मान्छेको मुख्य धर्म प्रेम हो । प्रेमलाई पानीको फोका बनाउनेहरु मलाई मन पर्दैन -दामोदर पुडासैनी ‘किशोर’ ,वरिष्ठ साहित्यकार

इनेप्लिज २०७३ पुष २८ गते ०:०० मा प्रकाशित

 

म विगत तीन वर्षदेखि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’को सामिप्यतामा रहेको छु । उहाँकै पुस्तक आँखाको खोजीमामा केन्द्रित रहेर त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयको शोध पुरा गर्न पनि म सफल भएँ । शोधको क्रममा उहाँसँग धेरैपटक भेटें, धेरै अन्तरङ्ग कुराकानी गरें र कति कार्यक्रहरूमा सँगै हिँडे पनि । यस हिसावले पुडासैनीको आनिवानी, व्यवहार र रुचीको बारेमा धेरै कुरा बुझ्ने अवसर मैले पाएँ ।नेपाली साहित्यका होनहार व्यक्तित्वसँग यसरी नजिक बन्न पाउनु मेरो लागि एउटा ठूलो खुशीको विषय पनि हो । मैले बुझेसम्म दामोदर पुडासैनी ‘किशोर’ समाजका प्रत्येक मान्छेका लागि सहयोगी बनेर उभिनु हुन्छ । चिनेको होस् वा नचिनेको, जो सुकैको लागि उहाँका आत्मीय हातहरू अघि बढिहाल्छन् । जस्तोसुकै अप्ठेरो र असहज परिस्थितिको पनि सामना गर्ने तागत निकाल्नु हुन्छ उहाँ ।

सामान्यतः उहाँ कसैसँग रिसाउनु भएको चाल पाइन मैले । तर, उहाँलाई हेप्न खोज्ने, मानमर्दन गर्न खोज्ने र उहाँको सरलतामाथि आक्रमण गर्न खोज्नेको लागि भने आगो बनेर भर्भराउनु हुन्छ उहाँ । उम्रेदेखि खुम्रेसम्मका सबैसँग आँखामा राखेपनि नबिझाउने स्वभावका हुनुहुन्छ उहाँ । उहाँको वक्तृत्वकला यति मीठो छ कि उहाँले बोलिरहेको सुन्दा ज्ञान र बोलीको मिठासको कारण जो कोही लोलाउँछन्, लट्ठ पर्दछन् ।

सधै मानवीय स्वतन्त्रता र सम्वृद्धिको लागि केही न केही गरिरहनुपर्छ भन्नेमा खटिरहने र सधैं नवीन सिर्जनाहरू लेखेर मानवीय मूल्य उकास्न उचाईका सिंढीहरू चढिरहने उनै वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ सँग पुसे घामको पारमा बसेर म अञ्जु मगरले लिएको अन्तरर्वार्ता आम पाठकको लागि महत्वपूर्ण हुन्छ भन्ने ठानेको छु । बाह्रवटा पुस्तक कृति प्रकाशित गरिसक्नु भएका दामोदरको ‘पर्खाल भित्रको राजधानी’ नामको नियात्रासङ्ग्रह यतिखेर आम पाठकले खोजी खोजी पढ्न थालेका  छन् । उहाँसँग लिएको अन्तरर्वार्ताको सार यहाँ प्रस्तुत छ— साहित्यकार अञ्जु मगर ।

प्रश्न १ : तपाईंकै आफन्तहरू र मित्रहरू पनि यतिखेर तपाईंको निन्दा गर्न तम्सेको देखिन्छ । चढ्दै गरेको तपाईंको यात्रालाई यसले अप्ठेरोमा पार्दैन ?

उत्तर : निन्दा कायरहरूको आत्मसन्तुष्ठि हो । कायरहरू आपूm उज्यालो खोज्न छोडेर अरुका काखीमुनीका रौं गन्न तम्सन्छन् । उनीहरूले मेरो निन्दा गर्न छाडेर आलोचना गरिदिएका भए मेरो मनमा खुशीको रङ्ग बढ्दथ्यो । अर्काको उन्नतिको आह्रिस गर्नेहरू एकोहोरो निन्दामा उभिन्छन् । तपाईंले भन्नु भएझैँ मेरा एकथरी आफन्तहरू, कार्यालयका केही स्वार्थी र अवसरवादहरू र साहित्यिक क्षेत्रका कलम भन्दा मुख चलाउनेहरू मेरा गन्ध र डकारको गणना गर्न लामबद्ध बनेर उभिएको देख्छु म । त्यस्ता निन्दकहरूको अनुहार देख्दा र व्यवहार भोग्दा तिनीहरूमाथि दया पनि लाग्छ मलाई । हिँड्दा हिँड्दै अरिङ्गाल र बछ्युँले टोक्यो भने केही समय त रन्थन्याउँछ नै  तर, कालान्तरमा बाटोमा हिँड्दा त्यस्ता घातकहरूसँग जुध्ने क्षमता एककदम अगाडि नै तयार पारेर हिँड्ने सजगता पनि  बढ्दछ ।

 प्रश्न २ :     तपाईंकै कार्यालयका सहकर्मीहरू त झन् यतिखेर तपाईंमाथि निन्दाको भुङ्ग्रो खन्याउन र तपाईं हिँड्ने बाटोमा पर्खाल ठड्याउन उद्दत छन् भन्ने सुनिन्छ नि ?

उत्तर : यतिखेर नेपालका कार्यालयहरू स्वार्थका सुरुङ बनेका छन् । स्वार्थीहरूको बगालले भरिएका छन् कार्यालयहरू । त्यस्ता बगालभित्र स्वार्थी  स्वार्थी बीचमा अपवित्र गठबन्धन बनाउने क्रम जारी छ । स्वार्थी, लोभी र घमण्डीहरूले स्वाभिमानी र कामकाजीहरूलाई फुटेको आँखाले पनि हेर्न चाहँदैनन् । मलाई ढाल्न, भास्न र मास्न खोज्नेहरूले पनि छद्मभेषमा मेरो अङ्कगणितका अङ्कहरू काट्न मरिमेटेका मैले बुझेको छु । त्यसो गर्ने मेरा सहकर्मीहरू कन्दमूल खाएँ भनेर मुसा हग्ने खालका हुन् । तिनीहरू मेरो अघिल्तिर आत्मीयताका हातहरू अघि सार्दछन्, मलाई ‘ख्वामित्’ भन्न पनि पछि पर्दैनन् र पछिल्तिर फर्कने बित्तिकै धारिलो हतियार उज्याउँन थाल्दछन् । अर्का एकथरि कुरौटे सहकर्मीहरू पनि छन् मेरा, जो उनीहरूले गरेका कर्तुतहरू जति मेरा थाप्लामा पोख्न आत्तुर छन् । तिनीहरू मेरा बारेमा भए नभएका काला गथाँसाहरू बुनेर उच्च आशनमा ढलिमलि गर्नेहरूको वरिपरि धूप धुपावर गर्दे आफूअसल गणेश भएको अभिनय गर्दछन् । विकासोन्मुख देशमा प्रशासन भनेकै पदेन विद्वानहरूको छद्म नाटक हो भन्ने यतिखेर अझ पुष्टि भएको छ ।

प्रश्न ३ :     एकथरि तपाईंकै समकालीन साहित्यकारहरू पुडासैनीको लेखनमा के शक्ति छ र त्यस्तो ?” भन्दै पनि हिँडिरहेको भेटिन्छ नि ।

