छुवाछुत विरुद्ध जनचेतना जगाउँदै बालबालिका

इनेप्लिज २०७३ भदौ ९ गते ४:१० मा प्रकाशित

balbaalika

देशकै सबैभन्दा बढी निरक्षरता रहेको रौतहटको ग्रामीण क्षेत्रमा अझै पनि छुवाछुत प्रथा कायमै छ । छुवाछुतजस्तो अमानवीय प्रथालाई हटाउनको लागि रौतहटको एउटा गाउँमा बालबालिकाहरु सक्रिय देखिएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर ११ स्थित नयाँ बस्ती कटानीका केही बालबालिकाहरु छुवाछुतविरुद्ध जनचेतना अभियानमा सक्रिय देखिएका छन् ।

बालबालिकाहरुले जनएकता बालक्लब र जनचेतना बालक्लबको गठन गरी आफ्नो घर, टोल र गाउँमा छुवाछुत विरुद्ध सामूहिक अभियान संचालन गरिरहेका छन् । दुवै बालक्लबले संयुक्त रुपमा रैली प्रदर्शन पनि गरेका छन् । छुवाछुतविरुद्धको अभियानमा गाउँका बुद्धिजीवी, शिक्षक, समाजसेवी र प्रबुद्धवर्गले पनि सहयोग गरेका छन् । गाउँमा छुवाछुतको कारण अहिले पनि कहिलेकाहीँ झैझगडा हुने गरेको छ । छुवाछुत प्रथा कायम रहेकोले बालबालिकाको जनचेतनामूलक कार्यक्रमले हटाउन सकारात्मक योगदान दिने आशा रहेको स्थानीय समाजसेवी दीपेन्द्र तिवारीको भनाइ छ ।

बालबालिकाको कार्यलाई प्लान इन्टरनेशनल नेपाल तथा जनसेवा नेपाल रौतहटले आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको जनसेवा नेपालका कार्यक्रम संयोजक भाग्नारायण महतोले बताएका छन् । महतोले बालबालिकाको कार्यको प्रशंसासमेत गरेका छन् ।

प्रतिक्रिया