भारतीय राजदूत रञ्जित रेद्वारा रौतहटमा विद्यालय भवनको शिलान्यास

इनेप्लिज २०७३ फागुन ६ गते २२:३२ मा प्रकाशित

 

 

भारतीय राजदूत रञ्जित रेले रौतहटको पथराबुधराममा एउटा विद्यालय भवनको शिलान्यास गरेका छन् । महामहिम राजदूत रेले भारतीय दूताबासको ४ करोड ३९ लाखको लागतमा निर्माण हुन लागेको माध्यमिक विद्यालय पथराबुधरामको एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
हजारौँ स्थानीयबासी उपस्थित भव्य कार्यक्रममा भवनको शिलान्यास गर्दै राजदूत रेले नेपाल र भारतबीच गतिशील सम्बन्ध बन्नुपर्ने बताएका छन् । दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको विकासको माध्यमले दुई देशबीच गतिशील सम्बन्ध स्थापना हुनुपर्नेमा राजदूत रेले जोड दिएका छन् ।
राजदूत रेले भारतले नेपालको शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ लगायतका क्षेत्रमा लगानी गरिरहेको बताउँदै केही सडकको निर्माण कार्य सुरु भएको र केही दिनमै थप सडक तथा पुलको निर्माणको सम्झौता हुने खुलासा गरेका छन् ।
भारतीय लगानीमा सञ्चालित योजनाहरुको काम ढिलो भएको भनेर गुनासो आएकोमा अब दुई देशको संयुक्त अनुगमन समिति बनेको र सञ्चालनमा रहेका योजनाहरुको दुई दुई महिनामा अनुगमन गरिने कार्यक्रम तय भएअनुसार अहिलेसम्म दुईपटक अनुगमन समेत भइसकेको रेले स्पष्ट पारेका छन् । अनुगमन हुन थालेपछि योजनाहरुको काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
नेपाल र भारतबीच खुल्ला सिमाना भए पनि विभिन्न ठाउँमा थप भन्सार नाकाको माग भइरहेको सन्दर्भलाई कोट्याउँदै राजदूत रेले आयात–निर्यातको सम्भाव्यता र यातायातको आवागमनसमेतको सम्भाव्यताको अध्ययन गरी पहल गर्ने बताएका छन् । भारतको मोतीहारीबाट घोडासहन हुँदै नेपालको रौतहटको बंकुलबाट निजगढ फास्टट्रैकलाई अत्यन्त छोटो दूरीमा सिधारेखामा पर्ने गरी जोड्न सके भारत–नेपाल–चीनको त्रिदेशीय साझा मार्ग बन्ने सम्भावना भएकोले नयाँ भन्सारको माग जनस्तरमा बढिरहेको छ ।
राजदूत रेले चार छात्रालाई साइकल प्रदान गरेका छन् । रौतहटका साँसद प्रभु साहको संसदीय विकास कोषको रकमबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ को कक्षा ८ र ९ मा अध्ययनरत सम्पूर्ण छात्रालाई साइकल प्रदान गर्ने योजनालाई बल दिँदै छात्रालाई प्रोत्साहनको लागि रेले चार बालिकालाई साइकल प्रदान गरेका हुन् । साँसद साह आफ्नो निर्वाचन क्षेत्रका करिब एक हजार पाँच सय छात्रालाई साइकल वितरण गर्दै छन् ।
बीचबीचमा साँस्कृतिक टोलीले विभिन्न किसिमका झाँकीहरुसमेत प्रस्तुत गरेको कार्यक्रमलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं रौतहट क्षेत्र नम्बर ३ का साँसद प्रभु साहले विद्यालय र क्याम्पसको स्थापनाका साथै सक्षम शिक्षकको व्यवस्था, सडक यातायातको विकास, बिजुली र पानीको व्यवस्था, कृषिको आधुनिकीकरण र बजारीकरण लगायतको क्षेत्रमा आफूले कस्सिएर लागेकाले देशको ७०औँ स्थानमा रहेको जिल्लाको मानव विकास सूचकांकबाट रौतहटलाई माथि उकास्ने संकल्प लिएको बताएका छन् ।
कार्यक्रमलाई सर्लाहीका साँसद डा. अमरेशकुमार सिंहले सम्बोधन गर्दै मधेसलाई विकास र अधिकार दुवै क्षेत्रमा नेपालका ठूला दल तथा नेताहरुले विभेद गरिरहेकाले भारतले हेरिदिनुपर्ने बताएका छन् । दुई देशबीच कम्तीमा त्रेतायुगदेखि नै जनस्तरमा बेटीरोटीको सम्बन्ध रहेकोले भारतीय राजदूतलाई मधेसीहरुले आफ्नो आँगनमा पाउँदा निकै गर्व महसुस गरेको बताएका छन् । मधेसको विकासमा भारतले दिइरहेको योगदानको साँसद डा.सिंहले प्रशंसा गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष एवं साँसद हरिचरण साहले भारतीय दूतावासको सहयोगमा गौरमा निर्माणाधीन अवस्थामै रोकिएको जुद्ध उच्च माध्यमिक विद्यालयको छात्राबास भवनलाई पूरा गराउन राजदूत रेलाई आग्रह गरेका छन् ।
कार्यक्रमलाई रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, विद्यालयका प्रधानाध्यापक राजेन्द्र साह, जिल्ला विकास समिति रौतहटका डिई सञ्जयप्रसाद साहलगायतकाले सम्बोधन गर्दै भारतले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरेका थिए ।
यसअघि मौलापुरमा आयोजित एक कार्यक्रममा साँसद प्रभु साहले राजदूत रेलाई सम्मानित गरेका थिए ।

प्रतिक्रिया