..आपसी सद्भाव, एकता र सहयोगका लागि, “प्रार्थना संगीत सहयोग साँझ” : इन्दु राज रेग्मी

इनेप्लिज २०७३ फागुन ५ गते २२:१७ मा प्रकाशित
#समय_सन्दर्भ, #HELP_SAMEER
..आपसी सद्भाव, एकता र सहयोगका लागि,
“प्रार्थना संगीत सहयोग साँझ” : इन्दु राज रेग्मी
…बिस्तारै बिस्तारै हामी नेपाली समुदायहरुले पनि यस विदेशी-भूमिमा केहि असल र उदाहरणीय काम गर्दै गरेको अबस्था हो यो। यसरी नै मेरिल्याण्ड राज्यमा बसोवास गर्ने नेपाली समुदायमा पनि सामाजिक सेवा र सहयोगको जागरण दिन प्रती दिन बढ्ने क्रम तिब्र छ। यसै अनुरुप आफ्नो समुदायमा आईपरेका आकस्मिक तथा दैविक घटना दुर्घटनाहरुमा दिन प्रतिदिन सहयोगी हातहरु बढिरहेका छन।
यसै क्रममा, यहि आउँदो आइतवार फेब्रुअरी १९ तारिख साँझ ७:३० बजे स्थानीय माउन्ट एभरेस्ट रेस्टुरेन्टमा एक प्रार्थना कार्यक्रमको आयोजना गरिने भएको छ जसमा मेरिल्याण्डबासी बिद्यार्थी, ब्यबसायी, पत्रकार, समाजसेवी लगायत ४० भन्दा बढी सांगीतिक क्षेत्रका तथा चलचित्र क्षेत्रका चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा भाई “समीर गुरुङ” को स्वास्थ लाभको लागि प्रार्थना सहित विभिन्न आकर्षक प्रस्तुतिहरु हुने भएको छ साथै सो कार्यक्रमबाट उठेको सम्पुर्ण आर्थिक सहयोग निजको उपचारार्थ परिवारलाई हस्तान्तरण गरिने बताईएको छ।
करिव ८ महिनाका एक छोरा र श्रीमती सहितको आफ्नो सानो पारिवारिक संसार शुरु मात्र गर्न लागेका १९ बर्षिय अत्यन्तै सरल, मित्रवत्, मेहनती स्थानीय नबोदित कलाकार “समीर गुरुङ” को आकस्मिक दुर्घटनाले आज उनको परिवार लगायत सम्पुर्ण मेरिल्याण्डवासी नेपाली समुदाय नै स्तब्ध छ। आफ्नो कर्मथलोबाट काम सकाएर घर फर्कदै गरेका “समीर” भयानक गाडी दुर्घटनामा परि हाल सम्म पनि उपचारार्थ अस्पतालको शैयामा छ्न। हाल उनको उपचारमा सेवारत डाक्टरहरुको भनाई अनुसार उनी अझै अर्धचेतन अवस्थामा रहेको र स्वास्थमा पुर्ण सुधार आउन अझै केही समय उपचारका लागि डाक्टरहरु कै निगरानी मै राखिनु पर्ने बताउँछन्।
समयमै सफल उपचार गराई छिटो भन्दा छिटो आफ्नै घर लिएर जाने आशा राखेका परिवारजनहरुलाई अझै केहि लामै समय अस्पतालमा नै राखेर उपचार मै बस्नु पर्ने आजको बाध्यताले सम्पुर्ण परिवार लगायत शुभचिन्तक, आफन्त र साथीभाइहरुलाई अझ बढी दुखी र मर्माहत बनाएको छ। यसरी नै आफ्नो दैनिक काम नै छोडेर दिन रात नभनी स्याहारसुसार र उपचारका लागि रहनु पर्दा परिवारजनहरुलाई यो बिदेशी भूमिमा पीडा माथि पीडा थपिनुका साथसाथै हरेक दिन विभिन्न आर्थिक, मानसिक समस्याहरुले झनै कमजोर र नाजुक अवस्थामा पुर्याईसकेको छ। यस्तो अवस्थामा परिवारका सदस्यहरुलाई कस्तो महसुस भै रहेको होला, जुन कुरा तपाईं हामीले कल्पना पनि गर्न सक्दैनौं तसर्थ परिवारको यस बिपद घडीमा तपाईं हामीले सक्दो साथ, सहयोग र सान्त्वना दिनु अत्यन्तै आवश्यक रहेको छ।
 “समीर गुरुङ” भाई स्वयं पनि एक गायक तथा संगितकार हुनु र उनका बुबा “श्याम गुरुङ” पनि एक चर्चित राष्ट्रिय कलाकार हुनुका साथसाथै दुबै जना स्थानीय समुदायका विभिन्न सांस्कृतिक कार्यक्रमहरु लगायत समुदायमा आईपर्ने हरेक गतिविधिहरुमा सक्रिय रहने सहयोगी भएका नाताले पनि आज उनको परिवारलाई परेको बिपदमा सक्दो मल्हम लगाउन यहाँका स्थानीय करिव चलिस भन्दा बढि स्थानीय नेपाली राष्ट्रिय कलाकारहरुको संयुक्त विशेष पहलमा संगीतकार तथा गायक समीर गुरुङको स्वस्थ लाभको कामना गर्दै “प्रार्थना संगीत सहयोग साँझ” कार्यक्रमको आयोजना गर्न लागिएको हो। यस कार्यक्रमको अर्को मुख्य सन्देश भनेको “आपसी सद्भाव र एकता” नै हो।
वास्तबमा, यस्ता आकस्मिक तथा दैविक कारण आईपर्ने विभिन्न घटना दुर्घटनाहरुमा गर्नुपर्ने सावधानी र महत्त्वपूर्ण ब्यबस्थापनका तयारी वा योजनाहरु हाम्रो समाजले अझै बनाउन सकेको छैन। पछिल्ला घटना वा समयमा स्थानीय रुपमा केहि युवा तथा सामाजिक संजालहरु मार्फत घटनाहरुको ध्यानाकर्षण गराउने तथा सहयोग संकलन अभियान गर्दै केहि हद सम्म पिडित र पिडितको परिवारलाई केहि राहत दिन प्रयासहरु भए पनि यो नै पर्याप्त र समाधान भने हैनभने यस्तो कार्यक्रमहरु धेरै प्रभावकारी हुन् सकेको छैन। यसरी नै समुदायका लागि खुलिएका सामाजिक संघसंस्थाहरु पनि राजनीति वा पदिया खिचातानी मै अल्झिरहने गर्नाले पनि यस्ता घटनाहरुमा त्यति धेरै चिन्तन, योजना वा सोँच राखेको पाईदैन। तर अब यस्ता संबेदनसिल बिषयहरुमा स्थानीय जनसमुदायले पनि संघसंस्थाहरुलाई आकस्मिक कोषहरुको ब्यबस्थापन गराउनका लागि पहल गर्नु पर्ने र आवश्यक दवाव दिनै पर्ने समय आईसकेको छ।
स्थानीय कलाकार साथीहरुले आज मेरिल्याण्ड मै पहिलो पटक यस प्रकारको “प्रार्थना संगीत तथा सहयोग साँझ” को शुरुआत गरेर वास्तबमै जुन उदाहरणिय कार्यको थालनी गर्नु भएको छ यसका लागि यस कार्यक्रमका संयोजक साथीहरू गायक श्याम गुरुङ, गायक कन्हैया सिंह, गायक श्रीजन ताम्राकार, माउन्ट एभरेष्ट रेस्टुरेन्ट परिवार, “मेरिल्याण्डका हामी नेपाली” परिवार लगायत सम्पुर्ण स्थानीय कलाकारहरु तथा सहयोगी संघसंस्थाका स्वयंसेवक साथीहरुलाई विशेष धन्यवाद दिनै पर्ने हुन्छ।
भाइ “समीर गुरुङ” को स्वस्थलाभको कामना गर्दै हातमा हात, साथमा साथ, काँधमा काँध दिएर आउनुहोस् एक सच्चा नेपालीको कर्तब्य पुरा गरौं र यस उदाहरणीय शुरुआतलाई सफल बनाऔं।
© मेरिल्याण्डका हामी नेपाली, 2017

प्रतिक्रिया