नान्सको चुनाव तत्काल नगराए त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी लिन पूर्व महासचिवद्वारा वर्तमान कार्यसमितिलाई चेतावनी (सचेतपत्रसहित)

इनेप्लिज २०७३ मंसिर १८ गते २:०२ मा प्रकाशित

246863_1710830582825_5208409_n

०२ डिसेम्बर, २०१६, क्यालिफोर्निया ।

अमेरिकामा रहेको नेपालीहरुको साझा सामाजिक संस्था नर्दन क्यालिफोर्निया समाज (नान्स)का पूर्व महासचिव रविन्द्र राईले तत्काल संस्थाको विधान अनुसार नान्सको चुनाव गराउन वर्तमान कार्यसमिति समक्ष माग गर्नुभएको छ । उहाँले पटकपटक कार्यसमितिका वर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिवलगायतलाई सम्बोधन गरी सचेत पत्रसमेत पठाई तत्काल विधिसम्मत ढंगले चुनाव आह्वान गर्न माग गर्नुभएको हो ।

अहिले नान्सका वर्तमान कार्यसमितिले कम्युनिटि सेन्टर निर्माणको काममा बाधा पर्ने नाममा नान्सको चुनाव सार्ने र आफ्नो कार्यकाल लम्बाउने कोशिष गरिरहेको भन्दै नान्सको चुनावले छुट्टै समिति भएको नेपाली कम्युनिटी सेन्टर (एनसीसी) लाई कुनै अप्ठेरो नपर्ने स्पष्ट पार्नुभएको छ । विगतमा उत्तम कार्की नेतृत्वको कार्यसमितिका बेला चुनाव गराउन माग गर्दै इमेल र बक्तव्यबाजी गर्ने  वर्तमान कार्यसमितिका अध्यक्ष तेज राई र बरिष्ठ उपाध्यक्ष ईश्वर सिटौला लगायतलाई सम्बोधन गरेर पूर्वमहासचिव राईले यसअघि २ पटक सम्म सचेत पत्र पठाईसक्नुभएको छ । सचेत पत्रमा उहाँले नान्सको नियम र विधानलाई खल्तीमा राखेर चुनाव पछि धकेल्ने प्रयास भएको भन्दै यसतर्फ आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

विधि र प्रक्रिया अनुसार समयभित्रै चुनाव गराउनुपर्नेमा नियमलाई वेवास्ता गर्दै विधानलाई लत्याएर चुनाव नगराउने खेलमा वर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा महासचिव लगायत लाग्नु दुर्भाग्यपूर्ण भएको सो पत्रमा उल्लेख छ । पत्रमा विगतको कार्यसमितिलाई कानुनको पाठ सिकाउने संस्थाका उच्च पदाधिकारीहरु आफैं अहिले  चुनावलाई पछि धकेल्ने खेलमा लाग्नु हास्यास्पद भएको उल्लेख छ । विगतमा नेतृत्व हत्ताउने क्रममा बे एरियाका जनतासमक्ष गरेका बाचा तथा प्रतिबद्दता तोड्नु ती जनतामाथिको प्रहार हो कि होइन भनी सचेत पत्रमा प्रश्न गरिएको छ । यस्तै चुनावका बेला विगतमा तत्कालीन निर्वाचन आयुक्तहरुसमक्ष आफूले संस्थाको विधानलाई अक्षरस पालना गर्ने बाचा गरेको तर्फ स्मरण गराउँदै चुनावमा विजयी भएपछि यसलाई धोती लगाउने काम गर्नु लज्जास्पद भएको भन्दै यसतर्फ कडा आपत्ति समेत उहाँले सो पत्रमार्फत् जनाउनुभएको छ ।

नान्स कार्यसमितिको अल्पमत तर जायज निर्णयलाई वेवास्ता गर्दै जर्वजस्ती रुपमा निर्वाचन सार्ने काम गरिँदा यसले संस्थाको भविष्य माथि नै प्रश्नचिन्ह खडा गरेको भन्दै पत्रमा गम्भीर ध्यानाकर्षण गराइएको छ । पत्रमा तत्काल चुनावको मिति तय गरी निर्वाचन गराउने अवस्था सिर्जना नगरिए यसबाट निम्तने जस्तोसुकै परिणामको भागीदार पनि संस्थाका वर्तमान अध्यक्ष, प्रथम उपाध्यक्ष, महासचिव लगायत नै हुनेतर्फ पनि बेलैमा सचेत गराइएको उल्लेख गर्नुभएको छ । हिजोको दिनमा तत्कालीन कार्यसमितिको निर्णय सार्वजनिक गर्न माग गर्ने व्यक्तिहरु स्वयं अहिलेको कार्यसमितिमा रहनु र आफ्नो पालामा भने नान्स जस्तो आम नर्दन क्यालिफोर्नियाबासी नेपालीहरुको प्रिय संस्थाको निर्णयलाई गुपचुप राखिनु आश्चर्यजनक भएको बताइएको छ ।

सचेत पत्रमा एक वर्ष अघि प्रकाशित साधारण सभा तथा निर्वाचनको कार्यतालिका के भयो भनेर गम्भीर प्रश्न पनि उठाईको छ । पदमा रहँदा संस्थाका विधान र नीति नियमलाई कुल्चन नमिल्ने तर्फ ध्यानाकषण गराउँदै तत्काल निर्वाचन गराएर आफ्नो कर्तव्य र जिम्मवारी पुरा गर्न र कानुनलाई अक्षरस पालना गर्न जोडदार माग गरिएको छ । अन्यथा यस्ता अलोकतान्त्रिक गतिविधिले संस्थालाई थप धराशायी बनाउनेतर्फ समेत बेलैमा सचेत गराइएको छ । यस्तै हिजोका दिनमा उत्तम कार्की नेतृत्वको कार्यसमितिलाई विधि र नियमको पाठ सिकाउने अहिलेको कार्यसमितिलाई भोलिका दिनमा नर्दन क्यालिफोर्नियाबासी नेपालीहरुले नै औला उठाएको खण्डमा त्यसको जवाफ दिन सक्ने अवस्थामा कार्यसमिति छ कि छैन भनेर प्रश्न गरिएको छ । चुनाव गराउनु पर्ने वर्तमान कार्यसमितिले १५ महिनाको समय त्यतिकै बर्वाद गरेको भन्दै सचेत पत्रमा एनसीसीको कामसँग जोडेर नान्सको निर्वाचन पछि धकेल्न खोज्नु कुनै अर्थमा राम्रो काम होइन भन्दै आपत्ति जनाइएको छ । पत्रमा तत्काल न्यान्सको चुनाव गराएर विधि र प्रक्रियालाई अक्षरस पालना गर्न समेत जोडदार रुपमा माग गरिएको छ ।

प्रतिक्रिया