तरकारीवाली र नम्रता श्रेष्ठको फोटोले उपन्यासको चर्चा झन बढायोः सविन प्रियासन

इनेप्लिज २०७३ पुष ९ गते २१:२६ मा प्रकाशित

sabin-priysan

पत्रकार सविन प्रियासन उपन्यासकारका रुपमा पनि परिचित छन् । पत्रकारिता क्षेत्रमा केन्द्रीय स्तरमै राम्रो हैसियत बनाएका प्रियासनले चार वटा उपन्यास प्रकाशित गरि सकेका छन् । उनले एउटा कथा संग्रह र एउटा सम्पादकीयको संग्रह पनि प्रकाशित गरेका छन् । पछिल्लो समयमा विएन पुस्तक संसारले प्रियासनको पल्लवी उपन्यास बजारमा ल्याएको छ । प्रस्तुत छ उपन्यास प्रकाशित हुनासाथ निस्किएको केही दिनमै हजारौ प्रति बिक्रि भइसकेको पल्लवीका लेखक सविन प्रियासनसँग दैनिक नेपालले गरेको कुराकानीको सारसंक्षेपः –

पल्लवी उपन्यास कसको कथा हो ?

पल्लवी आशावादी मानिसहरुको कथा हो ।

पल्लवीले मुख्य के सन्देश दिन खोजेको छ ?

पल्लवीले मानिसलाई सकारात्मक चेतसहित अगाडि बढ्नुपर्छ । कहिल्यै निराशाको भुमरीमा पिल्सनु हुँदैन भन्ने सन्देश दिएको छ ।

पल्लवी उपन्यासको कथा वस्तुको कुरा गरिरहँदा यसमा फरक तरिकाको प्रेम प्रसँग पनि उठाइएको छ । यस्तो पनि हुन्छ ?

समाजमा धेरै अप्रत्यासित घटनाहरु छन्, जसलाई हामीले स्विकारि रहेका छौं । पल्लवी उपन्यासभित्रका मुख्य दुई पात्रबीचको प्रेम पनि त्यस्तै छ । केटाको भन्दा केटीको उमेरको फरक धेरैछ ।

तर यो भन्दैमा उपन्यासको कथाबस्तु कसरी अगाडि बढेको छ ?

यसले समाजका लागि सन्देश वजपूर्ण दिएको छ कि छैन भन्ने कुरालाई विश्लेषण गर्नुपर्छ । पल्लवी उपन्यासले सामाजिकरुपमा पनि पाठकलाई न्याय गरेको छ । पल्लवी उपन्यासको प्रेम कथा वास्तवमै सन्देशमुलक छ । हर कोहीले प्रेममा त्याग, अनि समर्पणको भाव राख्दैनन् । तर पल्लवीले समाजका लागि त्याग अनि समर्पणको भाव जगाउनेछ ।

पल्लवी उपन्यास कसरी तयार भयो ?

म धेरैजसो समाजमा घटेका घटनाहरुकै बारेमा लेख्ने गर्छु । पल्लवी उपन्यास पनि समाजमा घटि रहेका घटनाहरुमा अधारित छन् । केही काल्पनिक कुराहरु पनि छन् । व्यक्ति किटाएर यही मान्छेको कथा हो भनि नहालौं । जिन्दगीको यात्रालाई अगाडि बढाउने क्रममा केही भोगाई अनि केही कल्पनाशीलतालाई जोडेर पल्लवी उपन्यास तयार भएको हो ।

 तपाईको आफ्नै कथा त होइन ?

हा हा (हाँस्दै) होइन, होइन, मेरा साथीभाइहरुको हो । तर यसैको हो भनेर भनि नहालौ ।

पल्लवी उपन्यासको कभरपेजमा तरकारी वाली अर्थात कुसुम श्रेष्ठको तस्विर राख्नुको कारण !

उपन्यासका लागि कभर गर्ल आवश्यक थियो । उहाँसँग कुरा भयो, उहाँले स्विकृति दिएपछि उपन्यासको कभरमा उहाँलाई राखिएको हो । यस बाहेक पनि कथा वस्तु अनुसार लिटल मिस २०१६ मा पपुलर अवार्ड जित्न सफल ८ वर्षिया ऋृंखला बुढाथोकीको पनि तस्बिर राखिएको छ ।

– धेरैवर्ष पछि साहित्यमा फर्कनु भयो । तर फर्किएपछि वर्षमा दुईतीन वटा उपन्यास निकाल्न थाल्नु भयो नि ?

हो यहाँले भने झै मेरो साहित्यमा पुनरागमन भएको हो । पुनरागमन उपन्यास लिएर साहित्यमा फर्किएको छु । अहिले पल्लवी निक्लिएको छ । अरु पनि निकाल्नका लागि तयारी अवस्थामा छ ।

– नायिका नम्रता श्रेष्ठको बारेमा लेखिएको नोभेल नम्रता अहिलेसम्म बजारमा आएन नि ?

नोभेल नम्रता पनि तयार नै छ । नायीका नम्रता श्रेष्ठले मैले लेखेको बाहेक केही कुराहरु थप्छु, त्यसपछि निकालौला भन्नु भएको थियो । संयोग त्यसै भन्नुपर्छ, उहाँ र मेरो भेट हुन सकेको छैन । म दाङमा व्यस्त छु । उहाँ काठमाडौमा । त्यसैले नोभेल नम्रता निकाल्न पाएको छैन ।

– अब कुन उपन्यास निकाल्ने तयारी गरिरहनु भएको छ ?

अहिले नै निकालौ भन्ने हो भने सेल्फी उपन्यास तयार छ ।

– सेल्फी भन्नाले कस्तो विषय वस्तु छ यसमा ?

सेल्फी भन्नाले हामी सबैले फोटो खिच्ने कुरालाई सोँच्छौ । सेल्फी भनेको मानिसलाई आत्मनिर्भर बनाउने माध्यम हो । सेल्फी उपन्यासको मुख्य सन्देश मानिसले आफ्नो काम आफै गर्नुपर्छ भन्ने नै छ । यस बाहेक समर्पण, त्याग सहितको प्रेमका कुराहरु त उपन्यासमा हुन्छन् नै ।

– तपाई पत्रकारितामा पनि अत्यन्त क्रियाशिल हुनुहुन्छ ? कतिबेला साहित्य सिर्जना गर्न भ्याउनु हुन्छ ?

सबैभन्दा ठूलो कुरा समय व्यवस्थापन हो । पत्रकारिता मेरो पेशा हो । साहित्य मेरो रुची । त्यसैले दुबै कुरालाई साथसाथै अगाडि बढाएको छु ।

– पुस्तकहरु निस्कन्छन्, तर पाठक भेटिदैनन् । यसमा यहाँको भनाइ के छ ?

यसमा विभिन्न कारणहरु छन् । यस मध्य पाठकहरुको मनमा स्थान बनाउने किसिमका पुस्तकहरु ननिस्किएकै कारणले पाठकहरु नभेटिएका होलान । तर पनि केही पुस्तकहरु पाठकहरुको अत्यधिक रोजाईमा परेका छन् ।

– पल्लवी उपन्यास विमोचन भएकै दिन ५ सय प्रति बिक्री भयो । पल्लवी उपन्यास राम्रो भएर हो कि तपाईको व्यक्तित्वका कारण हो ?

उपन्यास राम्रो नराम्रो छुट्याउने काम पाठक हो । जहाँसम्म पहिलो दिन नै ५ सय प्रति बिक्री भयो भन्ने कुरा छ । दाङमा लागेको सातौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सबको समापनका दिन हजारौंको उपस्थितिमा उपन्यासको विमोचन भएको थियो । जसले गर्दा त्यति बिक्री हुनु स्वाभाविक छ ।

– अन्तमा केही भन्नु छ कि ?

समय गतिशिल छ । जीवनको महत्वलाई बुझेर गतिशिल समयभित्र समाज अनि देशको समृद्धिका लागि आ–आफ्नो क्षेत्रमा भूमिका खेलौ । सबैलाई यही भन्न चाहन्छु ।

प्रतिक्रिया