अमेरिकामा एनआरएन मेरिल्याण्ड च्याप्टरको अनुकरणीय काम – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ असोज ३ गते १:४२ मा प्रकाशित

PRAKASH SHRESTHA

अमेरिकामा रहेका नेपाली समुदायको सकृयतामा विभिन्न सामाजिक संघसंस्थाहरु लामो समय देखि संचालनमा छन् । त्यसको साथै विदेशमा रहने नेपाली समुदायको छाता संगठन वा साझा संस्था भनेर चिनिने संस्था एनआरएनए को स्थापना भएर यसको विभिन्न देशमा फैलिएको शाखाहरुले गर्ने हरेक गतिविधीमा नेपालीहरुको निकै ठुलो चासो रहन्छ । त्यसो त नेपाल सरकारले समेत यो संस्थालाई विशेष महत्वका साथ हेर्ने गर्दछ र हालै बनेको नयाँ संविधानमा समेत यो संस्थाले उठाएको दोहोरो नागरिकताको विषयले प्राथमिकता पाएको हामी सबैलाई थाहाँ भएकै कुरा हो ।

विभिन्न देशमा रहेको एनआरएन एनसीसी मध्ये अमेरिकाको “एनसीसी अफ अमेरिका मेरिल्याण्ड च्याप्टर” ले स्थापनाकालको छोटै समयमा( मेरिल्याण्ड च्याप्टरको स्थापना २०१५ मा भएको थियो ) नेपाली समुदायले विशेष महत्व राख्ने र अमेरिकामा नेपालीहरुलाई समेत सम्मानजनकरुपमा हेरिने कामको थालनी भएको छ भन्ने एउटा आधार बनेको छ । त्यो भनेको मेरिल्याण्डमा रहेका नेपाली समुदायको अधिकारीक सरकारी तथ्यांकको खोजी एवं जानकारी र नेपाली भाषामा आउँदो अक्टुवर महिना देखि MVA (Motor Vehicle Administration) बाट नेपाली भाषामा ड्राईभिंग लाईसेन्स निकाल्दा लिखित परिक्षा दिन पाउने सुविधा ।

अहिले सम्म ड्राईभिंग लाईसेन्स निकाल्दा दिईनु पर्ने लिखित परिक्षा खासगरि अंग्रेजी भाषामा परिक्षा दिनु पर्ने व्यवस्था भएतापनि कतिपय राज्यहरुमा विभिन्न देशका आप्रवासीहरुको संख्याको आधारमा उनीहरुको मातृभाषालाई समेत उक्त लिखित परिक्षाको माध्यम बनाएको देखिन्छ जसमा क्यालिफोर्नियामा सबै भन्दा बढी ३२ वटा भाषामा परिक्षा दिन पाउने व्यवस्था रहेको छ भने अन्य राज्यमा कतै मात्र अंग्रेजी त कतै अन्य भाषामा समेत दिने व्यवस्था गरिएको छ ।

त्यस्तै मेरिल्याण्डमा पनि अन्य भाषाहरुमा दिने व्यवस्था भएपनि नेपाली भाषामा लिखित परिक्षामा सहभागी हुन पाउने आधार भने हालै मात्र संभव भएको हो र अमेरिकाभरिमा यो पहिलो राज्य पनि हो जसले MVA बाट नेपाली भाषालाई आधिकारिकता दिएर लिखित भाषाको रुपमा मान्यता दिएको । यसले गर्दा विस्तारै नेपालीहरुले पनि आफ्नो मातृभाषालाई समेत सहायक भाषाको रुपमा अमेरिकाको राज्यको एउटा सरकारी निकायमा मान्यता दिलाउन सफल भएका छन् । यसमा एनआरएन मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोखरेल नेतृत्वको टिमले निकै ठुलो पहलकदमी गरेर सफलता हात पारेको देखिन्छ ।

यसो त यस टिमलाई प्रत्यक्ष वा परोक्षरुपमा अन्य व्यक्ती र संस्थाहरुको समेत साथ र सहयोग रहेको कुरा यस च्याप्टरका उपाध्यक्ष विनोद उप्रेतीले समेत विभिन्न कार्यक्रममा बताउँदै आएको पाईन्छ । जे होस् यसमा नेतृत्वले राम्रो भुमिका निर्वाह गर्न सफल भएको देखिन्छ ।

यसै खुशियालीको वीच यही सेप्टेम्वर १८ तारिकका दिन एनआरएन मेरिल्याण्ड च्याप्टरको आयोजनामा बाल्टिमोरको ” नमस्ते बाल्टिमोर रेष्टुरेण्टमा” एक विशेष कार्यक्रम आयोजना समेत गरेर विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तीहरुको उपस्थिती विच मेरिल्याण्ड MVA का प्रमुख प्रशासकीय अधिकृतहरु जसले नेपाली भाषामा लिखित परिक्षा दिन पाउने व्यवस्थाको लागी विशेष योगदान दिए उनीहरुलाई विशेष सम्मान गरिएको थियो ।

