दन्किरहेको आगोमाथि मुस्कुराएर फूली रहेको फूल हो जीवन : दामोदर पुडासैनी ‘किशोर’ बरिष्ठ साहित्यकार

इनेप्लिज २०७३ चैत ३ गते ०:१९ मा प्रकाशित

शंकर लामिछाने निबन्ध पुरस्कार गुठीले वि.सं. २०७३ सालको ‘शंकर लामिछाने युवा निबन्ध पुरस्कार’ वरिष्ठ साहित्यकार दामोदर पुडासैनी ‘किशोर’ लाई प्रदान गरेको छ । नेपाली निबन्ध लेखनमा विषयगत र शैलीगत दुवै आधारमा नवीनपन ल्याएर नवसिर्जनाहरू गरिरहेका पुडासैनीलाई यस किसिमको पुरस्कार प्रदान गरिनु आफैँमा महत्वपूर्ण कार्य भएको चर्चा यत्रतत्र चलेको छ ।

पुडासैनीको नियात्रा कृति पर्खाल भित्रको राजधानी (२०७३) भर्खरै प्रकशित भएता पनि नेपाली साहित्य आकाशमा अत्यन्त चर्चित बनेको छ । उनका यसअघि प्रकाशित ‘यात्राका प्रेमिल तरङ्गहरू’ (२०६५), ‘नमेटिएका चित्रहरू’ (२०७०), ‘मायालु हुम्ला (२०७१), ‘सिमानाका रङ्ग ः सिमानाका तरङ्ग (२०७२) जस्ता नियात्रा कृतिहरू, धर्मको ह्याङ्ओभर (२०७२) जस्तो दर्शन कृति र आफन्तका अनुहारहरू (२०४९), आँखाको खोजीमा (२०६२), आलोकित आयाम (२०६३), आकारको खोजीमा (२०६३), समयको सहीछाप (२०६९) र पहाड र प्रेम (२०७१) जस्ता कविता सङ्ग्रहहरू पनि पाठकहरूले निकै रुचाएका कृतिहरू हुन् ।

विश्वका झण्डै तीन दर्जन मुलुकहरू र नेपालका बहत्तर जिल्लाका भ्रमण गरिसकेका पुडासैनीको स्वभाव भ्रमणप्रिय देखिन्छ । सबैसँग सजिलै घुलमिल हुन सक्ने, सबैलाई यथासक्य सहयोग गर्न तम्सने र सिर्जनशील कार्यमा दत्तचित्ततापूर्वक लाग्न सक्ने स्वभाव उनमा देखिन्छ । आँटेको काम जसरी भएपनि सम्पन्न गरेरै छाड्ने उनको बानीको कारण उनी आफ्नो जीवनमा सफल र खुशी देखिन्छन् ।

त्रिभुवन विश्व विद्यालयबाट दुई विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका पुडासैनी नेपाल सरकारको महालेखा परीक्षकको कार्यालयका निर्देशक हुन् । पदीय घमण्ड विलकुल नभएका पुडासैनी जागिरलाई रवाफ भन्दा पनि जीविकोपार्जनको माध्यम मात्र मान्दछन् विश्वविद्यालयका धेरै विद्यार्थीहरूले उनी र उनका कृति बारेमा शोध पुरा गरेका छन् । प्रशस्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरू प्राप्त गरिसकेका बरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरसँग साहित्यकार पम्फा भट्टराईले गर्नु भएको अन्तरङ्ग कुराकानी यहाँ प्रस्तुत छ ।

प्रश्न १ : यहाँले वि.सं. २०७३ सालको शंकर लामिछाने युवा निबन्ध पुरस्कार भर्खरै प्राप्त गर्नु भएको छ । निबन्ध तथा नियात्रा लेखनको क्षेत्रमा दिइने यो नेपालको सम्मानित पुरस्कार हो । यो पुरस्कार प्राप्त गर्नु हुँदा कस्तो अनुभव भइरहेछ ?

उत्तरः पुरस्कार आफैँमा उज्यालोतिर डो¥याउने सङ्केत हो । पुरस्कारले त्यो क्षेत्रमा लाग्न अझ घचघच्याउँछ । पुरस्कार भनेको सामाजिक स्वीकृतिको महŒवपूर्ण बिम्ब पनि हो । शंकर लामिछाने आफैँमा नेपाली निबन्ध लेखनको शिखर व्यक्तित्व हुनुहुन्छ । उहाँको नाममा स्थापित पुरस्कार पाउनु आफैँमा एउटा महŒवपूर्ण संयोग पनि हो । नेपालमा साहित्य लेखनलाई अनुत्पादक भन्नेहरू पनि छन् । यो पुरस्कार प्राप्त गरेपछि मलाई लाग्यो साहित्य लेखनले कुनै न कुनै बेला प्रतिफल दिन्छ नै । त्यो प्रतिफल आर्थिक मात्र हुनुपर्छ भन्ने छैन । सामाजिक प्रतिष्ठा मान्छेको लागि जीवनको उज्यालो हो । यो पुरस्कार प्राप्त गरेपछि जीवनमा उज्यालो थपिएको अनुभूति भइरहेछ ।

प्रश्न २ : यहाँले अन्तर्राष्ट्रिय नेपाली सर्वोत्कृष्ठ पुस्तक पुरस्कार, उत्तम शान्ति पुरस्कार, दीपज्योति पुरस्कार जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र स्वदेश तथा विदेशका विभिन्न संघ संस्थाहरूबाट धेरै सम्मान तथा अभिनन्दन प्राप्त गरिसक्नुभएको छ । कतिपय मान्छेहरू दामोदर पुडासैनी ‘किशोर’ लाई मात्र यति धेरै अभिनन्दन, सम्मान र पुरस्कार किन भन्ने प्रश्न पनि उठाउँछन् । यसमा तपाईंको भनाई के छ ?

उत्तर : सम्मान तथा पुरस्कार मेरो काबुको विषय होइन । मेरो काम सिर्जनाहरू लेख्ने हो, लेखिरहने हो । मेरो लेखनीमा सधैँ नयाँपन हुनु पर्छ भन्ने मान्यतामा अघि बढिरहेछु । लेखनीमा स्तरीयता प्रधानपक्ष हो भन्नेमा पनि म सचेत छु । पुरस्कार र सम्मान दिने संघ संस्थाहरूका आ–आफ्नै मूल्याङ्कनका आधार होलान् । उनीहरूका मूल्याङ्कनका आधारहरू भित्र मेरा कृतिहरू परे भने त्यो मेरो लागि खुशीको कुरा हो । पुरस्कार र सम्मानको लागि मैले अहिलेसम्म कुनै अनुनय बिनय गरेको छैन । लेख्नु मेरो धर्म हो, कुनै संघ संस्थाहरूको सर्वमान्य सिद्धान्तका आधारमा मलाई पुरस्कार र सम्मान दिइन्छ भने त्यो नकारात्मक हो जस्तो पनि मलाई लाग्दैन । पुरस्कार भनेकै विवादको विषय पनि हो । विवाद टुङ्गो लगाउन पुरस्कारको सहारा लिइन्छ । पुरस्कारको वरिपरि बसेर विवाद गर्नेहरू सधैँ रहन्छन् । त्यो हुन पनि जरुरी छ । पुरस्कार मात्र लेखनको मापन हुन सक्तैन । लेखनको गुणवत्ता त्यसको प्रधान पक्ष हो ।

प्रश्न ३ : भनिन्छ— ‘मान्छेले कि पढेर जान्दछ कि परेर जान्दछ ।’ यहाँलाई आपूmले अरुको कृति पढेर लेख्ने क्षमता बढेको भन्ने लाग्दछ, वा समाजको अवस्थाबाट लेख्न सकिएको भन्ने लाग्दछ ?

