राप्रपाभित्र गलत कुरा छन्, सफाइ गर्छु : रेखा थापा

इनेप्लिज २०७३ चैत १२ गते ७:०५ मा प्रकाशित

काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापाले अहिले पनि आफूलाई माओवादीले उठाउँदै आएको जातीय नारा मन पर्ने गरेको बताएकी छिन् ।

राजधनीबाट प्रशारण हुने एक एफएम रेडियोलाई शुक्रबार बिहान अन्तर्वार्ता दिँदै रेखाले भनिन्, ‘माओवादी पार्टीले उठाएको जातीय नारा मलाई मन पर्छ । त्यो पार्टीमा मेरो केही विषयमा मिल्न सकेन । अनि पार्टी छाडे ।’ उनले आफूलाई पुष्पकमल दाहाल र अन्य नेताहरूले विश्वास गरेको दाबी गरिन् । आफूलाई पनि पुष्पकमल दाहाल मन पर्ने उनले उल्लेख गरिन् ।

आफू अबसर पाउनका लागि राजनीतिमा नलागेको दाबी गरेकी रेखाले भनिन्, ‘म माओवादीमा प्रवेश गर्दा पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, मैले कहिल्यै कुनै कुरा माग गरिन् । मलाई माओवादीले पर्साबाट उम्मेदवार पनि बनायो । माओवादीलाई अहिले पनि धन्यावाद दिन चाहन्छु ।’

आफूले राजनीति र फिल्म करियरलाई सँगसँगै अगाडि बढाउने बताइएन् । ‘म फिल्मबाट रिटार्यड भएको होइन । पार्टीलाई भन्दा फिल्मलाई समय दिन्छु’, उनले भनिन् ।

निर्वाचन आयोग घेराउ गर्ने बेला अनुपस्थित भएको बताएकी रेखाले भनिन्, ‘म फिल्मको काममा थिएँ । सोही कारण आन्दोलनमा गइन् । ढुङ्गा हानाहान हुन्छ भन्ने सोँचेकी थिइन । त्यस्तो झडप हुन्छ भन्ने थाहा पाएको भए जान्थे ।’

माओवादी पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेकी अभिनेत्री थापाले राप्रपाभित्र आफूले ‘सफाइ’ गर्ने बताइन् । उनले भनिन्, ‘फिल्म क्षेत्रका मैले धेरै सफाइ गरेको छु । राप्रपाभित्रका गलत कुराको सफाइ गर्छु । राप्रपामा मैले धेरै काम गर्नुछ ।’

प्रतिक्रिया