वर्तमान सरकार खारेज गरेर राष्ट्रिय चुनावी सरकार गठन गर्नुपर्छः निर्मल भट्टराई

इनेप्लिज २०७३ माघ २६ गते ९:४१ मा प्रकाशित

शान्ति प्रक्रियामा आएपछि तत्कालीन एमाओवादी नेपालको सबभन्दा ठूलो पार्टी बन्यो । प्रथम संविधानसभामा कांग्रेस र एमालेको सीट जोड्दा पनि एमाओवादीको सीट बढी थियो । तर अत्यन्त छोटो समयमा एमाओवादी पार्टीमात्र छिन्नभिन्न भएन, माओवादी आन्दोलनसमेत अस्ताउने अवस्थामा पुग्यो । लामो समयदेखि माओवादी पार्टीहरुको वैचारिक र सांगठनिक पक्षलाई नजिकबाट नियालिरहेका नयाँ शक्तिका नेता निर्मल भट्टराईसंग नेपालमा माओवादको भविष्य, नयाँ शक्ति र माओवादी समूहबीचको सम्बन्धलगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंशः

माओवादी आन्दोलन यति चाँडो छिन्नभिन्न हुनुका पछाडि के—के कारण छन् ?

पहिलो कुरा, माओवाद युद्धको विज्ञान हो । युद्धको माध्यमबाट सत्ता कब्जा गर्ने विज्ञान हो । त्यो विज्ञान नेपालमा लागू गर्न प्रचण्डजीहरुले १० बर्ष ज्यानको वाजी लगाएर लड्नुभो । तर नेपालको भूराजनीतिक र सामाजिक अवस्थाका कारण माओले गरेजस्तो सत्ता कब्जा सम्भव थिएन । जब तत्कालीन माओवादी कांग्रेस र एमालेलगायतका संसदवादी दलसंग मिलेर लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गर्यो, त्यहींबाट माओवादी आन्दोलनको विधिवत् विसर्जन शुरु भएको हो । बुलेटसंग माओवाद फष्टायो, ब्यालटमा माओवाद अस्ताउदैछ । अर्को कुरा, माओवादी पार्टी संसदीय परिपाटीमा आइसकेपछि संसदीय मुल्य मान्यता अनुरुप विधिविधानको अधिनमा पार्टी चल्नु अनिवार्य हुन्थ्यो । युद्धकालमै पार्टीको सम्पुर्ण सत्ता, श्रोत साधन कब्जा गरेका प्रचण्ड त्यसो गर्न तयार भएनन् ।

तर, एमाले वृत्तमा त ओली र युथ फोर्स उदाएको कारण माओवादी साईजमा आएको हो भनिन्छ नि ?

हेर्नोस्, यो विश्लेषणमा कुनै सत्यता छैन । भाले वासेका कारणमात्र उज्यालो भएको हो भन्ने प्रकारको विश्लेषण हो यो त । ओली तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष हुन् । युथ फोर्स त त्यसको एउटा विभाग मात्र हो । ओली र युवा संघले माओवादी साइजमा ल्याउने भए माओवादी युद्धकै अवधिमा साइजमा ल्याउथे । माओवादी पार्टी विचार व्यवहारको तालमेल मिलाउन नसकेर पतनको बाटोमा लागेको हो । कुनै वाह्य कारणले होइन । अँ बरु युथ फोर्सले नेपाली राजनीतिमा केही नकारात्मकता थपेर आफैं विलाएको छ । तपाईंले पनि महसुस गर्नुभएको होला, त्यो अवधिमा धेरै अपराधलाई राजनीतिकरण गरियो, डनहरुलाई राजनीतिक मञ्च प्रदान गरियो । वाईसीएलकै सिको गरेर चन्दा आतंक मचाइयो ।

माओवादी आन्दोलनका प्रमुख तीन नेताहरु प्रचण्ड, बाबुराम र किरण फेरि मिल्ने संभावना कति देख्नुहुन्छ ?

तपाईंले यो निक्कै महत्वपूर्ण प्रश्न गर्नुभो । नेताहरु मिल्ने वा नमिल्ने विषय उनीहरुले वर्तमानमा बोकेको वैचारिक मान्यताको आधारमा तय हुने विषय हो । यी तीन नेता वैचारिक रुपमा यति पर पुगेका छन् कि तत्काल एकै ठाउँमा आउने कुनै संभावना छैन । प्रचण्ड र किरण त अझै मालेमावादलाई नै आफ्नो मार्गदर्शक सिद्धान्त हो भनिरहेछन् । त्यसकारण, उनीहरुको एकता हुन सक्दछ । तर जहाँसम्म डा. भट्टराईसंग प्रचण्ड वा किरणको एकताको कुरा छ, यो सम्भव हुने कुरा होईन । किन भन्नुहुन्छ भने उनीहरुले बोकेको विचार वोल्लो तीर र पल्लो तीरमा छ । जसरी खोलाको दुई तीरको मिलन असम्भव छ, त्यसरी नै यो मिलन असम्भव छ । नेकपा(माओवादी) केन्द्र मालेमावाद भन्छ, नयाँ शक्ति पाँच “स” भन्छ, संगठनमा एउटा निर्देशित जनवादको प्रयोग गर्छ, अर्को प्रत्यक्ष लोकतन्त्रको पक्षपोषण र प्रयोग गर्छ । अब तपाई आफैं भन्नुहोस्, यिनीहरुको मिलन कसरी हुन्छ ?

स्थानीय तहको चुनाव आउदैछ, चुनावमा त तालमेल होला नि माओवादीहरुसंग ?

चुनावी तालमेल जित्नका लागि गरिन्छ, हार्नका लागि होईन । हिजो शान्ति प्रक्रिया पछि माओवादीमा समाहित भएर चुनावमा उसलाई सबभन्दा ठूलो पार्टी बनाउन अहम् भूमिका खेलेका अधिकांश नेता, कार्यकर्ता र जनता नयाँ शक्तिमा समाहित भईसकेका छन् । प्रचण्ड नेतृत्वको माओवादीमा त हिजो युद्ध लड्दा जनतालाई अति दुःख दिएका केही नेता कार्यकर्तामात्र छन् । उनीहरुको जनतामा विश्वसनीयता अत्यन्त न्यून छ । उनीहरुसंग तालमेल गरेर नयाँ शक्तिलाई चुनावमा कुनै फाईदा हुदैन । त्यसकारण, हामी तालमेल गर्दा परिणाम आउने हिसाबले मात्र जो कोहीसंग तालमेल गर्न सक्छौं ।

मधेसी पार्टीहरुसंग तालमेलको सम्भावना कतिको देख्नुहुन्छ ?

सबैलाई थाहा छ, मधेशी पार्टीहरुले मधेशको मुद्धा बाहेक अरु देशका मुद्धालाई आफ्नो बनाउन सकेका छैनन् । उनीहरु देशका अरु समस्याप्रति बेखबर छन् । यो देशमा मधेशको समस्या लगायत अरु थुप्रै समस्या छन् । यो हाम्रो विडम्वना हो । नयाँ शक्तिले मधेशको समस्या यथोचित सम्बोधन गरेर मधेशी पार्टीहरुलाई पनि राष्टिय मुलधारमा ल्याउन पहल जरुर गरिरहेको छ । तपाईलाई प्रष्ट पारौं, नयाँ शक्ति न मधेशी दलहरुको वालहठ राजनीतिको पक्षमा छ , न त्रिदलीय पेलाहा प्रवृत्तिको पक्षमा । मधेशी दलहरुमा पनि राष्टिय चिन्तनको विकास हुन सक्यो भने उनीहरुको प्रभाव भएका जिल्लाहरुमा स्थानीय तहको निर्वाचनमा नयाँ शक्तिको सहकार्य हुने सम्भावना छ ।

यो सरकार चुनाव गराउन सफल होला ? चुनाव गराउन आनाकानी गरेजस्तो लाग्दैन ?

हेर्नुस् प्रधानमन्त्री प्रचण्ड कुनै पनि चुनाव गराउन चाहँदैनन् । विभिन्न बहानावाजी गरेर सत्ता लम्ब्याउने खेलमा छन् उनी । आफूले गराएको चुनावबाट आफ्नो पार्टीं पत्तासाफ भएको हेर्न उनी चाहन्नन् ।

अब के गर्ने ? देश अनिश्चयको दलदलमा फस्ने नै भयो त ?

अब यो सरकारलाई खारेज गरेर तत्काल नेपाली कांग्रेस र एमालेले सबैलाई समेटेर राष्ट्रिय चुनावी सरकारको पहल गर्नुपर्छ

प्रतिक्रिया