‘फिल्मको आइटम गीतमा नाच्ने रहर छ’

इनेप्लिज २०७३ माघ २१ गते १२:१४ मा प्रकाशित

 

काठमाडौं । ‘आइटम गीतमा नाच्न रह लाग्छ’ यो भनाइ हो टीका जैशीको । म्युजिक भिडियोहरूमा नृत्य गर्दै आएकी अहिलेकी चल्तिकी मोडलमा पर्छिन् टीका । तर, उनले सोँचे जस्तो गीतमा अहिलेसम्म नृत्य गर्न पाएकी छैनन् ।

‘संख्याको आधारमा भन्ने हो भने करीव ४० वटा म्युजिक भिडियो खेलिसकेकी छु’, टीकाले भनिन्, ‘तर, भने जस्तो गीतमा खेल्न भने पाएकी छैन ।’ ‘तैपनि अहिलेसम्मका म्युजिक भिडियोमा राम्रो गर्ने प्रयास गरेकै छु’, उनले भनिन् ।

अब फिल्म नखेल्ने भन्ने प्रश्नमा टीकाले भनिन्, ‘खेल्न त खेल्ने हो । मेरो चिनजान कसैसँग छैन । शुरूमा मलाई राम्रो रोल दिन पनि नसक्छन् । जस्तो पायो त्यस्तो रोलमा खेलेर मात्रै त हुँदैन नि ।’

कस्तो रोलमा खेल्न मन छ भन्ने जिज्ञासामा टीकाले भनिन्, ‘मलाई नेपाली फिल्ममा आइटम डान्समा खेल्न असाध्यै मन लागेको छ । खेल्ने कुरा पनि भएका छन् । तर, अहिलेसम्म आइटम डान्स नाच्न पाएकी छैन ।’ डान्समा किन यति धेरै जोड दिएको भन्दा उनले भनिन्, ‘मेरो कला भनेकै नृत्य हो ।’

टीकाले पछिल्लो पटक गायिका देवी घर्ती र गायक पुष्कल शर्मा तथा गायिका विष्णु माझीको गीतमा मोडलिङ गरेकी छिन् । दुबै म्युजिक भिडियो राम्रो बनेको उनको भनाइ छ । भिडियोको सम्पादन मिलन बिकले गरिरहेका छन् ।

‘दुःखीले पनि गुन लगाउन सक्छ…’ बोलको गीतमा पुस्कल शर्मा र देवी घर्तीले स्वर दिएका छन् । यो म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायँकन मुकेश हुमागाइँको छ ।

विष्ण माझीको स्वर रहेको ‘दुनियाँले तारिफ गर्ने…’का क्यामरा म्यान बासु बराल हुन् । यसलाई पनि चौहानले नै निर्देशन गरेका हुन् । दुबै म्युजिक भिडियोमा टीकासँग बुद्धबीर थापाले साथ दिएका छन् ।

प्रतिक्रिया