दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल: मन्त्री बुढाथोकी

इनेप्लिज २०७३ चैत ११ गते ११:०४ मा प्रकाशित

काठमाडौँ, ११ चैत । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले राजनीति र प्रशासन दुवै क्षेत्रमा विकृति र विसङ्गति भएकाले दुवै क्षेत्र सुध्रिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

सामान्य प्रशासन मन्त्रालय र प्रशासकीय अदालतको संयुक्त आयोजनामा ‘निजामती सेवा ः सञ्चालन, आचरण र अनुशासन एवम् विभागीय कारबाही’ विषयक अन्तक्र्रियामा उहाँले भन्नुभयो – “कर्मचारी सङ्गठनले राजनीतिक दलको कार्यक्रममा झन्डा बोकेर सहभागी हुनु कानुन प्रतिकूल छ ।”

मन्त्री बुढाथोकीले जनताप्रति उत्तरदायी भई सेवा प्रवाह गर्न र निर्वाचनको कार्यलाई सहयोग पु¥याउन कर्मचारीलाई निर्देशन दिनुभयो ।

नेपाल सरकारका सचिव र विभागीय प्रमुखको समेत सहभागिता रहेको उक्त कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले अनुशासनहीन काम गर्नेलाई विभागीय कारबाही गर्न निर्देशन दिनुभयो ।

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले कार्यपत्र प्रस्तुत गर्दै निर्णय गर्दा आधार कारण उल्लेख नगरी निर्णय गर्ने प्रथा अन्त्य गर्ने तथा जवाफदेही बहन नगर्नेहरुबाट क्षतिपूर्ति भराउनेसमेत व्यवस्था गर्ने कुरामा जोड दिनुभयो ।

सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सरुवा, काज, अध्ययन बिदा कानुनसम्मत नभएकोतर्फ सचेत हुन सबैलाई ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया