‘भनौँ किन नभनौँ’ निबन्धमाथि अन्तरक्रिया

इनेप्लिज २०७३ चैत १९ गते १४:१० मा प्रकाशित

काठमाडौँ, १९ चैत । स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘भनौँ किन नभनौँ’ निबन्धमा अनुभूतिको गहिराई पाइने समालोचकहरुले बताएका छन् ।

तन्नेरी प्रकाशनद्वारा प्रकाशित सो निबन्ध कृतिमाथि ‘साराशं’ संस्थाले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले भाव र विषयको कल्पनाजन्य तरेलीमा निबन्ध तयार हुने भन्दै यसमा सामाजिक चेतना उत्तिकै हुनुपर्ने बताउनुभयो ।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङले निबन्ध निर्वन्ध विधा भएको जनाउँदै रोदनका निबन्धमा गम्भीरताभित्रको सरलता पाइने विचार राख्नुभयो ।

साहित्यकार डा अभि सुवेदीले ‘भनौँ किन नभनौँ’ मा काव्यात्मक संयोजन पाइएको टिप्पणी गर्नुभयो भने समालोचक राजेन्द्र पराजुलीले निबन्ध विकिरण चिन्तन हो भन्नुभयो ।

समालोचकहरु लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले साधारण र जटिल दुवै प्रकारका पाठकका लागि रोदनका निबन्ध पठनीय भएको भनाइ राख्नुभयो ।

कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र ‘साराशं’ का अध्यक्ष जय छ्याङ्छा राईले श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो ।

मधूपर्क साहित्यिक मासिकमा सम्पादक श्रेष्ठका यसअघि निबन्ध र नियात्राका आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । उहाँका लघुकथा र कविताकृति पनि छन् ।

प्रतिक्रिया