शीतलनिवासमा पूर्वराजाको २० मिनेटः राष्ट्रपतिसँग एक शब्द पनि बोलेनन्, पूर्वपञ्चसँग जमघट

इनेप्लिज २०७३ माघ ३ गते १३:२९ मा प्रकाशित

काठमाडौं, ३ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगे । राष्ट्रपति बिद्यादेवी भण्डारीको निम्तोमा शीतल निवास पुगेका ज्ञानेन्द्रले राष्ट्रपतिपुत्री निशाकुशुमलाई आर्शिवाद दिए ।

राष्ट्रपतिपुत्री निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषको आज शीतल निवासमै विहे भएको छ । यसैको अवसर पारेर ज्ञानेन्द्र राजगद्धी छाडेको झण्डै १० वर्षपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा पाइला टेकेका हुन् ।

शीतल निवासमा २० मिनेटः राष्ट्रपतिसँग सम्वाद भएन्, पूर्व पञ्चसँग जमघट

विवाह समारोहमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले बर बधुलाई पुष्पगुच्छा दिँदै आशिर्वाद दिए । र, निम्तो पठाउने राष्ट्रपति भण्डारीसँग नमस्ते भन्नुबाहेक अरु केही कुराकानी गरेनन् ।

त्यसपछि उनी पूर्वपञ्चहरु बसेको टेबलमा आएर बसे । जहाँ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपति समशेर राणा, पूर्वसेनापति प्यारजंग थापा र सांसद गणेश थापासँग राउण्ड टेबलमा बसेर चिया पिउँदै भलाकुसारी गरे । पूर्वराजाले पूर्वपञ्चहरुसँग व्यक्तिगत सञ्चो विसञ्चो सोधे र शीतल निवासबाट बाहिरिए ।

शीतल निवासमा झण्डै २० मिनेट विताएका ज्ञानेन्द्रले आफ्नो औपचारिकता मात्रै निभाए । उनले अन्य नेताहरु तथा समारोहमा सहभागी कुटनीतिज्ञ कसैलाई भेटेनन् ।

पूर्वराजा राष्ट्रपति भवन जानुलाई सकारात्मक रुपमा लिइएपनि गणतन्त्र स्थापनापछि पहिलोपटक शीतल निवास पुगेपनि गणतन्त्रका हिमायती राष्ट्रपतिसँग पूर्वराजाले कुरा नगर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया