एमालेमा नवप्रवेशीलाई साङ्गठनिक जिम्मेवारी दिइने

इनेप्लिज २०७३ भदौ ९ गते १०:५९ मा प्रकाशित

काठमाडौँ, ९ भदौ । विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेकोहरुलाई पार्टीले उचित साङ्गठनिक जिम्मेवारी दिने निर्णय गरेको छ ।

नेकपा (एमाले) पार्टी कार्यालय धुम्बराहीमा नव प्रवेशी कार्यकर्तालाई जिम्मेवारी दिन बनेको ‘कार्यदल’ को बैठकले सो निर्णय गरेको हो ।

कार्यदलका संयोजक पार्टी महासचिव ईश्वर पोखरेलले पार्टीमा समाहित भएका र आगामी दिनमा पार्टीमा समाहित हुने राजनीतिक व्यक्तित्वहरुलाई उचित साङ्गठनिक जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बताउनुभयो ।

पार्टीको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले एक कार्यदल गठन गरी नवप्रवेशीलाई साङ्गठनिक जिम्मेवारी दिन गृहकार्य गर्ने जिम्मेवारी दिएको थियो ।

कार्यदलको बैठकले बलियो राष्ट्रिय राजनीतिक शक्तिका रुपमा नेकपा (एमाले)लाई स्थापित गर्न विभिन्न राजनीतिक दल, समूह तथा व्यक्तिहरुलाई नेकपा (एमाले)मा एकताबद्ध हुँदै राष्ट्र र जनताको चाहनाअनुरुप ऐतिहासिक भूमिका निर्वाह गर्न अपिल गरेको छ ।

साथै, बैठकले यस प्रयोजनका निम्ति विभिन्न राजनीतिक दल, समूह तथा व्यक्ति–व्यक्तित्वसँग संवादको प्रक्रियाअघि बढाउने निर्णयसमेत गरेको छ । स्थानीय कमिटीले जिम्मेवारी दिएपछि कार्यदलको पहिलो बैठक बसेको हो ।

कार्यदलमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई र राधाकृष्ण मैनाली सदस्य रहनुभएको छ ।

प्रतिक्रिया