प्रेम प्रस्ताव आइरहन्छ, अहिले नै त्यता लाग्दिन : सञ्चिता ठकुरी

इनेप्लिज २०७३ चैत १२ गते ७:१२ मा प्रकाशित

काठमाडौं । कलालाई कर्मक्षेत्र बनाउँदै गरेकी नवकलाकार सञ्चिता ठकुरीले राम्रा गीतसंगीतमा अवसर पाउन थालेकी छिन् । मोडलिङमा प्रवेश गरेको सञ्चिताको धेरै समय भएको छैन । करिव ६ महिना अगाडिदेखि म्युजिक भिडियोमा डेब्यू गरेकी सञ्चिता भन्छिन्, ‘सानैदेखिको मेरो इच्छा पूरा हुने बाटोमा छ ।’

सानैदेखि कलाक्षेत्रमा लाग्ने उनको रहर थियो । ‘निरुता सिंह, सञ्चिता लुइँटेल जस्ता राम्रा नायिकाको अभिनय म लाई साह्रै मन पर्छ’, विगत सम्झिँदै सञ्चिताले भनिन्, ‘अहिले म आफै पनि कलाक्षेत्रमा संलग्न भएकी छु । छोटो समयभित्रै यति धेरै काम पाउँछु भनेर सोँचेकी पनि थिइन ।’ छोटो समयभित्रै उनले १८ वटा म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

मोडलिङमा सक्रिय भएपछि अलिक धेरै प्रेम प्रस्ताव आउने गरेको उनको अनुभव छ । भन्छिन्, ‘विवाह गर्नै पर्छ । अहिले नै मायाप्रेममा लागेर भविष्य नबिगारौँ भन्ने सोँचेकी छु । कलाक्षेत्रमा केही राम्रो गरौँ भनेर लागेकी हुँ ।’

सानै व्यानरका भए पनि सुरुवाती दिनम दुई वटा फिल्ममा सञ्चिताले खेल्ने मौका पाइसकेकी छिन् । ‘दीव्य पञ्चकोशी’ र ‘स्वर्णिम’ फिल्ममा खेलिसकेको उनले बताइन् । अरु राम्रा फिल्मका लागि पनि कुराकानी भइरहेको उनको भनाइ छ ।

सञ्चिताको परिवारमा कसैले पनि कलाक्षेत्रमा पाइला टेकेको छैन । तर, सञ्चितालाई घरपरिवारको ठूलो सहयोग छ । ‘मलाई घरपरिवारको सहयोग हुँदैन थियो भने यहाँसम्म आउन सक्ने थिएन’, उनले भनिन्, ‘कुनै पनि क्षेत्रमा सफलता पाउन घरपरिवारको ठूलो हात हुन्छ ।’

हुन त सञ्चिताका बुबा राजनीति गर्ने व्यक्ति हुन् । तपाईको बुबा राजनीति गर्नुहुँदो रहेछ, तपाईले किन राजनीति नगरेको भन्ने प्रश्नमा सञ्चिताले भनिन्, ‘बुबाको आफ्नो इच्छा हो । मेरो इच्छा राजनीतिभन्दा कलाक्षेत्रमा केही गुरु भन्ने छ ।’

 

दयाहाङ राई, पल शाहको अभिनय पनि सञ्चितालाई उत्तिकै मन पर्छ । अवसर मिल्यो भने राम्रा कलाकारहरूसँग काम गर्ने उनको इच्छा छ ।
सबै खालका गीतसंगीत सुन्ने गरेकी सञ्चिता अलिक भावुक छिन् । भन्छिन्, ‘गीतहरू सबै मन पर्छ । तर, भावनामा डुबेका मन छुने गीत अलि धेरै सुन्ने गर्छु ।’

सञ्चिताले ‘ढल्यो पिपल हुरी चलेर…’ बोलको गीतमा भरखरै मोडलिङ गरेकी छिन् । उनलाई यो गीतमा सन्तोष राना क्षत्रीले साथ दिएका छन् ।
मौसम गुरुङ र लक्ष्मी भुजेलको स्वरमा रहेको लोकदोहोरी गीतको लय र शब्द मन रोकामगरको हो । म्युजिक भिडियोको निर्देशन कुमार केसीले गरेका हुन् भने छायाँकन अजय रेग्मीको छ । भिडियोका सम्पादन अनुप शिवाकोटीले गरेका छन् ।

प्रतिक्रिया