विदेशमा बस्ने नेपालीहरुको आपसमा मन जोड्नु पर्छ, तोड्नु हुँदैन – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७३ फागुन १ गते ३:२४ मा प्रकाशित
 
विदेश वास्तवमा स्वदेश जस्तो हुँदै हैन र हुन पनि सक्दैन । चाहे विदेशमा बसेर विदेशकै स्थायी बसोबास कागजात वा विदेशकै नागरिकता लिईएको किन नहोस्, नेपालबाट यसरी विदेशमा गएर आर्जन गरिएको कानुनी कागजातलाई त्यो देशको नियम कानुनले आवस्यक अधिकारबाट कागजीरुपमा भरिपुर्ण गराएको भएतापनि मौलिक रुपमा त्यो देशको रैथाने नागरिक सरहको अधिकार व्यवहारीकरुपमा पुर्णरुपमा हुन सक्छ भन्न सकिदैन र कतिपय अवस्थामा परिवर्तित नियम कानुनले अधिकार क्षेत्रमा समेत तलमाथी हुन सक्छ । यसको मतलव हामी जो,जहाँ, जसरी, जुन अवस्थामा रहेपनि आपसमा मिलेर बस्ने र भैपरि आउँदा एकअर्काको सहयोगी बन्ने हुनुपर्छ ।
वास्तवमा आजभोली जे जति नेपालीहरु अमेरिका, युरोप, अष्ट्रेलिया, क्यानडा लगायत मुलुकमा पिआर, सिटिजनसिप वा कानुनी वा गैरकानुनी तवरबाट नेपालीहरु रोजगारी, व्यवसायिक एवं अध्ययनको लागी बसिरहेका छन् उनीहरुले नेपाली कला, संस्कृति, नेपालीपन झल्कने गरि केही न केही भौतिक संरचना र आस्थाका धरोहर निर्माणमा जुटेका समाचारहरु, आलेखहरु पढ्न र सुन्न पाईन्छ । यसबाट नेपालीहरु विदेशमा रहेर पनि नेपाली माटोको सुभाष छर्ने काममा एक कदम अगाडी छन् भन्ने कुरा स्पस्ट हुन्छ।
यसै सन्दर्भमा आजभोली अमेरिकामा समेत खासगरी मन्दिर निर्माण, सामुदायिक केन्द्र, सुचना केन्द्र, सांस्कृतिक केन्द्र जस्ता समुदायको प्रत्यक्ष चासो रहने संरचना र धरोहर निर्माण गर्ने एक किसिमको होडवाजी चलिरहेको छ । जुन कार्य अत्यान्तै सराहनिय छ जुन हिजो पनि आवस्यक थियो, आज पनि अवस्यक छ र भोली पनि आवस्यक भईरहने चिज हो । यद्दपी यस्ता सामाजिक सरोकारका धरोहर निर्माण हुँदा जो जसले जताबाट कुराको थालनी र कामको शुरुवात गरेपनि सकभर सबैलाई साथमा समेट्न सके धेरै राम्रो हुने देखिन्छ ।
व्यक्तीहरुको प्रयास, संस्थागत प्रयास जे जसबाट यस किसिमका कार्यको लागी योजना/आयोजना तर्जुमा गरेर अगाडी बढ्दा पनि कमसेकम सबैको विचार र भावनाको कदर गर्दा सबैको मन जोड्न एवं सार्थक गन्तव्यमा पुग्न सकिन्छ । यस्ता सार्वजनिक सरोकारको विषयमा आपसमा मतभेद र अस्वस्थ प्रतिस्पर्धात्मकताको गन्ध आउनु हितकर हुन सक्दैन । जति सकिन्छ थोरैबाट धेरै भन्दा धेरैबाट धेरै साथ र सहयोग जुटाउन सके सबैको आफ्नोत्व कायम हुन सक्छ । आखिर नदी ठुलो होस् की सानो त्यसको अस्तित्व त्यतिबेला गौरवान्वित हुन्छ जव विशाल सागरको हिस्सा बन्न सक्छ । हजारौ नदी मिलेर बनेको सागरको स्थायित्व र शक्ती अविच्छिन्न हुन्छ । त्यस्तै गरि सबैको साथ हुनसके र सामान्य मतभेद, तितीमिठा बाँझिएका कुराहरुलाई मथ्थर गरेर एकिकृत प्रयास प्राथमिकताको क्रममा राखेर अगाडी बढेमा सबैखाले आवस्यकता र महत्वका कामहरु सामुहिक हितका लागी हुन सक्छन् ।
हरेक व्यक्तीका आ-आफ्नै आवस्यकता र महत्व रहने हुन्छ तर सामाजिक आवस्यकता वा सामुहिक हित के कसरी हुन सक्छ त्यसमा आम चासो पुग्नु जरुरी छ । जसरी कुनै आलेख आफैमा मुर्त चिज हैन, एउटा भावना मात्र हो । जसले केही न केही मार्ग निर्देशन गर्न पनि सक्छ वा उपयोगी वा अनुपयोगी हुन पनि सक्छ । त्यस्तैगरि हरेक सामाजिक कार्यको थालनीमा धेरै तिरबाट निस्कने विचार उपयुक्त वा अनुपयुक्त हुन सक्छन् तापनि अरुको विचार सुन्ने धैर्यता र उपयुक्त लागे आवस्यक योजनामा समायोजन गर्ने गुञ्जायस रहन सकेमा त्यस्ता कार्यहरुमा जो कसैको साझा मत हुन सक्छ ।
त्यसो त हरेक सामाजिक संघसंस्था आफै न त खराव हुन्छन् न त पुर्ण नै । त्यसलाई व्यवहारमा उपयोगी बनाउने त्यसका संचालक वा नेतृत्व गर्ने व्यक्तीहरुको हो । अत: जुनसुकै संस्था वा व्यक्तीहरुको समुहबाट नेपालीहरुको परम्परागत मुल्य-मान्यता, भाषा,धर्म, कला, संस्कृति, रितिरिवाज, स्तरोन्नती हुने सबै खाले सामुदायिक हितका कामका लागी टिकाटिप्पणी, मनमुटाव , कित्ताकाट हुने माहोलबाट टाढा रहेर एकै ठाउँमा छरिएका मनहरु एकसाथ जोडेर अगाडी बढ्नु आजको आवस्यकता हो ।
त्यस्तै अहिले विशेष चर्चामा रहेको मेरिल्याण्डमा हिन्दु/बौद्ध मन्दिर बनाउने जुन किसिमको वृहत आयोजना बन्दै गरेको खवरहरु बाहिर आएको छ, यसका लागी सबैको साथ सक्दो हुनु आवस्यक छ । यसलाई सबैतिर प्रसंसा गरिएको पनि छ । अर्को तर्फ ” सामुदायिक केन्द्र ” निर्माण गर्ने तर्फ विभिन्न तवरबाट विभिन्न संघसंस्था मिलेर अगाडी बढेको खवरहरु पनि सुन्नमा आएको छ ।
यी दुवै मन्दिर र सामुदायिक केन्द्र मेरिल्याण्डवासीको लागी अति महत्व राख्ने धरोहर हो । यिनीहुरुको महत्व र आवस्यकतालाई व्याख्या गर्नु नपर्ला सबैलाई जगजाहेर छ । भर्खरै प्राप्त खवर अनुसार मन्दिरको लागी विशाल जग्गा भएको स्थल उपलव्ध हुने मोटामोटी संझौता भएको भन्ने पनि सुन्नमा आएको छ । त्यही स्थलमा सामुदायिक केन्द्रको निर्माण पनि मन्दिरको संरचना तयार भएपछि हुनसके राम्रो हुने अधिकांशको राय पनि देखिन्छ । यद्दपी के कसरी यी दुवै विषयलाई समेट्न सकिन्छ त्यसमा सम्बन्धीत पक्षले ध्यान दिन सके राम्रो हुनेछ ।
 एकै स्थलमा विविध सुविधाहरु उपलव्ध हुनु आफैमा उपयुक्त हुने कुरामा दुविधा हुँदैन तर मन्दिर निर्माणमा नेतृत्वदायी भुमिका खेलिरहेको पक्षले यसबारे स्पष्ट धारणा र सबैलाई समेट्ने किसिमको आयोजना बनाउन सके राम्रो हुने देखिन्छ । यद्दपी हामी जस्ता सर्वसाधरणले सर्सरती देखिने सुविधा र संभावनाहरु बताउदाँ कतिपय उपयुक्त हुने वा नहुने सम्वन्धित पक्षले मुल्यांकन गर्ने कुरा हो । त्यसो त कतिपय अवस्थामा सार्वजनिकरुपमा यस्ता कुरामा नबोल्दानै हितकर हुन पनि सक्ने हुन सक्छ किनकी के कस्तो उद्देश्य र लक्ष्यबाट यस्ता सार्वजनिक धरोहरका लागी संसाधनहरुको व्यवस्था गर्न थालिएको हुन्छ, त्यस्तै प्राविधिक एवं कानुनी पक्षहरु के कस्तो अवलम्बन गर्नु पर्ने हो त्यसबारे प्रत्यक्षरुपमा क्रियाशील व्यक्तीहरुनै बढि जानकार र जिम्मेवार हुन्छन् । हाम्रो भनाई त केवल ” सबैको मन जोडौ, सकभर कसैको मन नतोडौ ” भन्ने नै हो ।
हुनत मन्दिरले सबैको मन जोड्नेमा दुई मत छैन तर अर्को तिर ” सामुदायिक केन्द्र” निर्माणको कुरा पनि जोडतोडले उठेको र त्यसको आवस्यकता पनि सबैलाई रहेकोले यसले पनि आपसमा खिंचातानी नहोस् भन्ने सर्वसाधरणको कामना हो । हुनत भर्खरै उपलव्ध भएको स्थलमा रहेको विद्यमान भवनहरुको संरचना लगायत अन्य भौतिक पुर्वधार हेर्दा ” सामुदायिक केन्द्रमा” उपलव्ध हुने सबै व्यवस्था हुनसक्ने कुरा पनि सुन्नमा आईरहेको छ । त्यसो हो भने अलग्गै सामुदायिक केन्द्र आवस्यक पर्ने वा नपर्ने त्यसको पनि औचित्य माथी छलफल गर्दा राम्रै हुन्छ । जे होस्, अगाडी बढ्न लागेका काम सुमधुर वातावरणमा धन हुने, मन हुने वा सबै सबैको साथ र सहयोगबाट सम्पन्न गरेर नेपाली विचको आपसी भातृत्व र सहकार्यको उदाहरण पेश हुन सकोस् भन्ने कामना छ ।
अन्त्यमा काम गर्नेलाई सबैले साथ दिउ र काम गर्नेले पनि सबैको आवाज सुनेर उचित निर्णयबाट अगाडी बढ्दा आखिर हामी सबैको भलाई हुनेछ । सबैको जय होस् !

प्रतिक्रिया