उत्तर : ज्ञान ‘पढेर’ र ‘परेर’ दुबैबाट लिन सकिन्छ । ज्ञान हाँसिल गर्नुले लेखनमा सशक्तता आउन सक्तछ । तर, पढेकै वा परेकै भरमा मात्र लेख्ने भन्ने कुरा नहुन पनि सक्तछ । म सकेसम्म धेरै पुस्तकहरूपढ्ने कोशिस गर्दछु र सकेसम्म धेरै स्थानमा घुम्न रुचाउँछु । लेख्ने प्रभाव पनि ती दुवैबाट निकाल्दछु । तर, कुनै किताब अध्ययन गरेको आधारमा मात्र म लेख्दिन । नयाँ सोच, नयाँ विषय र नवीन कल्पनाशीलताको आधारमा नवीन रचना लेख्न म रुचाउँछु र लेख्छु पनि । मेरो लेखनी अरुको भन्दा फरक हुनुपर्दछ भन्ने मेरो मान्यता छ ।

प्रश्न ४ : एउटा सफल लेखक बन्न दुःखद जीवनमा गुज्रिरहनुपर्छ भन्ने भनाई पनि पाइन्छ । तपाईं नेपाल सरकारको उच्च ओहोदाको कर्मचारी हुनुहुन्छ, सानैदेखि प्रशस्त जग्गा जमिन र सम्पत्ति भएको परिवारमा हुर्कनु भयो, तपाईं भित्र त्यति दुःख छ जस्तो पनि लाग्दैन । तर, तपाईंका रचनाहरूमा दुःखका प्रसङ्गहरू पनि यथेष्ट रूपमा आएका भेटिन्छन् । त्यो कसरी सम्भव भयो ?

उत्तर : दुःख र असन्तोष फरक कुरा हुन् । मेरो बालककाल दुःख सुख दुवैको सम्मिश्रणमा गुज्रियो । एउटा मध्यमवर्गीय कृषक परिवारमा खेतीपाती मात्र हुँदैन दुःखका असङ्ख्य गरा र पाटाहरू पनि रहन्छन् । जागिरे भएपछि पनि सरकारी कामको सिलसिलामा धेरै दुःख गरियो । तर कहिल्यै असन्तोषी भइएन । सन्तोषले कार्यमा अघि बढ्न अरु सहयोग गर्दो रहेछ । दुःखले मान्छेलाई अनुभव दिन्छ । दुःखलाई सकारात्मक रूपमा ग्रहण गर्न जान्नुपनि पर्दछ र दुःखका प्रसङ्गहरू सकारात्मक रूपमा लेखनीमा ल्याउनु पनि राम्रो हुन्छ । नकारात्मक सन्दर्भमा मात्र आफ्नो परिचय खोज्नु भनेको अनुभवको एउटा पाटो मात्र उल्लेख गर्नु हो । यसले अरु थुप्रै पक्षहरूलाई टाढा राख्ने कोशिस गर्दछ । म दुःखलाई पनि सकारात्मक रूपमा ग्रहण गर्दछु र त्यसपछि उज्यालो पक्षको कल्पना गर्छु । यसले लेखनीमा पनि दुःखका सन्दर्भहरू सशक्त रूपमा आउन मद्दत गर्दछ ।

प्रश्न ५ : तपाईं सरकारी कार्यालयमा काम गर्नु हुन्छ । लेखकीय स्वाभिमानले तपाईंले पाउनु पर्ने अवसरहरूबाट बञ्चित भएको जस्तो लाग्दछ ?

उत्तर : यतिखेर बहुसङ्ख्यक कर्मचारीहरू विवेकशून्य बनेका छन् । जति माथिल्लो पदमा पुग्यो उत्ति राजनीतिको चङ्गुलमा फस्ने, चाकडीवाजहरूको घेरामा रमाउने र पदीय घमण्डको कारण विवेकहीन बन्नेहरूको जमात बहुसङ्ख्यक कार्यालयहरूमा बढ्दो छ । पदेन विद्वानको पर्चा छर्नेहरूको पनि यहाँ कमी छैन । बाहिर धर्म, कर्मकाण्ड र देवताका गाथाहरू भट्याउने भित्रभित्रै भ्रष्ट चरित्रमा रमाउनेहरू त बेस्सरी छन् । त्यस्ता पाखण्डीहरू भ्रष्ट, कुरौटे र चिप्लो घसुवाहरूको स्वार्थलाई सर्वोपरी ठान्ने र मौकामा सिधा, स्वाभिमानी र कार्यकर्मीहरूको गला रेट्दा आपूm ठूलो भएको महसुस गर्दछन् । यो चपेटामा म धेरै पटक परेको छु र बगरेहरूको माझमा धेरैपटक बलिको बोको बनेको छु । त्यस्ता बगरेहरूको लागि सिर्जना भनेको कोक्याउने सूर्ती सरह हुन्छ । उनीहरू मेरो साहित्यिक उचाईसँग अत्तालिन्छन् र पटक पटक मलाई धसाउन अँध्यारोमा अपवित्र गठबन्धन गरिरहन्छन् । मेरो पदीय अभिवृद्धि र वृत्ति विकासमा त्यस्ता बगरेहरूले धेरै पटक गला रेटेको मैले महसूस गरेको छु ।

प्रश्न ६ : त्यस्ता बगरेहरूको कर्तुतलाई तपाईं पर्दाफास गर्नुहुन्न ?

उत्तर : प्रसङ्ग अनुसार मैले तिनका काला कर्तुतहरूलाई लेखेर पर्दाफास गरेको छु । भविष्यमा पनि तिनीहरूको नाम र काम सहित प्रकाशमा ल्याउँनेछु । यसमा मलाई कुनै डर छैन ।

प्रश्न ७ : तपाईंले आपूmले पहिलो गरेका कामहरूलाई कत्तिको फर्केर हेर्नुहुन्छ ? नोष्टालजियाले समाउँछ कि समाउँदैन ?

उत्तर : बिगतको अनुभवले पनि भविष्यको गतिलाई शक्ति मिल्छ । प्रसङ्ग अनुसार म आफ्ना पुराना कामहरूको पुनरावलोकन गर्ने र समीक्षा गर्ने कामहरू गरिरहन्छु र भविष्यका योजनाहरू छनौट गर्दछु । बेला बेलामा नोष्टाल्जिक बन्छु म । त्यसले बालककालीन आनन्दले उमङ्गित बनाइरहन्छ मलाई ।

प्रश्न ८ : नेपालका समालोचक तथा समीक्षकहरूमा स्तरीयता छैन र तिनीहरू प्रायः पूर्वाग्रही छन् भन्ने एउटा आरोप छ । तपाईंका कृतिहरूको सही समीक्षा वा समालोचना भएको भन्ने लाग्दछ ?

