गाईको महत्त्व चिनाउँदै गोरक्षा महायज्ञ

इनेप्लिज २०७३ फागुन ८ गते २:१४ मा प्रकाशित

 

फागुन ८, चितवन । नारायणगढको नारायणी नदी किनारामा गौ कथा भइरहेको छ । स्थानीय जातका वैदिक गाईको संरक्षणको लागि गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले सो कथा भइरहेको बताइएको छ । संगीतमय ढङ्गमा पं. दीपक सापकोटा र गोव्रती योगीसोमराजबाट भइरहेको सो गौकथाले मान्छेहरुको ध्यान गाईको महत्त्वतर्फ आकर्षण गरेको देखिएको छ । विराट् गोरक्षा महायज्ञ नाम दिइएको सो गौकथाको कार्यक्रममा महायज्ञमा शिव, श्रीमद्भागवत, देवीभागवत्, गणेश, ब्रह्म गरी पञ्चमहापुराणको पाठ पारायण भइरहेको छ भने महारुद्राभिषेक, सतचण्डी, हवन लगायतका हिन्दु पद्धतिका र बुद्धिष्ट पद्धतिका बज्राचाय र लामा गुरुहरूबाट अष्टमङ्गल शान्ति पाठ भइरहेको छ ।


विराट् गोरक्षा महायज्ञ मूल आयोजक समितिका सह–संयोजक विनु रायमाझी पौडेलका अनुसार महायज्ञ गत फाल्गुण ३ गते मङ्गलचौंथीको दिन शुरु भएको र १३ गते महाशिवरात्रिको पावन दिनको भोलीपल्ट बिहान समापन हुनेछ । देशभरीका स्थानीय जातिका गाईहरुको संरक्षण गर्न गौ सेवा कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ भइरहेको छ ।


महायज्ञका मूलकर्ता पं. गुणनिधि पन्थीका अनुसार आचार्य धर्मराज अर्यालको आचार्यकत्त्वमा हिन्दु पद्धतिका अनुष्ठानहरु र सेतो मच्छेन्द्रनाथका पूजारीसमेत रहेका अशोक मुनि बज्राचार्यको आचार्यकत्वमा बज्राचार्य विधिको साथै कारसाङ् लामाको आचार्यकत्त्वमा लामा पद्धतिअनुसार बुद्धिष्ट विधिबाट विभिन्न खालका अनुष्ठानहरु भइरहेको मूलकर्ता पन्थीले बताउनु भयो ।


छोटो समयमा सम्पादन गर्न परेकोले सबै आवश्यक तयारी पूरा गर्न समयमै नसकिएको भएपनि महायज्ञ र यसको उद्देश्यप्रति आमसर्वसाधारणको सकारात्मक झुकाव देखिएको छ । क्रमशः दिनप्रतिदिन सहभागिहरुको सहभागिता बढेको देखिन्छ । आयोजकले गाईको बारेमा शोधखोज गरेका विशेष अन्वेषक वक्ताहरुलाई समेत उपस्थित गराई विशेष प्रवचन गराउने पनि गरेका छन् । ॐकार दर्शन तथा ॐकार परिवारका विज्ञहरुले पनि सो गोरक्षा महायज्ञको औचित्य वर्तमानमा उपयुक्त रहेको बताएका छन् । यसै सन्दर्भमा हिन्दु एवं बौद्धधर्मका विश्लेषक मोहन लामा, नेपाली काँग्रेसकी नेतृ गीता वाग्लेलगायतका व्यक्तित्त्वहरुले महायज्ञलाई सम्बोधन गरिसक्नु भएको आयोजकले बताएका छन् । सनातन धर्म भित्रका हिन्दु–बौद्ध आदि संप्रदायको मान्यतामा गाईको महत्त्वको बारेमा लामाले आफ्नो विश्लेषणात्मक अभिव्यक्ति दिँदै गर्दा मान्छेहरु स्तब्ध देखिन्थे । लामाले हिन्दु–बौद्ध समुदाय तथा धार्मिक मान्यताको विषयमा स्पष्टसँग प्रमाणहरु समेत दिएर अन्तरसम्बन्धको बारेमा बताएका थिए । पूर्व सांसद तथा धार्मिक नेता शङ्करप्रसाद पाण्डे, पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कण्डेललगायतका व्यक्तिहरु यज्ञको दर्शन गर्न आएको सम्बन्धितले जानकारी दिए ।


गाईको नाममा महायज्ञ भन्दा झट्ट सुन्दा सामान्यजस्तो लाग्ने भएपनि प्रवचक, कथावाचक लगायतका प्रस्तुति एवं चर्चाहरुले यसको सार्थकता र महत्त्व बढाउँदै गएको महसूस सर्वसाधारणहरुले गरिरहेका छन् । महायज्ञको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सोको औचित्यको बारेमा महायज्ञ मूल आयोजक समितिका महासचिव दीपक सुवेदीले लोपोन्मुख स्थानीय जातिका वैदिक गाईको संरक्षण अपरिहार्य रहेको र सो हुन नसकेमा देश तथा जनता र समग्रमा विश्वनै असुरक्षित हुने कुरालाई पुष्टि गर्ने खालको कार्यपत्र पेश गरेका थिए । हामी सबैको संरक्षणको लागि सर्वप्रथम स्थानीय जातिका वैदिक गाईको संरक्षण हुनुपर्ने र सोको लागि महायज्ञमार्फत राष्ट्रियस्तरको गौ सेवा कोष स्थापना गरिने सुवेदीको भनाइ थियो । कोषले देश भरीका स्थानीय जातिका वैदिक गाईको संरक्षणको लागि कार्य गर्ने बताइएको छ ।


हिन्दु ॐकार भोलन्टियर्सको आयोजनामा भएको सो महायज्ञको बारेमा शुरुमा मान्छेहरुले खासै वास्ता नदेखाएपनि महायज्ञका प्रवचक, कथाकार एवं विभिन्न अधिकारीहरुको प्रस्तुति पछि महायज्ञले मान्छेहरुलाई बिऊँझाउन थालेको पाइएको छ । स्थानीय विभिन्न संस्थाहरु हुँदाहुँदै अन्तर्राष्ट्रिय हैसियतको सो संस्थाले एकाएक चितवनमा यसरी गोरक्षा महायज्ञ गर्दा धेरै व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिले पर्ख र हेरको व्यवहार गरेको देखिन्थ्यो र अझै पनि देखिन्छ । सुन्दा सामान्य लागेपनि बुझ्दाखेरी महायज्ञले दिन खोजेको सन्देश र गर्न खोजेको कार्य चानेचुने नभएको सो मुद्धामा एउटा दीर्घकालीन योजना लुकेको देखिन्छ । जुन कार्यान्वयन हुनसकेमा वेवास्तामा परेको स्थानीय जातिका वैदिक गाईको क्षेत्रको विशेष उद्धार हुने अनुमान गर्नसकिन्छ ।


शनिवार प्रजातन्त्र दिवसको दिन बिहान महायज्ञस्थलमा ‘गोरक्षा आजको आवश्यकता’ विषयक माध्यामिक विद्यालयस्तरीय वक्तृत्त्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा पढ्दै गरेका कलिला भाइबहिनीहरुले गाईको बारेमा दिएको प्रस्तुतिले धेरैलाई गम्भीर पनि बनाएको देखिन्थ्यो ।


महायज्ञ पैसा उठाउन कै लागि भने नगरिएको आयोजकले बताएका छन् । तथापि स्थापना हुने गौ सेवा कोषमा सहयोग गर्न चाहनेहरुले दान गर्न सक्ने भनिएको छ । बैंक व्यवहारमार्फत सहयोग गर्न चाहने र टाढा वा विदेश रहनेहरूले बैंक खातार्फत पनि आर्थिक सहयोग गर्न सकिने व्यवस्था भएको उनीहरूको भनाई छ । जसको लागि आयोजक संस्था हिन्दु ॐकार भोलन्टियर्सको नाममा सञ्चालन भएका बैंक खातामा प्रभु बैंक लि. लैनचौर काठमाडौं शाखाको खाता नं. १०९११६००८०४४९२०००००१ स्वीफ्ट कोड पि आर भि यू एन पि के ए, त्यस्तै ग्लोबल आइएमई बैंक लि. पानीपोखरी काठमाडौं शाखाको खाता नं. ३३०१०१००००४८३ स्वीफ्ट कोड जि एल बि बि एन पि के ए मार्फत सहयोग गर्न सकिने आयोजकको भनाइ छ ।

प्रतिक्रिया