मंगलबार, फागुन १० २०७३ | Tue, February 21, 2017
नेपालको समय: ०६:३४ | Washington DC: 19:49
Enepalese

टोपी टोपी -नेपालमा टोपी!!

w

ध्रुब क्षेत्री , दोहा कतार :टोपी-टोपी -(हेर्नुश, त्यति सारो लेख्ने बौद्धिक क्षमता त छैन, ती मित्रहरुलाइ यतिमात्र जानेको कुरा भन्न चाहे तिमिले बयान गरेको टोपी (नेपाली सेना लगाएत) सुरक्षा निकायले पनि सुरक्षित राखिदिएको छ , दिनको ३ पटक सम्म अनिवार्य ढाका टोपी लगाउछ्न,अन्तिम पटक सुत्नुभन्दा पहिला एक पटक लगाउछ्न , शका लागे छिमेकी इष्ट मित्र सग पनि बुझ्नु बाकी प्रीय मित्रहरु यो लेख बाट बुझ्नु)

बुवाको बाकसमा एक दर्जन बढ़ी टोपी छन् । बुवा केकन धनी भएर होइन । बुवा केकन राष्ट्रवादी भएर पनि होइन । बुवाले टोपी लगाउने बानी भएर हो । मेरो दराजमा एउटा पनि टोपी छैन । म गरिब भएर होइन,अराष्ट्रिय भएर पनि होइन । मेरो नलगाउने बानी भएर हो ।

बुवाका दर्जन बढ़ी टोपी मध्ये धेरै जसो उपहार आएका टोपी हुन । फुपुले तिहारमा,बुवाका दश सन्तान मध्ये कसैले कुशे औंशीमा ,अनि आफन्तले लामो समय पछिको भेटमा उपहार दिएका हुन । बुवालाई टोपी उपहार दिँदा सबै भन्दा गर्व लाग्छ किनकि बुवाले टोपीको अनि टोपीले बुवाको खुब इज्जत गरे झैँ लाग्छ । म जान्ने भए देखि नै देखेको,मेरो बुवाको शिरमा टोपी टुटेको छैन । बुवा भयंकर राष्ट्रवादी भएर होइन, बुवाले सानै देखि लगाएर हो ।

बुवाले पढ़नु भएको छैन । त्यसैले बुवालाई स्कुलमा सर हरुले टोपी लगाउन सिकाएका पनि होईनन होला । बुवाको जमानामा फेसबुक पनि थिएन,त्यसैले साथीलाई देखाउन लगाउनु भएको पनि हैन होला । तर अचम्म छ,बुवा टोपी लगाइरहनु हुन्छ । बुवा घाँस काट्दा पनि टोपी लगाउनु हुन्छ,रोपाइं गर्दा पनि लगाउनु हुन्छ,पराल स्याहार्दा पनि लगाउनु हुन्छ । टोपी कैलै छोड़नु हुन्न । टोपीले पसिना पुछेको धेरै चोटि देखेको छु मैले बुवालाई,टोपीको भित्री सेतो घेरो मयलले कालो हुँदा पनि टोपीलाई माया गरेको धेरै चोटि देखेको छु मैले ,यहाँ सम्म कि बीट फाटेर रेशा निस्किंदा सम्म पनि टोपी लगाएको देखेको छु बुवालाई मैले । कैलै सोधेको छैन, ‘बुवा टोपी किन लगाउनु हुन्छ’ भनेर । सोध्नु जरुरी पनि छैन । अनपढ़ मेरो बुवालाई टोपी लगाउनुका वैज्ञानिक फाइदा पनि थाहा नहोलान सायद । तर बुवा अनवरत टोपी लगाउनु हुन्छ । सायद टोपी बुवाको पहिचान हो, टोपी बुवाको स्वभिमान हो, त्यसैले ।

मेरो पालामा नागरिकताको लागि फोटो खिच्दा टोपी अनिवार्य लगाउनु पर्ने चलन थियो । अचेल त्यो बाध्यकारी चलन हटेको छ ।त्यो समय दुई मिनेट टोपी लगाउँदा भएको असजिलो अहिले बयान गरी साध्य छैन । टोपी लगाउँदा मन खुसी नभएर होला नागरिकताको फोटो पनि राम्रो आउँदैन्थ्यो । त्यसैले त फेसबुके भनाई प्रचलनमा आए होला,’केटो त्यति नराम्रो पनि हुन्न जति नागरिकतामा देखिन्छ,अनि केटी त्यति राम्री पनि हुन्ने जति फेसबुकमा देखिन्छे’ । यो भनाई एक किसिमले टोपी प्रतिको कटाक्ष नै हो भनेर बुझेको छु मैले । नागरिकताको लागि अनकनाउँदै स्विकारिने टोपी लाई फेसबुक र ट्विटरमा चाहिँ खुसी खुसी स्विकारिन्छ । उही टोपी ठाउँ अनुसार फरक । टोपी प्यारो भएर होला कि फेसबुक/ट्विटर प्यारो भएर ? पहिचान प्यारो भएर होला कि देखासिकी प्यारो भएर ? स्वभिमान प्यारो भएर होला कि आडम्बर प्यारो भएर ? जुकरबर्गहरुले फेसबुक नबनाइदिएको भए टोपीको अस्तित्व के हुन्थ्यो ? के टोपीको संरक्षण फेसबुक र ट्विटरले गरेका हुन ?

