कसम!

इनेप्लिज २०७३ फागुन २९ गते १०:४१ मा प्रकाशित

सीमा पारिबाट जल्लादहरू आएर,
नेपाल आमाको छाँतीमा उफ्रंदा ।
हाम्रो स्वाधिनताको धज्जी उडाएर,
हाम्री चेलीहरूको अपमान गर्दा।

आफ्नो परम कर्तब्य ठान्दै तिमीले,
जल्लादहरूलाई खवरदारी गर्दा ।
चेलीहरूको अस्मिता बचाउन तिमीले,
चुनौती दिदै अगाडी बढ्दै जाँदा ।

जल्लादहरूले तिम्रो छाँतीमा,
निर्ममता पूर्वक गोली बर्सायो रे।
उफ्रदै चिल्लाउदै आमाको छाँतीमा,
हाम्री चेलीको अपमान गर्यो रे ।

भाई तिमी त सच्चा वीर थियौ ,
स्वाधिनताको रक्षार्थ वीरगति पायौ।
भाई तिमी त सच्चा सपूत थियौ,
मात्रृत्वको रक्षार्थ शहादत प्राप्त गर्यौ।

म विवश लाचारी परदेशी दाई,
विवश लाचार छु मुख छोपेर रून।
नसक्दा रक्षा गर्न जननी र तिमीलाई,
म आफुले आफैलाई माफ गर्न सक्दिन।

कति सन्तान म जस्तै विवश छन्,
चाहेर पनि उनिहरू केही गर्नै सक्दैनन्।
कति सन्तान दलाल र गद्दार छन्,
राष्ट्रघात गर्न कत्ति लाज मान्दै मान्दैनन्।

तर तिम्रो वलिदानी खेर जाने छैन,
अमर सिं बलभद्र जन्मेको भूमी हो।
लाचारी र विवशता सधै रहने छैन,
म विवश लाचारीको पनि कसम हो।

जाग्ने छन् एक दिन धर्ती पूत्रहरू ,
कोशी गण्डकी कर्णाली सँग सुसाउदै।
बजाउने छन् एक दिन बिगुल वीरहरू,
हिमाल गर्जाउदै दुश्मनलाई कपाउंदै ।

छाउने छ ओज देशमा रवीसँगै,
गद्दारी दलालीको कालो दिन ढलाउदै।
गुञ्जने छ विजय गीत कोईलीसँगै,
खुनी जल्लाद दुश्मनहरूलाई हराउदै।

राख्दै त्यो पवित्र माटो शिरमा,
खान्छौं हामी सबै स्वाधिनताको कसम।
रोक्दै पिडाले अश्रुभेल आँखामा,
चढाउछौं हामी श्रद्धासुमन गर्दै सलाम ।

 

भुपनारायण घर्तिमगर रोल्पा,

नेपाल हाल: – भर्जिनिया यू एस ए

प्रतिक्रिया