‘राप्रपामा सबैको टेस्ट भइसकेको छ, मेरो बाँकी छ’

इनेप्लिज २०७३ फागुन ३ गते २३:५४ मा प्रकाशित

 

आगामी साता राजधानीमा हुन लागेको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि डा. प्रकाशचन्द्र लोहनीले कमल थापालाई चुनौती दिने भएका छन् । हाल डा. लोहनी पार्टीको राष्ट्रिय अध्यक्ष छन् भने कमल थापाचाहिँ कार्यकारी अध्यक्ष छन् ।

पार्टी अध्यक्षका लागि कमल थापा एकमात्र दाबेदार मानिँदै आएका बेला डा. लोहनीले अध्यक्ष पदमा थापासँग चुनाव लड्ने मानसिकता बनाएका हुन् । डा. लोहनीले आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा भने गरिसकेका छैनन् । यसबारे औपचारिक निर्णय केही दिनभित्रै गर्ने लोहनीले अनलाइनखबरलाई बताए । डा. लोहनीले भने- ‘म यसबारे दुई/तीन दिनभित्रमा निर्णय गर्छु । देशव्यापीरुपबाट तपाई अगाडि बढ्नुपर्छ भन्ने साथीहरुको मलाई प्रेसर छ ।’ फागुन ६ गतेदेखि ९ गतेसम्म राजधानीमा हुन लागेको महाधिवेशनकै सेरोफेरोमा अनलाइनखबरले लोहनीसँग गरेको छोटो कुराकानीः

राप्रपा महाधिवेशनको तयारी कस्तो चलिरहेको छ ?

योजनावद्ध तरिकाले, राम्रैसित भइरहेको छ । जिल्ला अधिवेशनहरु सकिए । ४/५ ठाउँमा नेतृत्वसम्बन्धी विवाद छ । त्यो पनि हामी समाधान गर्छाैं ।

राजतन्त्रको एजेण्डामा महाधिवेशनले कस्तो निर्णय गर्ला ?

हाम्रो पार्टीमा यसबारे भिन्न भिन्न विचारहरु छन् । महाधिवेशन भनेको सबैलाई हुनेखालले समायोजना गर्ने र व्यवस्थापन गर्ने एउटा प्रक्रिया पनि हो । त्यो भोलिबाट सुरु हुन्छ । मलाई लाग्छ, तीन/चार दिनभित्र हामी यसबारे एउटा निचोडमा पुग्छौं ।

राप्रपा नेपालबाट अलग भएका केशरबहादुर विष्टले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्, विष्टको नयाँ अभियानबारे तपाई के भन्नुहुन्छ ?

केशरबहादुरजी प्रतिभाशाली व्यक्ति हुनुहुन्छ । उहाँले आफ्नो राजनीतिक स्पेस खोज्नुभएको छ, त्यो खोज्ने उहाँलाई अधिकार छ । यो भन्दा बढ्ता के भन्नु र ?

तर, राप्रपामा एकता भइरहँदा केशरबहादुरलाई पनि तपाईहरुले समेट्नुपर्ने होइन र ? यसमा कमजोरी भएको हो कि हैन ?

मेरो त दृष्टिकोण के छ भने उहाँहरु र हामी सबै मिलेर हामी एक भएर जानुपर्छ । मेरो यो प्रयास जारी रहन्छ ।

सबैको टेस्ट भइसकेको छ, तपाईको टेस्ट भएको छैन । तपाईले एउटा दृष्टिकोण लिएर आउनुभएको छ, तपाई अगाडि बढ्नुपर्छ भन्ने मलाई प्रेसर व्यापक छ

राजतन्त्रबारे महाधिवेशनले निर्णय गर्छ भन्नुभयो, तर, तपाई एकजना विचारकसमेत भएको नाताले भन्नुपर्दा राजतन्त्रको एजेण्डामा राप्रपा फर्कनु ठीक हुन्छ कि गणतन्त्रमै रहनुपर्छ ?

राप्रपा भनेको कन्जरभेटिभ पार्टी हो । सम्वर्द्धनवादी दल हो । राष्ट्रिय एकताका शक्तिहरुलाई समेटेर जानुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । यो दृष्टिकोणलाई व्यवहारमा अभिव्यक्त गर्दाखेरि कसरी लैजाने भन्ने कुरा अब छलफल गर्नुपर्छ ।

उसोभए गणतन्त्रलाई स्वीकार गरिसकेको पार्टी फेरि राजतन्त्रतिरै ‘ब्याक’ हुने सम्भावना पनि छ त ?

यो राष्ट्रिय प्रजातन्त्र पार्टी त दुईवटा मिलेको नयाँ पार्टी हो । नयाँ पार्टी भएको हुनाले यसले नेपालको राष्ट्रिय एकता र भावनालाई मध्यनजर गरेर आफ्ना निर्णयहरु गर्छ । यो गर्ने क्रममा नेपालको राष्ट्रिय एकताका जति शक्तिहरु छन्, ती कसैलाई पनि उपेक्षा गर्नुहुँदैन, सबैलाई स्पेस दिनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । यसलाई कुन रुपमा लैजाने भन्ने हामी निर्णय गर्छौं ।

अबको महाधिवशेनपछि कमल थापा निर्विकल्प नेतृत्व हुन् कि महाधिवेशनमा अरु पनि दाबेदार हुनुहुन्छ ?

संसारमा निर्विकल्प भनेको केही पनि छैन । जीवनको विकल्प मृत्यु हो । हरेक कुराको विकल्प हुन्छ । त्यसैले राजनीतिमा निर्विकल्प भन्ने कुरा हुँदैन ।

उसोभए महाधिवेशनमा तपाई अध्यक्षमा उठ्नुहुन्छ ?

म यसबारेमा दुई/तीन दिनभित्रमा निर्णय गर्छु । मलाई देशव्यापीरुपबाट साथीहरुले भनेका छन् कि सबैको टेस्ट भइसकेको छ, तपाईको टेस्ट भएको छैन । तपाईले एउटा दृष्टिकोण लिएर आउनुभएको छ, तपाई अगाडि बढ्नुपर्छ भन्ने मलाई प्रेसर व्यापक छ । म दुई/तीन दिनभित्रमा निर्णय गर्छु ।

तपाईले यसैसाता भन्नुभएको थियो कि सरकारबाट राप्रपाका मन्त्रीहरु फिर्ता हुन सक्छन् । दीपक बोहोरा र विक्रम पाण्डेलाई सरकारबाट कहिले फिर्ता बोलाउने ?

महत्वपूर्ण निर्णयहरुमा राप्रपामाथि उपेक्षाको भावना देखिएको छ । तीनवटा दल भएपछि सबै कुरा पुग्ने भन्नेजस्तो देखिएको छ । यो दृष्टिकोणले हेर्दाखेरि त्यहाँ उपस्थितिका लागिमात्रै किन सरकारमा बस्ने भन्ने दृष्टिकोण बलियो भएर गएको छ । र, यसबारे हामी केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा छलफल गर्छौं ।

प्रचण्ड नेतृत्वको सरकारसँग अब राप्रपा असन्तुष्ट देखिएकै हो त ?

सरकारको समग्र परफरमेन्स कामै गर्न नसक्ने, किंकर्तव्यविमूढ देखियो । न सुशासन दिन सकेको छ, न विकास दिन सकेको छ । न कुनै राजनीतिक निकास दिन सकेको छ । खाली एउटा पदका लागिमात्रै रुँगेर बसिरहने ? यो सरकार कमजोर भएर गइसक्यो ।

तर, कमल थापालाई उपप्रधानमन्त्री बनाएर भए पनि समस्या समाधान गर्ने सरकारले गृहकार्य गरिराखेको छ रे नि त ?

मलाई त होइनजस्तो लाग्छ, यसका बारेमा तपाईले कमलजीलाई नै सोधे राम्रो । तर, मलाई जहाँसम्म लाग्छ, सरकारमा जाने-नजाने हरेक कुराचाहिँ व्यक्तिको निर्णयले हुने होइन, संस्थागत निर्णय हुन्छ । संस्थागत प्रक्रियामा यो एजेण्डै आएको छैन ।

 

स्रोत :अनलाइनखबर

प्रतिक्रिया