एरेञ्जमा नयाँ प्रयोग ल्याउन सुदीपले गाए गीत

इनेप्लिज २०७३ माघ १० गते १२:२२ मा प्रकाशित

काठमाडौं । एरेञ्जर सुदीप सागरले आफ्नै स्वरमा गीत गाएका छन् । उनको गीतको रचना भने लोकराज अधिकारीले गरिदिएका हुन् ।

व्यस्त एरेञ्जर सुदीपले किन गीत गाउनु पर्‍यो भन्ने प्रश्नमा उनले भने, ‘मैले धेरै गीत एरेञ्ज गरेको छु । म आफै गाएर समाधान खोज्न सक्छु कि भनेर प्रयोग गर्न थालेको मात्रै हुँ ।’ उनी आफै प्रोफेश्नल गायक होइनन् । उनलाई गाउनका लागि अफर पनि आउने गरेको उनले सुनाए । भने, ‘गाउन अफर आउँछ तर म गाउँदिन । एरेञ्ज मात्रै गर्छु ।’

काठमाडौंको मालश्री स्टुडियोमा सुदीपले गीत रेकर्ड गराइ सकेको जानकारी दिए । ‘बिना श्रृङ्गार चिटिक्कै छौ मार्‍यौ नि…’ बोलको यो गीतबाट प्रयोगका रुपमा केही कुरा बाहिर ल्याउने बताए । ‘मैले आफै गीत गाउँदा एरेञ्जमा सहयोग मिल्न सक्छ । अरु नयाँ गीतमा एरेञ्ज गर्दा मलाई त्यसको प्रत्यक्ष अनुभव हुनेछ । अझै राम्रो काम गर्न सक्नेछु’, उनले भने ।

सुदीपकी पत्नी विन्दु परियार राम्री गायिका हुन् । विन्दुले नाम चलेका संगीतकार, रचनाकारहरूसँग काम गरिसकेकी छिन् । तपाईकी पत्नी नै यति राम्रो स्वरकी धनी तपाईलाई किन गाउनु पर्‍यो त भन्ने प्रश्नमा सुदीपले भने, ‘विन्दुको आफ्नो स्थान छ । मैले एरेञ्जमा अझै केही नयाँ गरु भनेर गाएको मात्रै हो । मेरो स्वर त्यति राम्रो पनि छैन । म गायकभन्दा एरेञ्जर मै ठीक छु ।’

सुदीले भने, ‘केटाको स्वरमा मैले गाएको छु । केटीको स्वरमा विन्दुलाई नै गाउन लगाएको छु ।’

 

 

प्रतिक्रिया