उत्तर ः संसारमा मान्छेको सृष्टिसँगै उसले इष्र्या, दम्भ, लोभ, खुशी र पीडा बोक्न सक्ने क्षमता पनि लिएर उभियो । आफूले नराम्रो काम गर्दा गर्दै पनि अरुलाई राम्रो काम गरेको छु भन्ने भ्रम बाँड्न तम्सिरहन्छ मान्छे । मान्छे सकेसम्म अरुको क्षमतालाई स्वीकार्नु भन्दा आफ्नो स्वार्थ माथि रहेको पुष्टि गर्न खोज्दछ । प्रतिस्पर्धा गर्नुभन्दा छिर्के हानेर लडाउनुमा आनन्द लिने जमात त अझ ठूलो छ समाजमा । तपाईंले साहित्यिक जमातको कुरा कोट्याउनु भएको छ । यो जमातमा त पाखण्डी, लोभी, धूर्त, कामचोर र कुरौटेहरूको अझ विगबिगी छ । आफ्ना मूल्यहीन सिर्जनाहरूलाई सुन सावित गराउन खोज्ने र अर्काको रसिलो फसललाई ठेट्ना भन्न तम्सनेहरूको पनि साहित्यिक जगत्मा कम छैन । मेरा सिर्जनाहरूमा शक्ति छ छैन भनेर आँकलन गर्न खोज्नेहरूलाई म निन्दक होइन शुभचिन्तक मान्दछु । मेरा सिर्जनाहरूमा रहेका उचाई र गहिराईहरूको बारेमा सकेसम्म धेरैले खोतल्दिए भने म अझै सच्चिने मौका पाउँदछु । तपाईंले भन्नु भएझैँ मेरा सिर्जनात्मक सवालहरूमा स्वच्छ आलोचना नगरि निन्दा गर्ने केही मान्छेहरू पनि मैले चाल पाएको छु ।

एक साहित्यकारलाई अर्को साहित्यकारले सत्तोसराप गर्ने चलन वर्तमानको होइन आदिमको हो र नेपालको मात्र नभई विश्वव्यापी पनि हो । कतिपय लेखकहरूले समय समयमा आफ्ना समकालीन वा वरिष्ठहरूलाई होच्याएर आपूmलाई महान बनाउन हतियार प्रयोग गरिरहेका भेटिएका उदाहरण धेरै भेटिएका छन् । प्रसिद्ध लेखिका जेन अस्टिनलाई अहिले पनि व्युटी एण्ड ब्रेनको फ्यूजन मानिन्छ । तर उनका समकालिन मार्क ट्वेन भने उनको उछित्तो काड्न तम्सिरहन्थे । मार्क ट्वेन भन्ने गर्थे कि ‘जेन अस्टिनका पुस्तक पढ्दा मेरो पारो तात्दछ । जेन अस्टिनको ‘प्राइड एण्ड प्रिजडिस’ पढ्दा त उनलाई जमिनबाट खोतलेर उनकै नलीहाडले उनको खप्परमा हान्न मन लाग्छ ।’ प्रसिद्ध कवि लर्ड बाइरनको कडा निन्दा गर्ने उनकै समकालीन साहित्यकार विलियम हेजलिट थिए । उनी बाइरनप्रति कटाक्ष गर्दै भन्थे कि— ‘बाइरन यस्ता एक्ला कवि हुन् जसले आफ्नो प्रतिभासित वेश्यावृत्ति गरिरहेछन् ।’ स्वयंलाई बाइरन भने अर्का रोमान्टिक कवि जोन किट्सलाई ‘जोन किट्स ओछ्यानमा पिसाब फेर्ने खालका कविता लेख्छन् भन्दथे । बित्से एक महान दार्शनिक र स्रष्टा थिए । उनले मान्छे सधैं खतरामा बाँच्नुपर्छ (लिभ डेन्जरली) भन्ने सन्देश दिएर मान्छेको जीवनमा सङ्घर्षको महत्व त दर्शाए । तर, उनैले इटालीका महान कवि दाँतेलाई समाधिस्थलमा कविता लेख्ने एउटा बेवकुफ हुँडार भनिदिए । संसारमा यस्ता धेरै उदाहरणहरू छन् । मलाई पनि कसैले निन्दा ग¥यो भने त्यसले मलाई अझ फ¥याक बाटो खन्न उत्साह लाग्छ । निन्दकहरू कुनै कालखण्डमा निगुरोझैँ मुख लुकाएर अँध्यारोमा बिलिन बन्छन् भन्ने मेरो विश्वास छ ।

प्रश्न ४ :     लेखकले किन परिवर्तनका पक्षमा लेख्छ ?

उत्तर : सत्ता र शक्ति सदैव यथास्थिति बचाउँन चाहन्छ । समाज सधैँ अग्रगतिमा अघि बढ्न चाहन्छ ।  लेखक समाज वा मान्छेको मनस्थितिलाई नजिकबाट नियाल्छ । त्यस्तो सामाजिक मनोभाव बुझेर लेखकले प्रतिकारको हतियार आफ्ना सिर्जनालाई बनाउँछ । लेखक सधैँ उज्यालोको खोजीमा हिँड्छ र परिवर्तनको पक्षमा लेख्छ ।

 प्रश्न ५ :     तपाईं एउटा प्रसिद्ध साहित्यकार हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू यो समाजमा दिनानुदिन बढ्दो छ । आफूलाई प्रेम गर्नेहरूप्रति तपाईंको जिम्मेवारी कस्तो हुन्छ ?

उत्तर : प्रेमलाई पानीको फोका बनाउनेहरू मलाई मन पर्दैन । आस्थाहरू उच्च आशनमा बस्न पाउनुपर्दछ भन्ने पक्षमा म छु । प्रेम ‘आग्रह’ र ‘आकर्षण’ दुबै हो । प्रेम खहरेको भेल होइन । निरन्तर बगेर कडा चट्टान काट्दै अघि बढ्ने सामथ्र्यको नदी जस्तो हुनुपर्दछ प्रेम भन्ने मलाई लाग्दछ । संसार र समाजको उन्नतिको प्रमुख सूत्र प्रेम नै हो । प्रेम समर्पण मात्र होइन सिर्जना पनि हो । प्रेमिल पात्रहरू बढ्नु भनेको गति र सिर्जना अझ बढाउनु पर्ने सङ्केत पनि हो । मप्रति प्रेमभावमा उभिने हरेकको अनुहारमा आफ्नो निर्दोष अनुहार गतिशिल रूपमा अनुवाद गर्न चाहन्छु म । मान्छे बाँच्ने भनेको प्रेममै हो । मान्छेको मुख्य धर्म पनि प्रेम नै हो । म मेरा प्रत्येक प्रेमिल पात्रहरूलाई स्वतन्त्र, सर्वोच्च र सिर्जनशील मान्छे बनाउने जमर्को गर्दछु ।

प्रश्न ६ :     जिन्दगीको महत्व जति बुझेपनि सकिदो रहेनछ हगि ?

उत्तर : जिन्दगी वास्तवमा बहुरङ्गी इन्द्रेणी नै हो । यो सोचाई र कल्पना मात्र होइन भोगाई पनि हो । सोचेजस्तो र खोजेजस्तो हुँदैन पनि जिन्दगी । तर, जिन्दगीमा अपरिमित सुन्दर प्राप्तिहरू भेटिन्छन् । त्यसैले जिन्दगी मनोहारी उत्सब हो । जिन्दगीमा दुःख छ, पीडा छ, सुख छ, सफलता छ र असफलता छ । सबै कुरा भोग्न सकियो भने मात्र अलि नजिकबाट बुझ्न सकिदोरहेछ जिन्दगीलाई । जिन्दगीका असङ्ख्य संभावनाहरू छन् तर सबै संभावनाहरू हात पर्दा निरिहता प्रकट भइरहन्छ घरिघरि । असफलताले असन्तोष त दिन्छ जिन्दगीमा तर ज्ञान पनि दिन्छ असफलताले । अतृप्ति र असन्तुष्ठि दुवै भएर पो आनन्द बन्छ जिन्दगी । जिन्दगीको सबैभन्दा ठूलो सङ्घर्ष भनेको जिन्दगी बाचयरहन हर्दम प्रयत्नशील बनिरहनु हो । क्रियाशील नभए जिन्दगीको कुनै महत्व हुँदैन । यो संसारमा जिन्दगी सधै टिक्दैन, समय मात्रै सधै टिक्ने हो । त्यसैले जिन्दगीको छोटो अवधिमै धेरैभन्दा धेरै संसार र मान्छे सुधार्ने सिर्जन ागर्न सकियो भने त्यस्तो कृतिको कारण लामो समय अरुको मनमा बाँच्न सक्छ मान्छे । जिन्दगी गिलो माटो जस्तै हो राम्रो आकार दिन सक्नुपर्छ, खाली कागज जस्तै हो त्यसलाई अर्थपूर्ण र सार्थक बनाउने स्वयंले हो । जिन्दगीको सिमा सिमित छैन, यसको महत्वपनि अथाह र असीमित छ ।

प्रश्न ७ :     कृतिभित्र लेखकको उपस्थिति कत्तिको हुन्छ ? अथवा भनौ लेखक कृतिमा निरपेक्ष बनेर कृति सिर्जना गर्न सक्तछ कि सक्तैन ? येभतुसेंभले भनेको एक कविको आत्मकहानी उसको कविता होभन्नेमा सहमत हुनुहुन्छ ?

उत्तर : लेखकले आफ्ना व्यक्तिगत अनुभव, भोगाई, संबेग, कुण्ठा वा प्रेममा कल्पना मिलाएर कृति सिर्जना गर्दछ । लेखकले आपूmले भोगेको जीवन नजिक रहेर कृति सिर्जना गर्दछ । लेखकले कल्पनामा वा परको यथार्थ संसारको चित्रण गरेर कृति लेखे पनि उसको अनुभव र अनुभूति कतै न कतैबाट प्रवेश गरिरहेको हुन्छ । यस अर्थमा येभतुसेंभले भनेझै एक कविको आत्म कहानी उसको कविता हो भन्ने भनाई अस्वीकार गर्नुपर्ने कुनै कारण देख्दिन म ।

प्रश्न ८ :     केही वर्ष यता तपाईंले हरेक वर्ष कुनै न कुनै नयाँ पुस्तकहरू प्रकाशमा ल्याईरहनु भएको  छ । तपाईं हरेक दिन लेखिरहनुहुन्छ ?

उत्तर ः हो, हरेक दिन केही न केही लेखिन भने मलाई छटपटी लाग्छ । हरेक क्षणमा पढ्नु, नयाँ कुरा बुझ्नु, नयाँ कल्पना गर्नु, खोज गर्नु, लेख्नु र नयाँ कृतितिर उन्मुख हुनुपर्दछ भन्नेमा म सचेत छु ।

प्रश्न ९ :     लेखन कतातिर उन्मुख हुनुपर्छ जस्तो लाग्दछ तपाईलाई ?

उत्तर : संसारका बहुसङ्ख्यक मान्छेका सुकिला सोचहरूलाई समेटेर उनीहरूको जाँगर र विचारको दायरा अझ फराकिलो पार्ने पक्षमा लेखन उन्मुख बन्नु पर्दछ जस्तो लाग्दछ । मानव समाज, मानव संस्कृति र मानवीय कलाभित्र रहेका राम्रा र नराम्रा पक्षहरूलाई खोतलेर यथार्थ झल्काउने कृतिहरू रच्नुपर्दछ जस्तो पनि लाग्दछ । मान्छेले बिर्सन थालेका मानवीय मूल्य मान्यताहरूलाई उधिनेर नवीन मूल्य मान्यताका माध्यमबाट मानवीय महत्व अझ झल्काउने सिर्जना लेख्नु पर्दछ जस्तो पनि लाग्दछ । मान्छेलाई स्वतन्त्र र सम्वृद्ध बनाउन मद्दत दिने खालका रचनाहरू र असफलताहरूसँग जुधेर सफलताका नवीन पाटाहरू निर्माण गर्न सक्ने सिर्जनाहरू लेख्नु पर्दछ जस्तो मलाई लाग्दछ ।

प्रश्न १० :    एउटा मान्छेलाई पुराना घटना परिघटनाहरूको स्मृतिले कस्तो प्रभाव पारेको हुन्छ ? तपाईं आफ्ना पुराना कर्महरूलाई कत्तिको सम्झने कोशिस गर्नुहुन्छ ?

उत्तर : सम्झना, भोगाई र कल्पनाले मान्छे गतिशिलतातिर लाग्दछ । यो जिन्दगीको उच्च धरातल पनि हो । पुराना घटनाको सम्झनाले मान्छेलाई परिपक्व बनाउँछ । यसले जिन्दगी बढी यथार्थपरक बनाउन मद्धत पनि गर्दछ । म बेलाबेलामा स्मृत्याभास (नोष्टाल्जिया) मा रमाउँछु । यसले जीवनलाई अझ अघि बढाउन बढी शक्ति मिल्दछ ।

प्रतिक्रिया