शिक्षा समितिले चार वर्षसम्म पूर्णता पाएन

इनेप्लिज २०७३ मंसिर १६ गते ६:२८ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), १६ मङ्सिर । जिल्ला शिक्षा समिति म्याग्दीले करिब चारवर्षदेखि पूर्णता पाउन सकेको छैन । शिक्षक सङ्गठन बीचको विवादका कारण शिक्षा समितिले पूर्णता नसकेको हो ।

समितिले गर्ने निर्णयलाई समावेशी प्रतिनिधित्व र सहभागितामूलक बनाउन नसकिँदा समितिको कामकाज प्रभावित बनेको छ । विसं २०६९ फागुनमा पदावधि सकिएका सदस्यको ठाउँमा नयाँ सदस्यको मनोनीत हुन नसकेको हो ।

समितिमा महिला, व्यवस्थापन समिति, शिक्षाविद् लगायतका क्षेत्रबाट सहभागिता जनाउने व्यक्तिको मनोनीत गर्न विभिन्न शिक्षक सङ्घसङ्गठन र सरोकारवालाबीच सहमति जुट्न सकेको छैन । समितिमा हाल स्थानीय विकास अधिकारी अध्यक्ष, जिल्ला शिक्षा अधिकारी सदस्यसचिव र प्रमुख जिल्ला अधिकारी पदेन सदस्य मात्र रहेका छन् । शिक्षा समितिले पूर्णता पाउन नसक्दा दरबन्दी मिलान लगायतका दीर्घकालीन महत्वका काम प्रभावित भएका जिशिअ रामकुमार श्रेष्ठले बताउनुभयो ।

शिक्षा समितिलाई पूर्णता दिन पहिलो चरणमा शिक्षक महासङ्घ गठन गर्न जिल्लामा क्रियाशील शिक्षक सङ्गठनबीच छलफल अघि बढाइएको जिशिअ श्रेष्ठको भनाइ छ । शिक्षा कार्यालयले मङ्सिर महिनाभित्र महासङ्घ गठन गर्न शिक्षक सङ्गठनलाई अनुरोध गरेको छ ।

शिक्षक महासङ्घका अध्यक्ष पदेन सदस्य रहने समितिमा सामुदायिक विद्यालयको व्यवस्थापन समितिबाट शिक्षा समितिले मनोनीत गर्ने एक, संस्थागत विद्यालय व्यवस्थापन समिति मध्य जिशिअले मनोनीत गर्ने एक, अभिभावक र शिक्षाविद्बाट एक दलित र एकजना महिला मनोनीत गर्ने व्यवस्था रहेको छ ।

नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) तथा उनीहरु निकट शिक्षक सङ्गठनले आफू निकटका व्यक्तिलाई समितिमा मनोनीत गर्नुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो ।

प्रतिक्रिया