अडियो बुकमा “हवन”

इनेप्लिज २०७३ माघ २१ गते ०:२१ मा प्रकाशित

दृष्टिविहिनहरुलाई लक्षित गरी कथासंग्रह “हवन” को अडियो बुक बजारमा आएको छ । बुलबुल पब्लिकेशन प्रा. लि. ले नीलम कार्की निहारिकाको वि.सं. २०६२ मा प्रकाशित कथासंग्रह “हवन” को अडियो बुकसहित दोस्रो प्रिन्ट संस्करण बजारमा ल्याएको हो ।
अच्युत घिमिरे ‘बुलबुल’ को वाचन रहेको “हवन” अडियो बुक दृष्टिविहिन साहित्यप्रेमीहरु, पुस्तक पढ्ने फुर्सद नभएकाहरु, लेखपढ गर्न नसक्नेहरु, कथा सुन्न रुचाउनेहरु र गाडीमा एक्लै वा समूहगत रुपमा कथा सुन्ने बानी भएकाहरु लागि उपयोगी रहेकोले अधिकाँश श्रोताका लागि यो प्रभावकारी रहनेछ । “हवन” को अडियो बुक दृष्टिविहिन श्रोताका लागि बुलबुल पब्लिकेशनले निःशुल्क वितरणको व्यवस्था पनि गरिरहेको छ । यसका लागि दृष्टिविहिन श्रोताले आफ्नो परिचय पत्रको प्रतिलिपि दिएर अडियो बुक लिन सक्नुहुन्छ ।
हालै प्रकाशित “हवन” मा १४ कथाहरु संग्रहित छन् जसमा घर, परिवार, समाज साथै महिला र बालबालिकाको हकहितका कुराहरु मिठो शैलीमा प्रस्तुत गरिएको छ । सरल भाषा र हरेक पक्षलाई मनोवैज्ञानिक तरिकाले समातिनुले पनि “हवन” भित्रका संपूर्ण कथाहरु हाम्रै समाजका प्रतिनिधि बनेका छन् ।
अमेरिकामा सन् १९३१ मा दृष्टिविहिनलाई लक्षित गरी बुक फर ब्लाइन्ड अर्थात् टकिंग बुक को रुपमा अडियो बुकको शुरुवात भएको थियो । सन् १९७४ मा अडियो बुक नामकरण भएता पनि सन् १९९४ मा अडियो पब्लिसर असोशियसन स्थापना भए पश्चात् व्यवस्थित र मापदण्ड अनुरुप अडियो बुक प्रकाशित हुँदै आएको छ । यही शैलीलाई पच्छ्याउँदै बुलबुल पब्लिकेशनले पनि नेपालमा सुन्ने किताबको प्रकाशन गर्ने क्रम शुरु गरेको छ । नेपाली साहित्यका कृतिहरु दृष्टिविहिन पाठकसम्म पुर्याउने उद्देश्यले अन्य केही साहित्यिक कृतिहरुलाई पनि चाँडै अडियो बुकका रुपमा प्रकाशन गर्ने लक्ष्य राखिएको छ ।
“हवन” कथासंग्रह देशका मुख्य शहरहरुसंगै राजधानीका अधिकाँश पुस्तक पसलहरुबाट पाउन सकिन्छ । “हवन” कथासंग्रह प्रिन्ट पुस्तकको मूल्य रु. २४० रहेको छ भने अडियो बुकको मूल्य रु. २०० रहेको छ । दुवै एकसाथ किन्ने पाठकको लागि एकमुष्ठ मूल्य रु. ४२० रहेको छ ।

प्रतिक्रिया