होईनन । हाम्रा बा हरूले गरेका हुन । तर बा हरुले न ‘ई लगाइम’ भनेर देखाउँछन,न संस्कृति जोगाइम भनेर कराउँछन । चुपचाप लगाउँछन । त्यसैले त बा हरुका शिरमा टोपी खुब सुहाउँछन पनि । सुहाउने भएर त अझै पनि हाम्रा फुपु हरुले भाइटिकामा बा को लागि टोपी नै उपहार ल्याउँछन । के हाम्रा बहिनी हरूले भाइटिकामा टोपी उपहार ल्याउँछन ? ल्याउन छोड़े । बहिनी हरुले बुझेका छन्, दाइ हरुको पुस्ता शिक्षित-आड़म्बरी छ,बौद्धिक-ढोँगी छ । त्यसैले आफ्ना माइतिको आड़म्बर छताछुल्ल हुन नदिन बहिनी हरुले टोपी उपहार ल्याउँदैनन अचेल । बहिनीहरू लाई राम्ररी थाहा छ,दाइ हरुले संस्कृति र परम्परा लाई आधुनिकता सँग यसरी मुछेका छन् कि उनीहरू मौका मिल्ना साथ टोपी धारण गरी सञ्जालमा उपस्थित भइदिन्छन र राष्ट्रियता प्रदर्शन गर्छन् अनि अर्को मौका मिल्ना साथ टोपीको स्वभिमानलाई दलालीको बजारमा सट्टाभर्ना गर्छन्,टोपी टेबलमा राखेर रेड लेभलमा राष्ट्रियताको सौदावाजी गर्छन् । बहिनी हरुले बुझेका छन्,शिक्षित ढोँगी दाइ हरू सँग अशिक्षित बा हरुका भन्दा तगड़ा तर्क छन्,जो ‘इस् के टोपी उसके सर’ गराउन माहिर छन् । त्यसैले पनि बहिनी हरू अचेल टोपीको सट्टा परफ़्यूम उपहार लिएर भाइटिका लगाउन आउँछन । ‘परफ़्यूम-पुस्ता’ले टोपीको मान राख्न सक्दैन भन्ने बहिनी हरुले बुझेका छन् ।
देशमा टोपी लगाउने ठुलो हिस्सा गाउँमा बस्छ,गरिबीमा बस्छ,अभावमा बस्छ । यहाँ नेर धोंती,बक्खु र कछाड लाई पनि जोड़ौं । त्प्वाल परेको मैलो टोपीले पसिना पुच्छ । पसिनाले भिजेको टोपीले दूर दराजमा अझै पनि देश जोगाउँदै छ । तर सुकिलो टोपी लगाउने शहरी जमात देश बेच्दैछ,पहिचान बेच्दै छ,स्वभिमान बेच्दै छ । अनि उही जमात जोड़ जोड़ले चिच्याउँदै छ,स्वभिमान र राष्ट्रियताको ठेकेदार म हुँ भनेर । ती टोपीहरु जो फाटेका छन्,फाटेको ठाउँ बाट कपाल असरल्लै बाहिर देखिन्छन, चुपचाप कर्ममा लीन छन्,३६५ दिन पसिनाले भिजेका छन्,तिनमा माटोको सुगन्ध छ,स्वभिमानको शालीन परिभाषा छ,प्रत्येक दिन तिनलाई टोपी दिवस छ । अनि ती टोपी हरू जो नयाँ छन्, सुकिला छन्,महँगा र बुट्टेदार छन् ती दिवस खोज़िरहन्छन,अनि हुंकार गरिरहन्छन र भनिरहन्छन,’शिर जोगिए सवथोक जोगिन्छ,लाज जोगिनु जरुरी छैन’ । खोजी खोजी टोपी लगाउने हरुले शिर मुनि सर्वांग नांगै भएको पत्तो सम्म पाउँदैनन । वा पाएर पनि लाज पचाउँछन ।

टोपी, सके सबले सधैँ लगाए हुन्छ । नसके एक दिन लगाए पनि केही बिग्रन्न । तर किन लगाउने भन्ने प्रश्न अहम हो । मलाई सम्झना छ करिब चार वर्ष अघि देखि कुनै सनकीले ई. वि. सम्बतको विरोध स्वरूप भावनालाई तोड़मरोड़ गरेर सामाजिक सञ्जालमा चलाएको अभियान बाहेक केही होइन जनवरी १ को कथित टोपी दिवस । विशेष दिन पारेर आफ्नो पहिचान र परिचय लाई विश्वमाँझ चिनाउने सदीक्षालाई नराम्रो मान्नु पनि हुँदैन । तर जनवरी १ मा नै किन ? भाइटिकाको दिनमा किन नाईं ? के हाम्रो चलनमा पहिलै स्थापित टोपी दिवस थिएन ? के भाइटिकाको दिन हाम्रा फुपुहरुले बा हरुलाई टोपी लगाइदिंदा हाम्रो संस्कृतिको प्रवर्धन भएको थिएन ? के हाम्रो संस्कृतिकै लाहछाप लागेको त्यो दिनलाई टोपी दिवस भनेर सामाजिक सञ्जाल मार्फ़त भाइरल बनाए हुन्थेन ? नितान्त ई. वि. सम्बतको विरोध गर्न निश्चित मिसनरी हरू द्वारा सुरु गरिएको सङ्कीर्ण अभियान र त्यसमा हावाको भरमा हामी सामेल भएको परिदृश्य प्रति पंक्तिकारको टिप्पणी हो । अनि प्रश्न पनि,विश्वले स्विकारेको इ. वि. सम्बतको विरोध गरेर कुन बौद्धिक बहादुरी देखाइरहेका छौँ हामी ?

टोपी नलगाउने समुदायको ठुलो हिस्सा छ देशमा । देश ठुला परिवर्तन हरुलाई आत्मसाथ गर्दै अग्रगमनको यात्रामा छ,यद्यपि केही अफ़ठ्यारा बाँकी नै छन् । तीव्र आर्थिक प्रगति गरिरहेको विश्व सँग हातेमालो गरेर अगाडी बढ़नू छ । विदेशी संस्कृति मान्दिन भन्न पाइन्छ,तर विरोध किन गर्नु पर्‍यो । पहिरन विदेशी,खान्की विदेशी,ऐस आरामका साधन विदेशी अनि तिथिमिति र पर्व अवसर हरुको विरोध गरेर हामी तालेवान हुन खोजेको कि किम जोंग उन ? हामी आफूलाई पछाड़ी धकेलिरहेका छौँ । अनावश्यक कुरामा दिन प्रतिदिन अतिवादी बनिरहेका छौँ । विवेकको प्रयोगमा भन्दा देखावटी चलन निभाउन उद्दत छौँ । आफ्नो जीवन अनुसार सामाजिक सञ्जालको प्रयोग गर्नु पर्नेमा सामाजिक सञ्जाल अनुसार आफ्नो जीवन निर्धारण गरिरहेका छौँ ।
अँस्ती एउटा उपयोगी सामग्री पढियो । लेखिएको थियो,सामाजिक सञ्जालको बढ़दो प्रयोगले नेपाली समाज झन् पछि झन् जटिल बनिरहेको छ । हामी आफ्नो लागि भन्दा पनि सञ्जालको लागि बाँचे जस्तो गरिरहेका छौँ । यो देखावटी चलनको गहिरो मारमा हाम्रो जस्तो विकाशशील समाज अझ बढ़ी पर्ने गर्छ । किनकि हामी यथार्थ खोज्न भन्दा हल्लामा बहस गर्न समय खर्चिन्छौं । र त्यस्तै भयो हिंजोको कथित टोपी दिवस पनि । सामाजिक सञ्जालमा टोपी लगाएको फोटो राख्ने धेरैलाई थाहा छैन यो दिवस कसले,कहिले देखि कुन नियतले प्रचारमा ल्यायो । धेरैलाई त यो सरकारी दिवस नै हो भन्ने पनि लागेछ । टोपी हामी हिन्दु आस्थावादी नेपालीहरूको पहिचान हो भन्ने कुरामा दुई मत रहेन । आफ्नो पहिचानलाई विश्व व्यापी बनाउँछु भन्ने सदीक्षा जति स्वच्छ छ,जनवरी १ पारेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त नयाँ वर्षको विरोधको रूपमा हल्ला गराइएको यो कथित टोपी दिवस त्यति हल्का र वाहियात पनि छ ।

हाम्रो मौलिक टोपी दिवस त भाइटिकाको दिनमा पर्छ ।टोपी लगाउने बा को पुस्तालाई सलाम , टोपी देखाउने हाम्रो पुस्तालाई म के भनम ??!

२०७३ पुष १९ गते ७:३५ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी