शनिबार, चैत १२ २०७३ | Sat, March 25, 2017
नेपालको समय: १५:२७ | Washington DC: 05:42

नेपाली टोपी दिवस् र बहस

डा. गोबिन्दसिंह रावत

15826913_10211937662947118_5793419888683487551_n

टोपी नेपालीहरुको प्रतीक हो । हाम्रो ढाका र भाद्गाँउले टोपीले नेपाली हुनुको पहिचान गराउँछ । नेपाली टोपीले नेपालको नागरिक भनेरमात्र चिन्हाउँदैन । यो त नेपालीपनको एउटा प्रतीक हो । भारतीय नेपालीहरुले नेपाली टोपीलाई आफ्नो गौरव मानेर पहरीरहेका छन् । नेपाल छोडेर विदेशिनु बाध्य भएका नेपालीहरुले अरु मुलुकको नागरिक भएर पनि नेपाली टोपीलाई छोडेका छैनन् र छोड्न पनि सक्दैनन् । भारतको पहिलेका आसाम र अहिलेका पूर्वाञ्चल राज्यमा नेपालीहरुको आगमनको लामो इतिहास रहेको छ । त्यहाँका नेपालीहरुले नेपालीे टोपी कहिल्यै छोडेनन् । हाम्रो भाद्गाँउले टोपीलाई आफ्नो पहिचान बनाएर दादा साहेब फलकेबाट पुरस्कृत महान संगितकार भुपेन अजारिकाले जीवनभरी नेपाली टोपी पहरी रहे । भारतका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालीत्वको पहिचानका रुपमा नेपाली टोपी पहरी रहेका छन् । पूर्वाञ्चल भारतमा नेपालीहरुलाई विदेशी भनेर मार्ने काट्ने र घरमा आगो लगाईदिने जस्ता कार्य चरमोत्कर्षमा पुग्दा पनि हामी भारतमा जन्मेको नेपाली हौं र टोपी हाम्रो प्रतीक हो भनेर धेरैनै यस्ता नेपालीहरु छन् जसले टोपी कहिल्यै छोडेनन् । नेपालका नेताहरुको गुरु भारतका प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको थालनी उनलाई नेपाली टोपी पहिराएर गराइएको ताजा उदाहरण छ । सिक्किममा सांसद र विधायकले नेपालीपनको आभास दिन नेपाली टोपीलाई कहिल्यै छोडेनन् ।

विदेशीहरुले नेपाल र नेपाली चिन्ने प्रतीक बनेको टोपीलाई माओवादीले शूरुदेखि नै बहिष्कार गरेको देखिन्छ । पहिलो संविधानसभाबाट सरकारमा आउनासाथ नेपालको पहिलो माओवादी प्रधानमन्त्री प्रचण्डले टोपी वहिरकार गरे । उनले टाईलाई नेपालको प्रतीक बनाउन चाहे र बनाइ रहेका छन् । प्रचण्डले नेपाली टोपी कहिल्यै लगाएनन् तर भारतको साङ्गीतिक रियालिटी शो ईण्डियन आईडलमा विजयी भएका भारतीय मूलका नेपाली प्रसान्त तामङ्गको आमाले छोरोको विजयलाई मञ्चमा आएर नेपाली टोपी लगाइदिएर मनाएकी थिईन् । अहिले चल्दै गएको नृत्यको रियालिटी शो झलक दिखला जाको फाईनलमा पुगेकी टेरिया मगरले नेपाली चेली भएको प्रमाण जजहरुलाई नेपाली टोपी लगाईदिएर दिएकी थिईन । टोपीको इतिहास खोज्न परे भर्खर माधवप्रसाद पोखरेलको कान्तीपुरमा प्रकाशित नेपाली टोपीको इतिहास पढे हुन्छ ।

प्रसङ्ग नेपाली टोपी दिवसको हो र सबैले टोपी पहिरिएको फोटो आआफ्नो तरिकाबाट फेसबुकमा राखेका थिए । ईच्छाले होस वा अनिच्छाले जनवरी १ का दिन फेसबुकनै नेपाली टोपीमय भएको थियो । यो टोपी दिवस किन र कसरी भयो भन्दा पनि यो स्वतःफूर्त भएको अभियान हो । आजको संचार युगमा नकारात्मक कुराले त प्रचार पाउछ भने आफ्नो राष्ट्रियताको प्रतीक नेपाली टोपी लगाएर फोटो खिचेर राख्दा र यसले प्रचार पाउँदा नकारात्मक के नै हुन जान्छ र । अरुले वा नबुझेकाहरुले यसको विरोध गर्नुमा कुनै माने राख्दैन तर प्रधानमन्त्री जस्तो राष्ट्रको गरिमामय पदमा नेपाली टापी लगाएर बसेको र माओवादी जस्तो जनताको दल भनेर परिचय गराएको दलको दोस्रो प्रमुख भएर बसेपछि आफ्नो शक्ती देखाउन नयाँ दल खोलेर प्रमुख भएका डाक्टर जस्तो व्यक्तीले टोपी दिवस् मनाएकोमा विरोध गरेको सुहाउँदैन । बरु नबोल्नु यदि बोल्नेनै छ भने आफ्नो गरिमाको पनि ख्याल राख्नु जरुरी हुन्छ । जनयुद्धको रापमा परेर शान्तीभूमि नेपाल क्रान्तीभूमि बन्यो । विकाशोन्मुख रहेको राष्ट्र अविकसित मुलुकमा गनिन पुग्यो । देशको युवा शक्ती पलायन हुँदै देशनै युवारहित बन्दैछ । जाति धर्म र संस्कृति मानिने परम्परालाई राजनीतिक हतियार बनाएर जनताका बीच कलह रोपियो ।

टोपी दिवस् कसरी कोबाट र कहिलेदेखि भयो भन्नेबारे खोज तलास गर्नु पर्छ जस्तो लाग्दैन । यसलाई मनाउदै जानुमा भनेको नेपालको परिचयलाई विस्तार गर्नु पनि हो । नेपालको टोपी र झण्डा विश्वमा नै यसको बनाई र बुनाईले गर्दा चर्चामा रहदै आएको छ । अरु मुलुकको भन्दा अलि बेग्लै प्रकारको भएको हुनाले यसको चर्चा भईनै रहन्छ । नेपालबाट विदेशिने क्रम दिनानुदिन बढ्दै गईरहेको तथ्याङ्कले देखाउँछ । यसको कारण सबैलाई थाहा भएको छ । आफ्नो राष्ट्र छोडे पनि नेपालीहरुले आफ्नो राष्ट्रियता र राष्ट्रिय पहिचान कहिल्यै छोडेका छैनन् । आप्रवासिनुको पीडा एकातिर छ भने आप्रवासमा बसेर राष्ट्रियताको जगेर्ना गर्न सकिन्छ कि भन्ने चाहना अर्कोतिर छ । आप्रवासमा बस्ने सबैमा राष्ट्रियता छ र सबैको मुटुमा नेपाल दुख्ने गर्छ । यही राष्ट्रियताको पीडा विसाउनका लागि आप्रवासमा बसोबास गर्ने प्रत्येक नेपालीले नेपाली संस्थाद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय पोसाक लगाउन रुचाउछन् । द्यौरा सुरुवाल नभए राष्ट्रिय टोपी भए पनि लगाएर उपस्थित हुने गर्छन् । यो सब मनभित्रबाट स्वतःफूर्त भएको राष्ट्रियता हो । यस्तै नेपाली संस्थाहरुबाट आयोजित कार्यक्रमहरुमा टोपीसहित र टोपीरहीत नेपालीहरुको उपस्थिति हुने गग्र्यो । थोरै टोपी र धेरै टाईमा उपस्थिति हुने गरिन्थ्यो । टोपी नेपाली राष्ट्रियताको प्रतीक हो भने टाई पनि क्रिश्चियन धर्मको प्रतीक हो । यशु क्राईष्टलाई झुण्डाएझै टाईलाई त्यसैको प्रतीक मानेर लगाउने चलन रहेको इतिहासले देखाउछ । हाम्रो प्रधानमन्त्रीले पनि टोपीको सट्टा टाईमा नै ठाट्टिने गर्छन । देवप्रकाश त्रिपाठीले भर्खर एउटा लेखमा २०६४ सालपछि नेपालमा चर्चहरुको संख्या हजारौंमा बढेकोबाट पनि यदि हामीले टोपीको मान राखेनौं भने भोलीका दिनहरुमा नेपालीहरुले पनि ब्लेक टाई डे मनाउन थाल्छनर । (ब्लेक टाई डे भनेर केही बेलायतीहरुले अहिले पनि मनाउने गरेको पाइन्छ) विदेशमा एक दिन भए पनि सबैले नेपाली टोपी अनिवार्य लगाएर आउदा कस्तो होला भनेर नोभेम्बर २०१० लेखककै पहलमा टोरोन्टोमा पहिलोपटक नेपाली टोपी ईभेन्ट भनेर कार्यक्रमको आयोजना ग¥यौं । त्यसपछि यसले निरन्तरता पाउदै गयो । नेपाली साहित्य समाज, क्यानाडाको पहलमा क्यानाडाका पूर्व राजदूत डा. भोजराज घिमिरेको स्वागत र विदाई, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुईटेल र देवी गौतमको सम्मान, क्यानाडाका वर्तमान राजदूत कालीप्रसाद पोखरेलको स्वागत सम्मान यस्ता धेरैनै कार्यक्रममा टोपी ईभेन्ट गरेका थियौं ।