यसमा विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुले आफ्नो मन्तव्य राख्दै नेपाली भाषामा चालक अनुमती लिने व्यवस्था अन्तर्गत लिखित परिक्षा दिन पाउने व्यवस्थाले नेपाल लगायत विभिन्न मुलुकबाट आएर अमेरिका बसोबास गरेका नेपाली भाषीहरुलाई विशेष सुविधा हुने कुरामा जोड दिदै नेपालीहरुले आफ्नो भाषाको संरक्षण गर्न समेत आगामी दिनहरुमा नेपाली समुदायको बालबालिकाहरुले पढ्ने स्कुलमा समेत नेपाली भाषालाई ” ईलेक्टिभ/एेच्छिक भाषा छनौट” अन्तर्गत राख्नको लागी पहल गर्नु पर्नेमा जोड दिएका थिए ।

यसै सन्दर्भमा विगत लामो समय देखि समाजसेवामा समर्पित प्रोफेसर डा. श्याम कार्कीले समेत यस स्तम्भकारसँगको व्यक्तीगत कुराकानीमा नेपाली भाषाको उत्थानमा आफु सधै समर्पित रहेको र अवका दिनमा अमेरिकन स्कुलहरुमा ईलेक्टिभ भाषाको रुपमा नेपाली भाषालाई राख्न लगाउने आधार तयार गर्न आफु लागिपरेको जानकारी दिनु भएको थियो साथै छिट्टै हिन्दु मन्दिर निर्माणमा पहल गर्न र त्यही मन्दिर अन्तर्गत समेत विभिन्न सामाजिक कार्य गर्न सकिने कार्यक्रम हलहरुका साथमा अन्य उपयोगी कार्यका लागी आधारभुत संरचना निर्माण गर्ने व्यवस्था मिलाउने काममा अग्रसरता दिने बारे मोटामोटी कुरा सुनाउनु भएको थियो ।

त्यसो त यस मेरिल्याण्ड च्याप्टरले आगामी दिनमा नेपालीहरुको तमाम समस्यालाई व्यवस्थित तवरबाट समाधान गर्न एउटा सामुदायिक भवन वा सामुदायिक सेन्टर स्थापना गर्ने अभियानलाई आगामी कार्यक्रमको रुपमा अगाडी सारेको कुरा समेत यस च्याप्टरका अध्यक्ष लगायत कार्यसमितीका पदाधिकारीहरुको अभिव्यक्ती रहेको थियो ।

कतिपय अमेरिकाका राज्यका एनआरएन च्याप्टर र विभिन्न एनआरएनए एनसीसी र आईसीसीमा समेत एनआरएन  बारे टिकाटिप्पणी भईरहेको बखतमा मेरिल्याण्ड च्याप्टर भने एक कदम अगाडी बढेर यस किसिमको नेपाली समुदायलाई तड्कारो फाईदा पुर्याउन सकेकोमा नेपाली समुदायमा एकपटक आशाको किरण पलाएको महशुष गरिएको छ । त्यसैले अमेरिकाका अन्य एनआरएन च्याप्टर एवं एनसीसी एनआरएन अमेरिका लगायत एनआरएन आईसीसीले समेत विदेशमा रहेका नेपालीहरुको हित हुने गरि विशेष कार्यक्रम अगाडी बढाउन आवस्यक देखिन्छ ।

अागामी दिनमा एनआरएनले नेपाली समुदायलाई शसक्त बनाउन, सुचना एवं प्रविधीमा पहुँच पुर्याउन, रोजगारी एवं व्यवसायिक क्षेत्रमा सामुहिक लगानीमा अग्रसरता लिनको लागी साथै रोजगारीका सन्दर्भमा देखिने विभिन्न सुरक्षा सम्बन्धी जोखिमलाई न्युनीकरण गर्नको लागी समेत आवस्यक कार्यक्रम एवं योजना तर्जुमा गरि अगाडी बढ्नु पर्ने आवस्यकता देखिन्छ । त्यस्तै नेपाली भाषा, कला, संस्कृतीलाई जीवन्त राख्न समेत संभव हुने देश र तिनका मुख्य शहरमा नेपालीहरुको जनघनत्व बढि भएको ठाउँमा कला-संस्कृतिक केन्द्र स्थापना गर्न समेत आवस्यक पहल गर्नुपर्ने देखिन्छ ।

अन्तमा भाषणमा भन्दा काममा एनआरएनए केन्द्रित रहने छ र नेपालीहरुको पहिचानलाई विश्वसामु राख्न सधै लागिरहने छ भन्दै आगामी दिनमा समेत नेपाली समुदायको हितमा र नेपाली समुदाय विच आपसमा भाईचारा कायम गर्न एनआरएन मेरिल्याण्ड च्याप्टर निरन्तर लागिरहने छ भन्ने अपेक्षा सहित हार्दिक शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया