अमेरिकाका नेपाली संस्थामा लाग्नु अघि हजार पटक मात्र हैन ,एक लाख पटक सोच्ने कि अव ?

इनेप्लिज २०७३ चैत १० गते २:२२ मा प्रकाशित

नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता ,निर्माता तथा निर्देशक रोशन प्रताप राणाले अमेरिकामा भनेका थिए परदेशमा हरेक नेपाली तेह्र दिने दाजुभाई l उनले यो त्यसै भनेका हैन रहेछ l उनले बुझेर भनेका रहेछन l मुग्लानमा साह्रो गाह्रोमा सबै कुरा बिर्सेर नेपाली बिच एक आपसमा सहयोग र सद्भाव पाईन्छ भन्ने हेतुले बर्षौ पहिले अभिव्यक्ति दिएका थिए l

तर अब यो कुरा पूर्ण गौण हुदै जादै छ l नेपालीलाई सामाजिक संस्था घाटी सम्म पुगी सकेका छन् l संस्था खोल्यो कि विवादै विवादमा अल्झने समस्या देखा परेको छ l अमेरिकी भुमि महाभारतको रणभूमि बन्दै गएको छ l

अमेरिकाका अधिकांश नाम चलेका नेपाली सामाजिक संस्थाहरुमा एक पछि अर्को गरि विवादको भूमरीमा पर्ने, एकले अर्कालाई नटेरने र नगन्ने कुरा सामान्य भई सकेको छ l बिबादमा अल्झने रोग लागेको छ l सामाजिक संजालले छताछुल्ल पारी दिएको छ l कुनै पनि संघ तथा संस्था ओभानो नभएको जस्तो भान हुन्छ l

अमेरिकामा संस्था बिना नै सास फेर्न सकिन्छ l नेपालीलाई बाच्न संघ तथा संस्थाको पुच्छर समाती रहनु पर्दैन l नेपाल को लागी केहि गर्नु पर्छ भने संघ तथा /संस्थामा लगेर उभो लागिन्छ भन्ने गलत सोचाई नराख्नु होला l संघ/संस्था चाहिदै चाहिदैन भन्ने कदापी हैन l बोस्टन बासीले नेपाली संस्थाको बुई नचढी धुर्मुस सुन्तली अभियानलाई ठुलो आर्थिक सहयोग जुटायो l

यदि तपाई पनि आफ्नो सुनौलो भबिश्य खातिर अमेरिका जाने सोच बनाउनु भएको छ भने कसैको प्रभावमा नआई आफ्नो गन्तब्यमा दत्तचित्त भै लाग्नु नै बेस हुन्छ l नत्र तपाई पनि खाई नपाई छालाको टोपी लाई भन्ने विवादको भुमरीमा विना सितै पर्नु हुनेछ l अमेरिकामा गएर सामाजिक सेवा गर्छु भन्ने तिर नलाग्नु नै उत्तम हुने छ l किन समाज सेवामा अमेरिकामा लाग्ने ? नेपाली संस्थामा पहिले र अहिले एकदम फरक परिस्थिति छ l होडबाजी र संस्था संस्थामा वैमनस्यता मौलाउदै छ l

तपाईले प्राप्त गर्ने भन्दा बेसी तपाइले गुमाउने सम्भावना ज्यादा हुन्छ l शिथिल भै बस्नु हुन्छ भने तपाई सबैको आँखाको नानि कहलिनु हुन्छ l तर संस्थामा प्रवेश गर्नु भयो भने तपाईलाई नेपालको जस्तो झुटा आरोप र भ्रामक दोषारोपण लगाईन्छ l तपाईको नेपालमा रहेको प्रसिद्धि र छबि यहाँ आएर धमिलिने बढी सम्भावना हुन्छ l

अमेरिकाका सामाजिक सेवामा संलग्न हुनु भएन भने तपाई बुद्धिमान भएको समुदायले ठहर गर्ने छ l अभिभावक या आफन्तले अमेरिकामा जानु अघि राम्रो पढ्नु, उन्नति गर्नु र परिवारको ईज्ज़त वृद्धि गर्नु भन्ने उपदेश दिनु भन्दा अब अमेरिकामा रहेका नेपाली संघ तथा संस्थामा नलाग्नु भन्ने शुभ आशिक दिनु असल हुने छ l

केहि बर्ष देखि अमेरिकामा सुस्त गतिमा यो रोग निको नहुने रुपले झ्यागीदै छ l झगडाको कारण केवल कुर्सि ,कुर्सिमा हाली मुहाली गर्न पाए अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पनि ठुलो ठान्ने नेपाली समुदायका अगुवाहरु बाट नै यस्तो कुकृत्य फोहरी खेलको थालनी हुन् थालेको छ l राष्ट्रिय स्तरका सबै संघ तथा संस्था राजनैतिक विचार र आस्था बाट पछाडी बाट संचालित छन् l जव चुनाव को घोषणा हुन्छ ,अनि देखिन्छ नेपालको राजनीति l

अमेरिकाका राष्ट्रीय देखि क्षेत्रीय स्तरमा रहेका सबै संघ तथा संस्थामा सहभागिता अत्यधिक घटेको छ l हजारौ को संख्यामा सहभागिता हुने संघ/संस्थामा हजार बाट सय मा पनि पुगी सकेको छ l सयौको संख्यामा उपस्थिति हुने बार्षिक भेलामा केहि दर्जनमा सिमित भई सकेको छ l

यसले दिर्घ कालिन रुपमा कसैलाई फाइदा पुर्याउने छैन केवल फोहोर पानीमा माछा मार्ने समुहले आफ्नो स्वार्थको लागि फाइदा उठाउने छन् l नेपालमा रहेका नेपालीले अमेरिकामा नेपाली समुदायको मेल मिलाप खुबै छ भन्ने अब पत्याउन छोडेका छन् l सामाजिक संजालको माध्यमले एकै छिनमा लागेको सानो झिल्को पुरै विश्वमा डढेलो लाग्ने भएकोले हाम्रो ताण्डव नृत्य र हाम्रो पहिचान पर्दाफास भै सकेको छ l हाम्रो आकृति र मुकुण्डोको झिकी सकिएको छ l

अमेरिकामा खोलिएका संस्थामा केवल कुर्सिको लागि झगडा ,विवाद हुदै कसले कुर्सि उछिट्याउने भनि अदालत धाउने संस्थाको अब कमि रहेन l घर भित्रको कुरा बाहिर ,बाहिरको कुरा न्यायालय सम्म पुग्ने भए पछि अमेरिकामा आएको त्यहि अर्थ झैँ झगडा हो त ?

सामाजिक सेवा गर्न आएको तपाई यस्तो जटिल समस्यामा उनिन चाहनु हुन्छ भने सामाजिक सेवामा प्रवेश गर्न कसैले रोक्दैन किनभने अमेरिकामा अठार बर्ष भै सकेकाले आफ्नो निर्णय आफै गर्ने हुनाले जोड जबर्जस्त गर्न मिल्दैन l

अमेरिकामा सामाजिक संस्थामा लाग्नु भनेको कतै साढे सातको दशा त लाग्दैन भन्ने विचार पनि नेपाली समुदायले गरि रहेकोले संस्थामा अभिरुचि निक्कै गिर्दो अवस्थामा छ l अहिले नै निकै अप्ठ्यारो स्थितिबाट संस्था गुज्रिदै छन् भने कालान्तरमा नेपाली संस्थाले ठुलो चुनौतीको सामना गर्नु पर्ने हुन्छ l

र ,सदस्यता वृद्धिबाट मात्र आर्थिक भार बेहोरेको संस्था नेपालीहरुको विवाद ,झगडा ,कचहरी र न्यायालयको कारण सहभागिताको हिसाबले नेपालमा जुलुसमा भेला गर्दा दैनिकी ज्याला दिएर जन सहभागिता गराएको जस्तो हुन् थालेको छ l सहभागितामा न्युनतम हुन् थालेको छ l निशुल्क भोजन गराउने भन्दा पनि सहभागितामा खडेरी लाग्न थालेको छ l नेपाली बीच कलह नै पदको बाडफाडले गर्दा हुने हुनाले अमेरिकाका केहि सामाजिक संस्थाहरु जस्मा सदस्य मात्र रहेको समिति मात्र बनाईएको पनि छन l

यस्तो स्थतिबाट सबै संघ /संस्था मुछिएका छन् भन्ने अभिप्राय हैन l गैर आवासीय नेपाली संघले सबै नेपालीलाई समेटेको छ l तर यो संस्था पनि राजनीति बाट मुक्त छैन l निर्वाचन हुन्छ भने दलको पुच्छर नसमाती नदि तर्न सकिदैन l अमेरिकामा स्थापना भएका सबै संस्था एकै मुलाका ड्य़ाग कदापी हैनन् l अद्वितीय काम गरेका छन् l मातृभूमिको लागि सेवा गरेका छन् l अझ पनि नेपालीहरु एक जुट हुन् र मिल्न सक्दैनन् l  हाम्रो बुद्धि कहिले आउला ? अब घैटो मा घाम कहिले लाग्ला हाम्रो ? कहिले हामी ऐक्यबद्ध हुने ? हाम्रा सन्तान र दोश्रो पुस्तालाई हामीले के संदेश दिने ? ख्याल गरौ है ,बुद्धिजीवी वर्गहरु ?

तर अमेरिकाको ईतिहासमा नेपालीहरु भारतले सन् २०१५ मा लगाएको अघोषित आर्थिक नाकाबन्दीमा अमेरिकाका ५० वटै राज्यका नेपालीहरु एक ढिक्का भै किर्तिमान कायम गरेका थिए l त्यस बाहेक नेपालीहरु देश बाहिर छौ भन्ने बिर्सन्छौ l यसरि नै नेपालीलाई पुगी रहेको छ l राजनीति पनि चलि रहेको छ l

अमेरिकाका नेपाली संस्थामा लाग्नु अघि हजार पटक मात्र हैन एक लाख पटक सोच्ने कि ? पशुपतिनाथले हामी सबैलाई रक्षा गरुन !

प्रतिक्रिया