उत्तर : विषयवस्तु, शैली र स्तरको आधारमा पुस्तकको मूल्याङ्कन गर्नु समीक्षा वा समालोचना गर्नु हो । समीक्षा भनेको साहित्यिक आलोचना पनि हो । समीक्षा लेख्ने मान्छे आफैमा अध्ययनशील र क्षमतावान हुन जरुरी छ । समीक्षकमा रचनात्मकता, बलियो दृष्टिकोण र सिर्जनशीलता हुन जरुरी छ । डर, त्रास, धम्की, आशा, लोभ जस्ता प्रसङ्गहरूबाट टाढा रहन नसक्ने मान्छे समीक्षक बन्न पनि सक्तैन । विद्यालय र महाविद्यालयमा पढाउने नोटको फम्र्याटलाई जो सुकैको कृतिको नाम भरेर समीक्षा वा समालोचना भन्ने प्रवृत्ति नेपालमा अझसम्म घटेको छैन । तुलनात्मक अध्ययन बिना समीक्षा लेख्ने र कसैको अतिप्रशंसा र कसैको अतिनिन्दा गरिदिने प्रवृत्तिले कृतिहरूको सही मूल्याङ्कन गर्न सकेको पाइदैन । समीक्षा गर्दा तटस्थ भाव अभिव्यक्त गर्न नसक्नाको कारणले र कृतिभन्दा बाहिरका प्रसङ्गहरूतिर बढी तानिने कारणले पनि समीक्षा पूर्वाग्रहको पोको बन्न पुगेको छ । अब भने समालोचक तथा समीक्षकको पनि मनोमानि चल्ने दिन सकिए । राम्रो समालोचना एवं समीक्षा गर्न नसक्नेहरू बढारिने स्थिति छ । अहिले राम्रा समालोचक र समीक्षकहरूको प्रवेश भइसकेको छ । उनीहरूले सन्तुलित र मुद्धागत समीक्षा गर्न थालिसकेका छन् । यो खुशीको कुरा पनि हो । मेरा कृतिहरूमा पनि कतिपय समालोचकहरूको आँखा लाग्न सकेको छैन । कतिपयले भने ठूलो मेहनत गरेर समीक्षा र समालोचना गरिदिनु भएको छ । यसले पुस्तकको प्रभाव वृद्धि भएको छ ।

प्रश्न ९ : एउटा लामो कालखण्ड व्यहोर्दै यहाँसम्म आइपुग्नु भएको छ । आखिर जीवन के रहेछ ?

उत्तर : दनदनी दन्किरहेको आगोमाथि मुस्कुराएर पूmलिरहेको पूmल हो जीवन । क्षण क्षणमा धरापमा परिरहनछ जीवन, क्षण क्षणमा मर्मत गरिरहनुपर्छ जीवनलाई । कयौहरू आफन्त बनेर उदाउँछन् जीवनमा, थाहै नदिइ लुसुक्क बिदा हुन्छन् कयौँ आफन्त जीवनबाट । अप्राप्ति र अतृप्ति कयौँ छन् जीवनसँग, माया, आशा र भरोसा पनि कति धेरै छ जीवनसँग । जीवनको सबैभन्दा ठूलो पक्ष भनेकै जीवनको उपस्थिति कायम हुनु हो । मान्छे जीवनसँग बढी नकारात्मकता भएको मान्छ, वास्तवमा धेरै भन्दा धेरै उपलब्धी, उज्यालो, उमङ्ग र प्राप्ति छ जीवनसँग । जीवन झन्झट होइन र झारेझुरे पनि होइन । जीवन वास्तवमा एउटा ठूलो प्राप्ति हो । यसलाई जति उमङ्गपूर्ण, आशावादी र उज्यालो बनाउन सक्यो त्यति नै सार्थकता हुन्छ जीवनको । काँडाको घोचाइमा सुकसुकाइरहनु भन्दा पूmल सुमसुम्याउने र सुवासमा तङ्गिने गर्नु बुद्धिमानी पनि हो जीवनमा ।

प्रश्न १० : तपाईंले विश्वका तीसौँ मुलुकहरू र नेपालका बहत्तर भन्दा बढी जिल्लाको भ्रमण गरिसक्नुभएको देखिन्छ । मौका मिल्यो कि कतै न कतै घुम्न हिँडिहाल्ने यहाँको स्वभाव पाइन्छ । भ्रमणले जीवन र लेखनमा कस्तो असर पार्छ भन्ने ठान्नु हुन्छ ?

उत्तर : जीवन भनेकै गतिशीलता हो । मान्छेको जीवन पनि स्थिर होइन । गतिले मात्र मान्छेको प्रगति हुन्छ । भ्रमणले मान्छेको जीवनमा गति ल्याउँछ । गतिले ज्ञान र कल्पनाशीलता अभिवृद्धि गर्दछ । यो संसारको मजा भनेकै विविधताबाट आनन्द प्राप्त गर्नु हो । भ्रमणले नयाँ अनुभव र ज्ञान दिन्छ । यसले जीवन बढी सहज र सार्थक बनाउन मद्धत पु¥याउँदछ । भ्रमणले लेखनको विषय र सीप अभिवृद्धिमा पनि राम्रो सहयोग गर्दछ ।

प्रश्न ११ : अहिले नेपाली साहित्यवृत्तमा यहाँको ‘पर्खाल भित्रको राजधानी’ नामको नियात्रा कृतिले उल्लेखनीय चर्चा पाइरहेछ । प्रकाशित भएको थोरै अवधिमै उक्त कृति बढी चर्चित हुनुको पछाडि के रहस्य रहेको जस्तो यहाँलाई लाग्दछ ?

उत्तर : ‘पर्खाल भित्रको राजधानी’ हिमाली क्षेत्रको पवित्रता, गरिमा र रहस्यको खोजीमा केन्द्रित हिमाली यात्राको जादुई नियात्रा हो । मैले मुस्ताङ र उपल्लो मुस्ताङ चिसो मरुभूमी मात्र होइन नाङ्गो पठार, हिम सौन्दर्य, झरना, गुफा, जैविक विविधता, सांस्कृतिक सजधज र अलौकिक दृश्यहरूको जादु प्राप्त गर्न सकिने क्षेत्र पनि हो । मध्य एशियाको अमिट हिमसौन्दर्य र चिसो मरुभूमिको असीम आनन्दका अनुभूतिहरूलाई समेटेर मैले पर्खाल भित्रको राजधानी तयार गरेको हुँ । यो नियात्रा कृति तयार गर्दा मैले हिमाली सौन्दर्य, संस्कृति र नियात्रा लेखनको फरक शैली अपनाउने प्रयास गरेको छु । मेरो यो नियात्राकृति पाठक माझ बढी प्रिय हुनुमा पाठकहरूले हिमाली साहित्यको बढी चाहना गरेका रहेछन् भन्ने पुष्टि भएको छ । यो कृति बढी चर्चित हुनुमा यसमा अन्तरनिहित विषयवस्तु र त्यसलाई प्रस्तुत गर्ने फरक शैलीनै कारक तत्वको रूपमा प्रकट भएजस्तो मलाई लाग्दछ ।

प्रश्न १२ : तपाईं हालसालै करिब सवा महिना मधेश क्षेत्रको भ्रमण गरेर फर्किनु भएको छ । यतिखेर मान्छेहरू हिमाल, पहाड, तराई, मधेश, जात, धर्मका कुराहरूमा बढी जोड दिन थालेका छन् । नेपाली समाज अब कसरी अघि बढ्नु पर्दछ भन्ने लाग्दछ ?

उत्तर : हिमाल, पहाड, तराई, मधेश, जात, धर्म जे भनेपनि अहिले प्रत्येक मान्छे कठिनपूर्वक जीवन गुजारा गरिरहेछ । मान्छे सदैव अशान्त संसारमा अघि बढिरहेको हुन्छ । मान्छे अशान्त र व्यक्तिगत मर्यादा र सान खोज्दा खोज्दै पनि संसारका अरु मान्छेहरूसँग पनि निकटताको सम्बन्ध स्थापित गर्न चाहिरहेको हुन्छ । जिन्दगी दिनपरदिन झन् झन् जटिल र झन् झन् कठिन बन्दैछ । जिन्दगीमा हरेक क्षण सङ्घर्षका लहरहरू आइरहन्छन् । जिन्दगी जोगाउन अनेकौ लडाईंहरू व्यहोर्दैछ मान्छेले । बाँचुञ्जेल कुनै न कुनै लडाईभन्दा टाढा बस्न सक्तैन मान्छे । मान्छे एकातिर हरक्षण सङ्घर्षमा जुधिरहेको हुन्छ अर्कातिर वातावरणीय सुरक्षा र पर्यावरणीय सन्तुलनमा बाँच्नु अर्को चुनौती हो ।

प्रकृति रहेन भने मान्छे पनि रहदैन । यति हुँदा हुँदै पनि मान्छे सिमाना तेस्र्याएर विभाजित हुन खोज्छ, प्रदेश, जात, धर्म, रङ्गको बहानामा विभाजित हुन खोज्छ । सङ्घर्षले मान्छेलाई खार्दछ तर विभाजनले अस्तित्वनै खतरा पर्ने संभावना पनि रहन्छ । मेरो विचारमा यतिखेर हिमाल, पहाड, तराई, मधेश, जात, धर्म भन्ने आवाज चर्काउनु सङ्घर्षको प्रवलता हो विभाजन उन्मुख होइन । मान्छे टुक्रिएर मानवताको रक्षा गर्न सक्तैन । मानवता सबैभन्दा प्रमुख कुरा हो । जात, धर्म, प्रदेश, रङ्गभन्दा माथि उठेर मानवताको संवद्र्धन गर्न सकियो भने मात्र ‘मान्छे’ ‘मान्छे’ को रूपमा इज्जत राख्न सक्तछ । मैले मधेशको भ्रमण गर्दा प्रदेश, क्षेत्र, धर्म, रङ्गको नाममा फरक मत राख्न खोजेको कतै देखिन । ती आधारमा मानवता उठाउने लडाई मात्र त्यहाँ चलिरहेको देखें । ती सबै कुराहरूमा सम्वृद्धि ल्याउन सांस्कृतिक जागरण अझ बढाउनु पर्ने आवश्यकता पनि मैले देखेको छु । अति राजनीतिले मानवता बिगार्न सक्तछ, तर, सांस्कृतिक जागरणले मानवता उच्च बन्न सक्तछ ।

प्रश्न १३ : मान्छेहरू भन्छन्— ‘प्रेममा खुशी पनि छ, प्रेममा पीडा पनि छ ।’ प्रेम विना संसार चल्दैन भन्नेहरू पनि छन् । कतिपय मान्छेहरू भन्छन्— यो सारा संसारको प्रेमबाट माथि उठ्न सक्यो भने मात्र जीवन सार्थक बन्दछ । वास्तवमा प्रेम के हो र जीवनमा यो नभए पनि चल्दैन ?

उत्तर : प्रेम आकर्षण र समर्पण हो । मान्छे मात्र होइन यो सारा संसारका तारा, ग्रह र भूमण्डल आकर्षण र समर्पणमै अडेको छ । आकर्षण र समर्पण बिना कोही पनि जन्मदैन, हुर्कदैन र बढ्दैन पनि । आकर्षण र समर्पण भएर मात्र यो सारा संसार सुन्दर, आकर्षण र मनोहारी छ । प्रेम विना प्रकृति चल्नै सक्तैन भने प्रकृतिको स्यानो अंश मान्छे विना प्रेम जन्मने हुर्कने र बढ्ने कल्पना गर्नु बेकार हो । सच्चा प्रेममा स्वार्थ हुँदैन आकर्षण र समर्पण मात्र हुन्छ । मान्छे प्रेमबाट कहिल्यै बेखुशी हुन सक्तैन, प्रेम भडकियो भने मात्र ऊ बेखुशी हुने हो । प्रेममा स्वार्थ मिसियो भने टिकिरन सक्तैन प्रेम । कहिलेकाही जोगाउन खोज्दा खोज्दै पनि नासिन्छ प्रेम । वास्तवमा त्यो प्रेमको अन्त्य होइन प्रेमको अभावले हुने पीडा हो । प्रेमबाट उठेर हाइन प्रेममा निःस्वार्थ डुबे मात्र जीवन सार्थक बन्न सक्तछ । हाम्रा नातागोता, इष्टमित्र र सारा मानवजगत प्रेमको मियो वरिपरि नै घुमिरहेछन् ।

प्रतिक्रिया