पहिलो कार्यक्रमको सफलतापछि हामीले दोस्रो तेस्रो गर्दै आठौं टोपी ईभेन्टको आयोजना गरिसक्यौं । यो कार्यक्रम निरन्तरनै चल्ने छ र चल्दैछ । युगनै संचारको भएकोले हाम्रो टोपी ईभेन्टले चर्चा पायो । प्रसंसा गर्नेहरुमा ताईपे, ताइवानका साहित्यकार डा. लेखनाथ काफ्ले पनि हुनु हुन्थ्यो । उनले यसलाई व्यापकता दिनु पर्छ भनेर मेरो फेसबुकको वालमा लेखेपछि मैले यो टोपी ईभेन्ट उता पनि गरौं र अरु देशमा पनि गर्ने वातावरण बनाऊ भनेर लेखेको थिए । डा. लेखनाथले ताईवानमा पनि टोपी ईभेन्ट गरेको जस्तो लाग्छ । त्यसपछि कोरिया, वर्मा, अमेरिका अरु कताकता भएको पनि सुनियो । आप्रवासमा रहेका नेपालीहरुले कुनै कार्यक्रमलाई टोपी ईभेन्ट गरेर मनायौं भने यो परम्परा बस्दै जान्छ र बलियो हुँदै जान्छ भन्ने हाम्रो चाहना थियो । यो चाहनालाई ताईवानबाट लेखनाथजी र नेपालबाट शंकर बञ्जाडेजीले अझ व्यापक बनाउने कार्यमा अन्तराष्ट्रिय अभियान बनाउने कार्यमा लाग्नु भयो । खटिनु भयो । प्रचारप्रसार गरेर अन्तराष्ट्रिय नेपाली टोपी दिवस अभियाननै शुरु गराउनु भयो । त्यसको लागि वर्षको पहिलो दिनलाई राम्रो र उपयुक्त दिन मानेर जनवरी १, २०१४ मा पहिलो अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनायौं । केहीले थाहा पाएर रमाए। केहीले उडाए । केहीले सहभागिता जनाए । राम्रो काम भएकोले यसका सहभागिता बढ्दै गयो । यस अभियानमा नेपालबाट जागरुक युवा अभियान स्वतः सामेल भएर हाम्रो शान हाम्रो पहिचान नेपाली टोपी अभियानको नाराका साथ यसलाई व्यापकताका साथ विश्वभरी फैलाउने काम गर्न थाले ।

अन्तराष्ट्रिय नेपाली टोपी दिवस आफै हाम्रो जीवनको पात्रोमा गाभिन पुग्यो । जनवरी १ कसैको लागि नयाँवर्षमात्र भए पनि हाम्रो लागि भने टोपी दिवस् पनि बन्न गएको छ । यो मबाट तबाट वा कोबाट शुरु भयो भनेर खोज्नु भन्दा यसको विरोध गर्नेहरुको विरोध गर्नु जरुरी देख्दछु । जसरी संचारकर्मी तथा चलचित्रकर्मी दिनेश डिसीले खुला रुपमा बाबुरामजी आज विश्व भर रहेका धेरै नेपालीले टोपी दिवस मनाऊँदा तपाईलाई टाउको किन दुख्योरु भनेर विरोध गर्नु भएको छ । त्यसरीनै हाम्रो नेपाली हुनुको चिनो बनेको टोपीसँगको विरोध गर्नेहरुको विरोध गर्नै पर्छ । यो अभियान नेपालीत्वको लागि हो । त्यसैले यसको विरोध नगरौं । सकिन्छ भने साथ दिऊ । नभए हात दिऊ ।

२०७३ पुष २० गते ७:११ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी