बेपत्ता भएका गाविस सचिव घरमा भेटिए

इनेप्लिज २०७३ भदौ ८ गते ५:४९ मा प्रकाशित

पाँचथर, ८ भदौ । जिल्लाको दक्षिणी गाविस हाङ्गुमका सचिव केशव निरौला बेपत्ता भएको भनेर सबै खोजीमा जुटिरहेका बेला उनी आफ्नै घरमा फेला परेका छन् ।

३२ दिनदेखि सम्पर्कविहीन बनेका निरौलाको खोजी गर्दैजाँदा घरमा मस्ती गरेर बसेको अवस्थामा फेला परेका हुन् । गाविस कार्यालयमा बिदा समेत नलेखेर एकाएक हराएका निरौलाका कारण स्थानीयले एक महिनादेखि सास्ती बेहोर्नु परेको थियो ।

खोज्दैजाँदा प्रहरीले गाविस सचिव निरौलालाई झापा जिल्लाको दुहागडी–१ स्थित घरमा फेला पारेको जनाएको छ । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले जिल्ला प्रहरी कार्यालय पाँचथरलाई सचिव निरौलाको खोजी गरिदिन आग्रह गर्नुभएको थियो ।

आइतबार प्रहरीले घरमै रहेको जानकारी स्थानीय विकास अधिकारी धमलालाई दिएको छ । सचिव निरौला घरमा रहेको थाहा पाएपछि स्थानीय विकास अधिकारी धमलाले सम्पर्कविहीन भएर किन घरमा बसेको भनेर स्पष्टिकरणसहितको पत्र पठाएको प्रशासन फाँटका प्रमुख दुर्गाप्रसाद तिम्सिनाले बताउनुभयो ।

सचिव निरौला साउन ६ गतेदेखि सम्पर्क विहीन भएका थिए । साउन १९ गतेदेखि निरौलाको जिम्मेवारी आरुबोटेका सचिव सञ्जय राईलाई दिइएको थियो । निरौला आफ्नो कार्यालयलाई जानकारी नै नदिई बेपत्ता भएको यो दोस्रो पटक हो ।

यसअघि निरौला सिदिनको गाविसको सचिव हुँदा करिब रु तीन लाख अनियमितता गरेर झन्डै तीन महिना सम्पर्क विहीन भएका थिए । निरौलाका विषयमा जिविस पाँचथरमा राम्रो रेकर्ड रहेको छैन ।

प्रतिक्रिया