सगरमाथको आधारशिविरबाट

इनेप्लिज २०७३ मंसिर २७ गते २३:२४ मा प्रकाशित

image1
अगुवाहरुले पिचाशको रुप बोकेर
समथर मैदानमा नाङ्गो नांच नाचेको देखेर
सगरमाथा रिसले चुर भएको छ
आगनमा खेलिरहेका नानीहरुको
निर्दोष अनुहार र आँशु देखेर
यो एक्काइसौ शताब्दिमा बाँच्न पाउनुपर्छ
पढ्न र लेख्न पाउनुपर्छ र हामी
स्वतन्त्र हुन पाउनुपर्छ भन्दै
विश्वसामु याचना गरिरहेको देखेर
न्यायका प्रतिमुर्तिहरु नतमस्तक छन् ।

सगरमाथाको आधारशिबिरबाट
न्यायको नायक मध्यान्नको रापिलो घाममा
हिउँ पगालेर
नरपिचासहरुलाई यमलोकको पिपको समुन्द्रमा
बगाउन
चिसा र हिउँजस्तै ठोस योजना बनाईरहेछ।

यहाँ सगरमाथालाई
भर्खर पराकम्पनले चिथोरेका सपनाहरुलाई
फर्काउनु छ ,
नानिहरुको आँखामा आँसु पुछेर
हातमा किताब बोकाएर
नेल्सन ,तसलिमा ,होची मिन्ह र पारिजात पढाउनु छ
आकाशमा पखेटा नकाटी उड्न र खुसीले
आमामा काखमा भोकै सुत्न सक्ने बनाउनु छ ।

सगरमाथालाई थाहा हुँदै छ , अग्रगमनको नाममा
जराबाट चिथोरिदै छ,
आफ्नै दाजुभाइको नाममा आफ्नै गोत्रहरु
आफ्नै मासु पकाएर खान खोज्दै छन
यौटै आमाको दुध पिएकाहरु पनि दुधको धारा बिर्सेर नदीको
साँधमा मातृसम्भोग गर्न खोज्दैछन् ।

साँध जोडिएका छिमेकीका झ्यालका प्वालहरुबाट
बनमा  मृगसंग खेलिरहेकी साबित्रिको कुमारित्त्व भंग गर्न
दिन दहाडै दृश्य हेर्दै योजना बनाउदै छन्।

त्यो बेला ,
हिमालयको शालीनता र ध्यान तोडिएर
गडगडाहट नदिजस्तो भएर
आमाका दूधका धाराका कसम खाएर
सगरमाथाको आधारशिविरबाट
यौटा संकल्प बोकेर
यौटा बिरता ,स्वाभिमान र स्वतन्त्रता ,सार्वभौमिकता
सत्यको धर्मयुद्धमा ओर्लिनेछ
त्यो बेला यी सबै पीडाहरुलाइ बगाएर लैजानेछ
र ,काला अनुहार र मनहरुलाई कोसौ टाढा पुगाऊनेछ
सगरमाथको आधारशिबिरबाट

Virginia, USA

प्रतिक्रिया