कालिका नगरपालिकामा स्वागत तथा बिदाई कार्यक्रम

इनेप्लिज २०७३ चैत ११ गते १६:५३ मा प्रकाशित

रत्ननगर, ११ चैत्र, चितवन ।
पूर्वी चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजार व्यवस्थापन समितिको आयोजनामा आज शुक्रबार नगरपालिकामा आउनुभएका कार्यकारी अधिकृतको स्वागत तथा सरुवा भई जान लाग्नुभएका कार्यकारी अधिकृतको बिदाई कार्यक्रम गरिएको छ ।

कालिका नगरपालिकामा सरुवा भई आउनुभएका कार्यकारी अधिकृत रमेश सुवेदीको स्वागत तथा सरुवा भई जान लाग्नुभएका कार्यकारी अधिकृत पुष्पराज खनालको एक कार्यक्रमका बिच बिदाई गरिएको थियो ।

खोलेसिमल बजार व्यवस्थापन समितिद्वारा आयोजित सो कार्यक्रममा बिदाई हुनु भएका कार्यकारी अधिकृत खनालले स्थानीय नगरवासीको सहयोगको प्रशंसा गर्नुभएको थियो । नारायणी नगरपालिकाबाट सरुवा भई आउनुभएका कार्यकारी अधिकृत रमेश सुवेदीले स्थानीयको सहयोग र समन्वयमा कालिका नगरपालिकालाई चितवनकै नमूना नगरपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस नगरपालिकामा चेपाङ पैदल मार्ग, कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस नगरपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने सुवेदीले बताउनुभयो ।

खोलेसिमल बजार व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सुरक्षित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष द्रोण प्रसाद लामिछाने र इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि नारायण दत्त कंडेल, नेकपा एमालेका नगर प्रतिनिधि एवम् जिल्ला सचिवालय सदस्य बिनोद रेग्मी, माओवादी केन्द्रका पार्टी प्रतिनिधि रामध्वज डल्लाकोटी, सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष द्रोण प्रसाद लामिछाने, इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख नारायण रञ्जितकार, बजार व्यवस्थापन समितिका उपाध्यक्ष नर बहादुर जि.सी., सह–सचिव भीमदत्त कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले कालिका नगरपालिकालाई स्वच्छ, समृद्ध र व्यवस्थित नगरपालिका बनाई जिल्लाकै नमूना नगरपालिकाको रुपमा विकास गर्न आफुहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया