सदस्यता अभियानको घोषणासंगै एन. आर. एन. जर्जियाको भेला सम्पन्न

इनेप्लिज २०७३ माघ २५ गते ४:१० मा प्रकाशित

एन. आर. एन. अमेरिकाको सबैभन्दा नयाँ  स्टेट च्याप्टर “एन. आर. एन. जर्जिया” को भेला यहि आइतबार, फेब्रुअरी ५ तारिख,  दिउसो ११- १ बजे सम्म जर्जिया राज्यको एटलान्टा शहरमा सम्पन्न भएको छ। समयमै कार्यक्रम चलाउने र अन्त गर्ने अभियान लिएर आएको जर्जिया च्याप्टरको सो कार्यक्रम “एन.आर.एन. सदस्यता नवीकरण र बढाउने अभियानको” घोषणा संगै सम्पन्न भयो। कार्यक्रममा निम्न ५ वटा प्रमुख स्थानीय र क्षेत्रीय संघ-संस्थाहरुको उपस्थिति थियो – नेपाली एसोसिसेयन अफ जर्जिया (नाग), नेपाली एसोसिसेयन अफ साउथ इस्ट अमेरिका (नासा), एसोसिसेयन अफ नेपलिज इन अमेरिका (ए.एन.ए.), नेपाली कल्चरल सेन्टर (एन.सी.सी.), र ब्लड डोनर्स अमेरिका – जर्जिया च्याप्टर (बि.डी.ए)। “प्रविधिको प्रयोग” लाई प्रोत्साहन गर्ने जर्जिया च्याप्टरले पहिलो पटक कार्यक्रमको “फेसबुक लाइभ” प्रशारण गर्दा १०० भन्दा बढी पटक हेरिएको थियो।

 

कार्यक्रमको उद्घाटन गर्दै एन.आर.एन. अमेरिकाको “स्वास्थ्य तथा सेवा समितिका” अध्यक्ष डा. सन्जीब सापकोटाले “स्वागत मन्तव्य” राख्नु भयो। उहाँले जर्जिया राज्यमा एन. आर. एन. च्याप्टर समयको आवश्यकता रहेको कुरा राख्नु भयो। त्यसपछि बोल्दै एन.आर.एन. अमेरिका बोर्डका सदस्य गोबिन्द श्रेष्ठले समग्र नेपाली समुदायको हक-हीतको लागि लड्ने एन.आर.एन.ए.को विधानमै राष्ट्रिय र स्टेट च्याप्टरको व्यस्था भएको उल्लेख गर्नु भयो। तेश्रो वक्ताको रूपमा बोल्दै च्याप्टरका अध्यक्ष मोहन तिमिल्सिनाले एन.आर.एन. जर्जिया च्याप्टर खोलेदेखी जर्जियामा फरक कार्यक्रमहरु बढेको कुरा राख्नुभयो । नेपाली एसोसिसेयन अफ जर्जिया (नाग) का अध्यक्ष दामु डंगोलले २००१ मा स्थापित जर्जियाको सबैभन्दा पुरानो र ठूलो संस्था नागलाई नै एन.आर.एन. अमेरिकाले आफ्ना कार्यक्रमहरु गर्न दिनुपर्ने कुरा राख्नुभयो। एसोसिसेयन अफ नेपलिज इन अमेरिका (ए.एन.ए.) का प्रतिनिधि डा. अनुप श्रीवास्तवले जर्जिया च्याप्टर खडा भएर भैरहेका संघ-संस्थामाथि अर्को संस्था थपिएर नेपाली समुदायलाई समय र खटनको हिसाबले गार्हो हुने कुरा राख्नुभयो। नेपाली  कल्चरल सेन्टर (एन.सी.सी.) का प्रतिनिधि जनक बरालले स्थानीय संघ-संस्थाहरुले एक-अर्कालाई हातेमालो गर्दै अगाडी बढ्नु पर्ने कुरा राख्नुभयो।  त्यस्तै नासाका सल्लाहकार केशब शर्माले जर्जिया च्याप्टरले अरु संघ-संस्थाहरुसंग सहकार्य गर्नु पर्ने कुरा राख्नुभयो। ब्लड डोनर्स अमेरिका – जर्जिया च्याप्टर (बि.डी.ए) का संयोजक भविन्द्र बस्नेतले संघ-संस्थाहरु मिलेर अगाडी बढ्नु पर्ने र यो कार्यमा  बि.डी.ए.ले सक्दो सहयोग गर्ने कुरा राख्नुभयो। नासाका उपाध्यक्ष तारा पुनले एन. आर. एन. च्याप्टरले गर्ने काम अरु संस्थाभन्दा फरक भएकोले यसले गर्दा समुदायको लागि राम्रो हुने कुरा राख्नुभयो।

 

कार्यक्रमको समापन गर्दै जर्जिया च्याप्टरका उपाध्यक्ष विश्वमान आन्ग्देम्बेले एन. आर. एन. च्याप्टरको उदेश्य र काम अरु संस्थाभन्दा फरक रहेको, मूलत: जर्जियामा बस्ने नेपालीलाई नेपालमा बस्ने नेपालीसंग सम्बन्ध बढाउने रहेको कुरा राख्नु भयो। एन.आर.एन. अमेरिकाबाट अहिले २ वटा महत्वाकांक्षी योजनामा काम भैरहेको कुरा राख्नु भयो – (१) नेपाली डायस्पोरा लगानी कोष (एन.डी.आइ.एफ.), र (२) नेपाल-अमेरिका दोहोरो कर निलम्बन सन्धि। दुवै सफल भए, बिसेषत: पहिलोले, अमेरिकामा बस्ने बिद्यार्थी देखि उद्धमीसम्म आम एन. आर. एन.ले २-४ हजार आफ्नो मातृभूमि नेपालमा लगानी गर्ने अवसर खुल्ने कुरा राख्नुभयो। अबको एन. आर. एन. युवाहरुको पनि एन. आर. एन. अनि आम एन. आर. एन.को लागि हुनु पर्नेमा जोड दिनुभयो। जर्जियामा सदस्य तेब्बर बढाउने लक्ष्यको घोषणा गर्दै अबको जर्जिया च्याप्टर बोर्ड २०१७-१९ पूरा २ बर्षको लागि पूर्ण ११ सदस्यको बनाउने घोषणा गर्नुभयो। अन्तमा: व्यक्तिभन्दा संस्था ठूलो र संस्थाभन्दा संसारभरी छरिएर रहेको नेपाली समुदाय ठूलो भएकोले आफ्नो व्यक्तिगत तथा संस्थागत पूर्वाग्रहभन्दा माथि उठी संसारभरीको नेपाली समुदायको राम्रोको लागि सोच्नु पर्ने र काम गर्नु समय आएको कुरा राख्नुभयो।

 

कार्यक्रम जर्जियाको एटलान्टाको अल्फारेत्तामा स्थानीय उद्धमी बाबुराम शर्माको “सितार इन्डियन कुजिन” मा भएको थियो। कार्यक्रम एन. आर. एन. जर्जिया च्याप्टरका बोर्ड सदस्य तथा आइ.टी हेड श्याम सेढाई तथा एन. आर. एन. अमेरिकाका बोर्ड सदस्य गोबिन्द श्रेष्ठले चलाएका थिए।

प्रतिक्रिया