मेरी भ्यालेन्टाइन् -पीताम्बर पाण्डेय

इनेप्लिज २०७३ फागुन ३ गते ११:३४ मा प्रकाशित

मन कति चन्चल छ। राम्रो देख्यो, मन परिहाल्ने अनि मिले आफ्नो बनाउन पनि खोजी हाल्ने। कसैलाई मन पराउन जति सजिलो छ, पाउन उत्तिकै कठिन छ। किनभने भावना र वास्तविकताको श्रोत या गंतव्यमार्ग अनुरूप छैनन्। हो, मैले उसलाई मन पराउन एक क्षण पनि लागेन तर उसलाई आफ्नो बनाउन आज सम्म पनि लागिरहेकै छु। सबै भन्दा ठुलो प्रयत्न आफ्नो धैर्यता लाई बचाउनमा नै लाग्यो। मेरो प्रतिक्षाको घडी चार बर्ष सम्म पनि सकिएको छैन।

प्रभाती-किरणको स्पर्श होस् या त्यही समयमा पूर्वी आकाशमा देखिने मधुर लालित्यको दर्शन, दुबै नपाएको त कयौँ समय बितीसकेको थियो तर त्यो दिन भने मेरो नींद चाँडै नै खुल्यो। तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो- आज त “भ्यालेन्टाइन्स् -डे” पो त!” हो, आजको दिन बिगतका अरु दिन भन्दा फरक होस् भन्ने चाहन्छु। मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदै पूर्वको मधुर ललित्य देख्न मन लाग्यो। बिगतमा सदाका दिनहरु झैँ आज आफ्नै घर-ठाँउमा मन चङ्गा बनाएर हिंड्न पनि मन छ। पढाईका चक्करमा उत्तरी यूरोपमा चार बर्ष बिताउँदा यो अवसर कहिल्यै जुरेन।

राती अबेर सम्म कम्प्युटरमा झुन्डिएर बस्दा बिहान सबेरै उठेको सम्झना छैन। त्यसो त आधा बर्ष घाम नै देख्न गाह्रो हुने चिसो ठाउँमा यस्तो भएन उस्तो भएन भनेर के गुनासो गर्नु? त्यसै पनि यो बिशाल गगनमंडलमा “उषा या सन्ध्या कालको सौन्दर्य-पान” होस् अथवा “सौम्य बर्षा जलको तिखो स्पर्श”, यी सबको अनुभूती गर्न कसलाई पो फुर्सद होला र! त्यस सौम्यताको अनुभव त त्यसले पाउँछ जो “प्रकृति-प्रेमी” बन्दछ कि चाँही स्वयं नै कसैको प्रेममा पर्दछ। ऐले म यी दुई मध्ये कुन चाहि मा पर्दछु, म नै अनबिज्ञ छु, तर बिदेशी ठिटो हुनु अघिको त्यो समय जति खेर प्रकृतिका प्रत्येक अंशमा सुन्दरता देख्दथे, त्यती खेर म शायद प्रेममा थिए। शायद हैन, म त अवश्य नै प्रेममा थिए, तेसैले त म “भालेन्टाइन-डे” मा उसलाई प्रेमको प्रस्ताव राख्ने पनि आँट गरें।

“ऊ” अर्थात् “गंगा” मेरो कलेजमा पढ्ने साथी थिई। त्यहि कलेजमा म र समीर भन्ने साथी सँगै जाने-आउने गर्दथ्यौँ। समीर मेरो बालक-कालमा धुले-माटो खेल्ने देखीको साथी थियो। कक्षा ११ को सुरुवातमा परिचय कार्यक्रम पछि थप खोजी गर्दा थाहा पाएका थियौ कि गंगा पनि हाम्रै टोल छेउकी केटी रहिछ। गंगाको परिवार उसको एस्. एल. सी. सके पछि यता आएका रे! पढाईको क्रम र केही समय पछि हामी तीन जनाको सम्बन्ध अति मिल्ने साथीको रुपमा परिणत भयो। कलेजका दिन होस् या छुट्टीका दिन, हाम्रो नियमित भेटघाट र बातचित भई नै रहन्थ्यो। परिक्षाका समयमा पनि हामी सबै एकै साथ हुन्थ्यौँ। हामी तिनै जनाका परिवारले पनि हामी मिल्ने साथी हौ भनेर बुझेका थिए।

तर गंगा सँगको राम्रो चिनजान र हेलमेलका क्रममा उसको सौन्दर्यताले मलाई ऊ तर्फ विस्तारै तानीरहेको मैले महसुश गर्दै थिए। उसको सुन्दरता र मिठो बोलीले मेरो मनमा त पहिलो दिन नै ठाउँ लिई सकेको थियो। हो, उसलाई मैले पहिलो भेट मै, पहिलो क्षण मै मन पराएको थिए। त्यस पछि उ बोलेको, हाँसेको, हिंडेको, अथवा उसले जे सुकै गरेको होस्, उसका हर कृयाकलाप मलाई मन पर्न थाले। पढाईको लागि १२ कक्षाको अन्तिम तिर म र गंगा एक्लै पनि यताउता हिंड्ने गरेका थियौ। त्यही ताक आफ्नो मनको कुरा उसलाई भनुँ-भनुँ पनि नभएको होइन तर मनको कुरा बहिर कहिल्यै निकाल्न हिम्मत जुटेन। उसको सुन्दरता र सैहार्दपूर्ण व्यवहारले गर्दा उ प्रति त जो कोइ पनि आकर्षित हुने गर्दथे। उसलाई अरु बाट आउने प्रेम-पत्रहरु बारे पनि म र समीर दुबै अवगत थियौँ। गंगाको म सँग जत्तिकै समीर सँग पनि दोस्ती भएकोले म आफूँलाई कहिल्यै त्यो स्थानमा पाउन सकिन जसबाट ऊ म प्रति बिशेष आकर्षित होस्। तै पनि हरेस खाने मान्छे त म अवश्य नै थिईन। समयको प्रतिक्षा गर्न सक्ने अथाह धैर्यता पनि म सँग थियो तर बिडम्बना यो थियो कि खुलेर बोल्नको लागि प्रर्याप्त हिम्मत मेरो आंतमा थिएन। यही हिम्मत जुटाउँदा-जुटाउँदै १२ कक्षा पनि सकियो। केही गरी भएको सम्बन्ध पनि बिग्रने पो हो कि भन्ने डर पनि कता कता थियो, यद्दपी म पछि हटिन।

यस्तैमा “भ्यालेन्टाइन्स्-डे” पनि नजिकिँदै थियो। त्यो दिन पनि अरु सामान्य दिन भन्दा केही फरक त थिएन तर त्यसले हिम्मत जुटाउनको लागि भने पर्याप्त रुपमा प्रेरित गर्यो। तर उसलाई के भन्ने, कसरी भन्ने, के गर्ने भनेर धेरै सोचें। यिनै “के” र “कसरी”को उत्तरको लागि पत्र-पत्रीका, ईन्टरनेट सबै चाहारेँ तर सबै फिल्मी तरिकाका मात्र पाएँ। परोक्ष रुपमा साथी-भाइ सँग पनि बुझे तर कुनै योजना सुझेन। आखिर म उसलाई नजिकैको स्कुलको चौरमा भेटी कुरा गर्छु भन्ने सोँचे जहाँ ऊ फुर्सदका समयमा आफ्नो दाईको सानो छोरोलाई खेलाउन लैजाने गर्दथी। स्कुल सजाउन लगाईएका हरिया रुखहरु र रङ्गी-चङ्गी फूलका बोटहरु सहितको त्यो चौर पर-पर सम्म फैलिएको, ठुलो थियो। बस्नको लागि छेउ-छाउमा पर्याप्त बेन्चहरु र बिचमा फराकिलो हरियो मैदान भएकोले त्यहाँ खेल्न, बस्न या सैर गर्न सबै उमेर समुहका मान्छे आउने गर्दथे।

भ्यालेन्टाइन्स्-डे को बारेमा उसको सोचाइ के थियो, मलाई थाहा थिएन तर त्यो दिन पनि उ सानो फुच्चेलाई खेल्न त्यहिँ लैजाने बुझे पछि मेरो योजना सहि बाटो मै गैरहेको मैले अनुमान लगाएँ। म आफ्नो योजना लिएर घर बाट निस्किएँ। घरबाट मेरो प्रस्थान टोलका गल्लीमा टहलिन या कुनै आउरे-झ्याउरे सँग बात मार्नको लागि थिएन। म गंगालाई भेट्न निस्केको थिएँ तर बिशेष प्रयोजनले; धेरै हिम्मत जुटाइ, असफल हुने ठुलो डर र सफल हुने ठूलै आश लिएर। यसर्थ त्यो छोटो यात्रा पनि मेरो निमित्त महाभिनिष्क्रमण भन्दा फरक थिएन। साँझ पाँच बजे त्यहाँ पुग्दा ऊ पहिल्यै नै पुगिसकेकी रहिछ। म पनि आउँदै छु भनेर उसलाई मैले बताई सकेको थिए। गंगा चाहिँ मनिसहरु कम भएको, चौरको एउटा कुनाको बेन्चमा धुम्म परेर बसेकी रहिछ। फुच्चे त्यतै, त्यहीँ वरिपरी अरु केटाकेटी सँग खेल्दै थियो।

म गंगा भए तिर लागेँ। म उसको नजिक जादै गर्दा मेरो मुटुको गति झन्-झन् बढ्दै थियो। मनमा अनेक तर्कनाको ज्वार्भाटा आउँदै-जाँदै गरेका थिए। सधैं “हिंड्ने डुल्ने साथी त हो”- त्यहाँ पुग्दा सम्म म आँफूलाई सम्हाले अनि सदा झै सामान्य कुराबाट कुराकनी सुरु गरेँ। तर अरु कुरामा धेरै बेर अलमल नगरी “भ्यालेन्टाइन्स्-डे” को प्रसँग ल्याएँ अनि योजना-सोँच अनुसार नै सामान्य रुपले निर्धक्कका साथ भनेँ- “हेर गंगा हामी मिल्ने साथी हौँ।” उसले तत्कालै कुरा काटेर ठट्टा गरी-“मैले हैन भनेकी छु र?” मैले मुख-मण्डलमा मुस्कान ल्याउने प्रयत्न गर्दै भनेँ- ” हो तर, कुरा अली अर्कै छ।” उ अली गम्भिर भई अनि मेरो कुरामा ध्यान दिएर सुन्न थाली। मैले फेरी भने- “नजिकको साथी भएकोले हामी एक अर्कालाई राम्रो सँग चिनेका छौँ। हामी मात्रै हैन आ-आफ्ना परिवारले पनि हामी एक अर्कालाई जाने-बुझेकै छन्।” उ चुप-चाप सुन्दै गई।

म एक क्षणको लागि रोकिएँ, अनि फेरी भन्दै गएँ- “म हाम्रो रिलेसन अझ नजिकको होस् भन्ने चाहन्छु। त्यसैले आज बाट तिमीलाई ‘फ्रेन्ड’ मात्र हैन ‘गर्ल-फ्रेन्ड’ भन्न चाहन्छु।…” ठूलो शाहसले मैले यती सम्म त भने तर यती भनी सक्दा-नसक्दै बाट मैले उसको अनुहारमा रङ्ग परिवर्तित भएको पाएँ। नकरात्मक प्रतिउत्तर आए के गर्ने भनेर म ब्याकुल भईरहेको अवस्थामा ऊ आँफै पनि के भन्ने भनेर सोच्न नसकेको मैले बुझेँ। म भित्र फेरी शाहस आयो अनि गोजीबाट एउटा आयताकृतिको रुमाल जस्तो सानो कपडाको ब्यानर निकालेर दुई हातले ऊसको अगाडि फिँजारे जसमा रातो मुटु आकृति भित्र अङ्रेजी अक्षरमा लेखिएको थियो- “आई लभ यु”। मैले यो तरिकाले प्रस्ताव गर्दा उसलाई आफ्नो उतर दिन सजिलो होला भन्ने मैले ठाने ताकी मुखले सोधेको प्रस्ताव नभएकोले भावावेशमा मुखैले नै तत्काल निर्णय दिन बाध्यता नपरोस्। त्यो देखे पछि ऊ हल्का मुस्कुराइ तर तत्काल त्यस बाट आँखा हटाएर तल जमिनमा कतै हेर्दै मधुर स्वरमा सोधी- “कहिले बाट मन पराउँथ्यौ मलाई?”, मैले तत्काल जवाफ दिएँ- “हाम्रो पहिलो भेट देखी नै, कलेजको पहिलो दिन।” उसले मेरो आँखामा हेरी, शायद मेरा शब्दको सत्यता खोज्दै थिई।

त्यो ब्यानर पट्याएर बिस्तारै उसको हातमा राखी दिएँ । उसले फेरी भनी- “प्रतिक! हेर, आइ रेस्पेक्ट योर फिलिङस् तर मैले तिमीलाई सधैं साथीको रुपमा हेरिरहेकी छु, मलाई समय चाहिन्छ, सोच्नको लागि।” म चाहिँ “माग्ने लाई तातो भात” भने जस्तो कसरी प्रतिबाद गर्न सक्थेँ र? स्विकृत शब्द “हुन्छ” मात्र भन्न सकेँ। ऊ त्यहाँ बाट उठी अनि फुच्चे तर्फ गई। एक हातमा त्यही कपडा र अर्को हातले फुच्चे डोर्याउँदै उ गई, केही बेर मै पर पुगी अनि मेरो नजर बाट बिलिन भई। म लामो श्वास लिएँ। के जवाफ आउला, कसरी आउला, कती खेर आउला भन्ने प्रश्नका तरङ्गले मन र दिमागमा फेरी ज्वार्भाटा ल्याए। झमक्क साँझ पर्दा सम्म म त्यही बेन्च मै बस्या-बस्यै भएँ।

घर पुग्दा रात पर्यो। खाना खाने बेला हुन लागेको रहेछ। सामान्य निधी-खोजी पछि आमाले भन्नु भयो- “तेरो के समान आ’को छ, टिभी कोठामा, हेरेस्। आमाले फेरी थप्नु भयो- “गंगाकी साथी हुँ भन्दै थिई, दिनेले।” त्यो सुन्ने बित्तिकै म बिजुली गतिमा त्यो समान समक्ष पुगेँ। आफ्नो कोठामा लगेँ। के रहेछ भन्ने कौतुहलता रोक्ने कुरै आएन। गहना राख्ने जस्तो राम्रो सानो डब्बा आएको रहेछ। त्यो बट्टामा आएको चीज बिस्तारै खोली हेर्दा म झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर अक्षरहरु थिए, तर म भने छाँगाबाट खसे झैँ भए। शब्द तिनै थिए- “आइ लभ यू” तर मैले दिएकै ब्यानरमा। एउटा सेतो कागजको टुक्रा पनि सँगै रहेछ जसमा नेपाली- अङ्रेजीमा लेखिएको थियो- “म ऐले पढाई करीअरमा फोकस गर्न चाहन्छु। यु आर स्टिल माइ बेस्ट-बेस्ट फ्रेन्ड, होप यु अन्डरस्ट्यान्ड!” म भित्र प्रेम-बिफलको भावावेश, प्रेमानुरागको ह्रास, क्रोध र पिडा एकै पल्ट यसरी आयो कि म के गरु र कसो गरु भएँ, छट्पटाए। अनि जोडले छेवैको भित्तामा हाने। हातले शरिरीक पिडा पनि थप्यो। म बिस्तारामा पल्टिएँ।… मन जितेर पाउन सकिने चिज; तर बल, रिस या क्रोध… यी कसैले केही हुने वाला थिएन।

आज पाँच बर्ष पछि म फेरी त्यही बिस्तारामा थिएँ। माथी भनी नै सकेँ कि यो दिन अर्थात आज मेरो नींद चाँडै नै खुल्यो। तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो-आज त “भ्यालेन्टाइन्स्-डे” हो क्यार!” हो मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदैको समयमै पूर्वको मधुर ललित्य देख्न मन थियो। तर मलाई “प्रकृति-प्रेम”ले भन्दा पनि कसैको प्रेमले चाडैँ जगाएको थियो।
म आफ्नो हात हेर्छु, त्यो बेला भित्ताले दिएको चोटको दाग अझै बाँकी रहेछ। म उसको पढाई र करीअरको बाधक कसरी भए मैले कहिल्यै बुझ्न सकिन तर उसले जुन निर्णय लिई, त्यसले शायद दुबैलाई सहयोग गर्यो। तीन बर्से पढाई सकेर ऊ बैङ्कमा काम गर्छे, मैले पनि बेच्लर-तहको पढाई सकेँ। तर हे भगवान! त्यो दिन आज फेरी नदोहोरियोस्…

म बाहिर निस्किएर बरण्डामा बसेँ। हल्का चिसो बतासले आङ सिरिङ्ग बनायो। पूर्वको लाली आज साँच्चै नै मनोहर देखिन्थ्यो। मनमा फेरी गंगाकै कुरा खेल्यो। अघिल्लो दिन उसलाई भेट्दा यहाँको एक नयाँ क्याफेमा आउनको लागि बोलाएको थिएँ- साँझ पाँच बजे। समीरले पढाउने स्कुलमा सरस्वती पूजा कार्यक्रममा भेटिएकी थिई ऊ। फुच्चे पनि ठूलो भै सकेछ। पाँच बर्षमा हाम्रो ठाउँ-टोलमा परिवर्तन त धेरै नै आएछ, तर गंगालाई मैले उस्तै नै पाएँ- सुन्दर, नम्र, अनि मिठो आवाज… मेरो लागि त ऊ साक्षात गंगा कै रुप थिई।

साँझ क्याफेमा ऊ भनेको समय मै टुप्लुक आईपुगी। भित्र-बहिर दुबै तिर बस्ने प्रशस्त ठाँउ थियो। बाहिर ग्राहक धेरै नभएकाले मैले बहिरको टेबल लिएर बसेको थिए। भद्र अभिवादन सँगै मैले उसलाई फूल दिदै भनेँ “ह्याप्पी भ्यालेन्टाइन्स्-डे”। उसले धन्यवाद टक्र्याई। पाँच बर्षको समयवधिमा हामी भौगोलिक हिसाबले टाढा नै भए पनि सामाजिक सन्जालबाट एक अर्काका समाचार देख्ने-बुझ्ने गरीरहेकै थियौँ। त्यसैले एक अर्का प्रति अभ्यस्त भए जस्तै गरी, हामी सामान्य बिषय बाटै वार्तालाप शुरु गर्यौँ। म अलिकती परिपक्व भएछु क्यार- मेरो मन पहिलेको जस्तो अधीर र मुटुको गति ब्यग्र तेजमा थिएन। यसपाली म आशाबादी थिएँ। उसले केही खान मन नभएको बताएपछि मैले कफी मगाएँ, उसले चिया लिई। केही बेर यता-उता र देश-बिदेशका कुरा पछि म फेरी सिधा कुरामा आउने बिचार गरेँ।

मैले भने- “गंगा, म तिमीलाई तिम्रो घर मै पनि भेट्न सक्थेँ तर यहाँ नै भेट्न किन बोलाएँ भन्ने कुरा तिमीले अनुमान गरीसकेकी हौली।” उ केही बोलिन, केवल ध्यान दिएर सुनी मात्र रही। कहिले काहीँ टाउको हल्लाँउदै “अं”, “अम्” मात्र गर्दथी। म भन्दै गएँ- “त्यो दिन पछि मलाई यो ठाउँ मै बस्न मन लागेन, पढाईको लागि बिदेश जानु जरुरी थिएन तर पनि एप्लाई गरे, अनि गएँ। त्यहाँ म धेरै समय सम्म तिम्रो यादमा बसी रहेँ, तर म भित्रको अहम जती खेर सेलायो तव मात्र फकेबूक एक्टिभेट गरेर तिमीलाई एड गरेको थिएँ।” बोल्दै गर्दा मैले उसको मुख-मन्डल पनि नियाली रहेको थिए। उसका आँखामा मेरो लागि सहानुभूती झल्किन्थ्यो। सहानुभूती पनि प्रेमको अर्को रुप हो भन्ने मलाई लाग्छ। म फेरी भन्दै गएँ- “बिदेशमा केटी जती पनि थिए, राम्रा पनि थिए, नराम्रा पनि थिए। बिदेशी, नेपाली सबै थिए तर “गंगा” जस्ती थिएनन्। यदी मेरो लागि तिम्रो मनमा कुनै स्थान छ भने, म अझै पनि तिम्रो लागि भनेर बसी रहेको छु।

उ मेरो आँखामा एक टकले हेरेर बसेकी थिई। म फेरी उहि पुरानै तरिकाको कपडाको प्रेमपूर्ण शब्दहरु कोरिएको ब्यानर निकाले, त्यही शैली मै उसलाई देखाएँ अनि बिस्तारै पट्याएर हातमा राखी दिएँ। उ टाउको झुकाइ। मेरा ती कुराहरु सुनेर उ अति नै भावूक भएकी रहिछ, तल फर्किएर कपाल मिलएको बाहनामा आँशु पुछेको मैले देखेँ। मैले आफ्नो कुरा त सबै गरेँ तर उसको जीवनमा अरु के-के चल्दै छ त्यो मैले बुझ्न खोजिन क्यार! मैले गल्ती गरेँ कि भन्ने पनि लाग्यो। एक छिन सन्नाटा छाए जस्तो भयो। केहि बेर मै उ आँफूलाई ठीक गर्दै हल्का रुन्चे स्वरमा उसले भनी- “यी सब कुरा पहिले कहिल्यै किन भनेनौ? फेसबुकमा अरु के-के कुरा मात्रै गर्थ्यौ!, म भित्र पनि धेरै कुरा छन् तर पछि बताउँला” उसले उठ्दै फेरी भनी- ” तर ऐले मलाई समय चाहिन्छ!”

हे भगवान! म फेरी पाँच बर्ष अघिकै अवस्थामा पुगेँ। बसेर कुरा गरौँ न त भनी आग्रह गर्दा उसले मानिन। “स्त्री चरित्र दैब नजाने” भन्थे बुढा पाकाले, यही नै होला। उ त्यो रातो ब्यानर लिएर फेरी भिँडमा हराइ। म समिरलाई डाँके। मेरो पुरानो कथा उसलाई सबै थाहा थियो। एक घण्टामा उ आईपुग्यो। सबै कुरा बताएँ, उसको सान्त्वना दिने मात्र काम भयो। म घर पुग्दा रात परिसकेको थियो। माथिल्लो तल्लाको बरान्डामा म झोक्राएर बसेको थिए। तल ढोकाको घन्टी बज्यो। कुनै अपरिचित केटी मान्छेको आवाज सुनियो। केही बेर मै बहिनी आएर मेरो हातमा सानो डब्बा थमाएर गई। पहिले कै जस्तो त्यो बट्टाले फेरी मेरो मन र तनलाई शिथिल बनायो। एक मनले सोच्यो यसलाई नदेख्ने ठाउँमा पुग्ने गरी मिल्काइदिउँ। तर त्यसो गरिन, म कोठामा गएँ अनि बिस्तारै खोलेँ ।

म जे नहोस् भन्ने सोच्दै थिएँ, त्यही नै हुँदै थियो। म फेरी झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर शब्दहरु देखेर म फेरी छाँगा बाट खसे झैँ भए। हो, त्यही कपडा फिर्ता आएको थियो-दोस्रो पल्ट। त्यो कपडा टेबल तिर मिल्काएँ। “केटीहरु के सोच्छन् हँ आफुलाई?” रिस र पिडाको ज्वार्भाटा फेरी मच्चियो। तर म आफ्नो रीस र भावबेगलाई नियन्त्रित गर्न खोजेँ। यस्तैमा आशुले भरिएको आँखाले फेरी त्यही कपडा तिर हेरेँ। तर त्यसमा मेरो दोस्रो पल्ट दृष्‍टि पर्ना साथ अकस्मात सबै क्रोध, द्वेश र पिडा सबै थर्ममिटरको पारो झैँ स्वात्तै तल झर्यो। मेरो मन एकै चोटि साम्य भयो। मेरो नकारात्मक सोँच सबै बिलिन भएर गए। म त्यो कपडा नजिक गएँ अनी बिस्तारै उठाएर हेरेँ। भावनाले मेरी गंगाको प्रतिरुप र उ प्रतीको प्रेमको तरङ्ग म भित्र फेरी संचार भयो। ब्यानरको पछाडि पट्टी मोट्टो रङिन-कलमले लेखिएको थियो- ” आइ लभ यु टु!” म भित्र खुशीको कुनै सिमा रहेन। म पूर्णनन्दित भएँ। ठुलो श्वास फेर्दै बिस्तारामा पल्टिएँ। धन्य कृष्ण तिम्रो लीला, आधा ज्यान नै लियौ मेरो। मन प्रफुल्लित थियो। के गरुँ के गरुँ भयो। हठात् उसलाई फोन बाट एक मेसेज पठाएँ-

“थ्याङ्क्यु! थ्याङ्क्यु!! थ्याङ्क्यु!!!”
त्यो बाहेक मलाई अरु केहि लेख्न आएन। कुरेर बसेकी रहिछ, तत्त्कालै तीन वटा स्माइली आइकन पठाई – “    ”
मैले फेरी लेखेँ- यती भन्दिन ५ बर्ष लगाइ दियौ!
उत्तर आयो- “अब देखी नलगाउँला नि! 
मैले फेरी सोधेँ- म नराम्रो थिएँ र?
“अहँ, थिएनौ!”
“अनि?” — मैले फेरी सोधेँ।
उसले लेखी– पहिले क्युट मात्र थियौ, ऐले ‘ह्यान्ड्सम्” पनि भएछौ 

म एक छिन प्रफुल्लित हुँदै बसेँ, अनि फेरी लेखेँ- “अघि साँझ कफी पिएँ कि अरु केहि पिएँ, केहि थाहा पाइन। अझ एक पल्ट पिउन पाए थाहा पाइन्थ्यो कि?…”
केहि बेर मै उसले पठाइ – “आज बाहिर निस्कन मिल्दैन , मलाई देखाउन फुपुले भोली दिउसो एउटा केटो लिएर आउँदै हुनुहुन्छ। कफी खान घर मै आउनु, उनीहरु भन्दा पहिले…

प्रतिक्रिया