पनि रछन् यस बिरानो शहरमा ! हे ईश्वर यो तिम्रै चमत्कार हो, तिमीलाई कोटीकोटी नमन गर्दछु मनमनै भने । भोलिपल्टबाट नै मकै पोल्न बसें बाटोमा ।

संघर्षको नयाँ अध्यायमा रमाउन थालें, कमै पोलेर जेनतेन खान, लाउन पुग्न थाल्यो मैले ती आमाको पैसा पनि फिर्ता गरे । उहाँ दङ्ग पर्नुभयो, मेरो मेहनत र लगनसिलता देखेर । अमेरिका पढ्न पठाएको छोरोले उतै गोरिनी सँग प्रेम विवाह गरे नानि । एक पटक आएका थिए भेट गर्न त्यसपछि मेरो पति बित्दा छोरो मात्रै आएको थियो बाबुको क्रियक्रम गर्न अनि त भएको एउटा सानो घर पनि भूत घर जस्तै लाग्न थाल्यो र आएँ यतै ईश्वरको समिपमा । मेरो अन्तिम दाहसंस्कारको लागि भनि अलिकति खर्च छुट्टयाइसकेकी छु अब पिर छैन ईश्वरकै दलिनमा छु काल जहिले आएपनि म तयार छु । कति बलियो आमा तपाइको हृदय ! गर्नु पर्यो कोहि नभएपछी अनि चाहिं उनको आँखा धुमिल भै रसाए…स्वर कतै भासिए वातावरण स्तब्ध भो ।

म मेरो हिजोलाइ बिर्सेर बर्तमानमा बाँच्ने भरपुर प्रयास गर्दै थें । ती आमा भेटिएपछी मैले नयाँ दुनियाँ नै पाएकी थिएँ । समय आफ्नै गतिमा अघि बढिरह्यो । मेरो सानी छोरी उनै आमाले हेर्दिनु हुन्थ्यो र त म दिनभर ढुक्कले बाटोमा मकै पोली बेच्थें ।

केहि बर्षपछी ती आमा बित्नु भयो । म आफुलाई फेरी टुहुरी भएको महसुस गरें । त्यसपछि म एउटा सानो कोठा भाडामा लिएर बस्न थालें । छोरीलाई सरकारी स्कुल भर्ना गरें र मेरो कर्म उहीं थियो दिनभर बाटोमा मकै पोली बेच्नु ।

कहिले आँशु त कहिले पसिना बगेका यी सडकहरु मलाइ प्रिय लाग्छन, जहाँ मैले मकै पोली बेचें । मेरो जीवनको आधार फुलाउने यी सडक, बाटाहरुमा म धेरै बर्खाहरुमा भिजे र धेरै हिंउदमा कठ्याँग्रीएर बिताएकी छु यसैले म कहिल्यै बिर्सिन्न यी सडकहरु अनि ती हल्लाहरु । यिनै सडक हुँदै एक दिन मलाइ पुर्याइनेछ आर्यघाट अब त यहि छ अन्तिम इच्छा पनि ।

प्रिय ब्रिजेस, तिमी प्रतिको नजानिँदो प्रेम एक पटक यहीं अस्पतालको बेडमा फुल्यो र झर्यो । वास्तवमै थाहै नपाइ बसेको माया पो माया रछ ! जीवनलाइ कहिल्यै फर्केर नहेरेकी मैले तिमीसंग लुकिचोरी हाँसेका पलहरुलाइ अनेकौं पटक फर्केर छामे, महसुस गरें आफैं लपक्क भिज्ने गरि । नर्सले तिम्रो नाम ठेगाना पढीरहँदा मैले तिमीलाई हेर्न भ्याएँ, अलिकति टाउको मोडेर । उस्तै रहेछ तिम्रो अधर, शालीनता अनि मिठो मुस्कान । जीवनमा आइपरेका हर संघर्षसँग पौंठेजोरी खेल्दै आएकी म, पाँच महिना अघि अलि बिरामी परेपछी जचाउँन जाँदा थाहा भो मलाई ब्लड क्यान्सर भैसकेको रहेछ । तसर्थ, अब मैले यो दुनियालाई हेर्ने अल्टिमेट डाक्टरले दिईसकेको छ तीन हप्ता । यसैले यो पत्र ती नर्स जसले तिम्रो नाम, ठेगाना पढिन उनैलाई तिमीसम्म पुर्याउने जिम्मा दिएर आज म डिस्चार्ज भएर जाँदैछु । ईश्वरको लिला त हेर ! जिन्दगीको अन्तिम घडीमा पुनः भेटाइ दियो । धन्या भएँ म ।

तिमीलाई सिघ्र स्वास्थलाभको कामना गर्दै बिदा भएँ ।

उहीं अभागी प्रतिमा ‘

सुनिता राइ ‘ कन्दङ्गवा ‘
आठराई तेह्रथुम (हाल-इज़रायल)

प्रतिक्रिया