‘बेलायतका हजारौं कारमा अब नेपाली झण्डा’

इनेप्लिज २०७३ चैत २७ गते १०:१७ मा प्रकाशित

बेलायतमा बसेर विभिन्न पेशा व्यवसाय गरेर बसोबास गरिरहेका नेपालीहरुले सन २०१७ लाई ‘भिजिट नेपाल युरोप’ का रुपमा मनाउन लागेका छन् । नेपालको पर्यटन प्रबर्धनका लागि नेपालीहरु एकजुट भएर लागेका हुन् । सरकारले पनि बेलायतबाट आउने पर्यटकहरुलाई नेपाल भित्र्याउन पर्यटन प्रतिनिधिहरुमार्फत पहल थालिरहेको छ । बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिले पनि अभियानमा साथ दिँदै नेपालको पर्यटन प्रबर्धन गर्ने प्रतिवद्धता जनाएका छन् । यसै विषयमा बेलायतमा रहेर नेपालको पर्यटन प्रबद्र्धनमा विगतदेखिनै सक्रिय ‘एभरेष्ट इन’ गु्रपका अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारीसंग दैनिक नेपालले गरेको कुराकानीः

हजारौं कारमा स्टीकरसहित नेपाली झण्डा

युरोपियन पर्यटकहरुको खर्च गर्ने क्षमता बढी नै हुन्छ । उनीहरुलाई नेपाल कसरी भित्र्याउने भन्नेमा युरोपमा बसोबास गरिरहेका नेपालीहरुले आ–आफ्ना स्रोतहरु प्रयोग गरिरहेका छौं । सामाजिक अभियन्ता र व्यवसायी, पर्यटन प्रतिनिधिहरु यसमा लागिपरेका छौं ।

हामी अहिले युरोपभर विभिन्न देशमा कार्यक्रम गरिहेका छौं । सीमित साधन स्रोतले कसरी धेरैभन्दा धेरै प्रचार–प्रसार गर्न सकिन्छ भन्नेतर्फ हामीले ध्यान दिइरहेका छौं । बेलायतमा करिब डेढ लाख नेपाली छौं । प्रायः युरोपमा बस्ने सबै नेपालीसँग एक/दुई कार भइरहन्छन् । ती कार बेलायतका मुख्य/मुख्य ठाउँमा दौडिरहका हुन्छन् ।

हामीले नेपालको पर्यटन प्रबर्धनका लागि ती कार प्रयोग गर्ने प्रयास गरेका छौं । कारहरुमा नेपाली झण्डासहित नेपाली पर्यटन प्रबर्धनका लागि बनाइएको ‘भिजिट नेपाल’ नामको स्टिकर टाँस्छौं । यसरी पनि कम खर्चमा नेपालबारे धेरै प्रचारप्रसार गर्न सकिन्छ । भगवान गौतम बुद्ध जन्मेका देश, गोर्खालीहरुको देश, सगरमाथाको देश भनेर विभिन्न पर्चा पम्पलेटहरु पनि वितरण गरेर प्रचार प्रसारमा जुट्छौं ।

२ लाख युरोपियन पर्यटक ल्याउने लक्ष्य

नेपालमा भूकम्प भन्दा पहिले नेपालमा ८ लाख पर्यटकहरु भित्र्याइएको थियो । अहिले त्यो संख्या घटेर करिब साढे ७ लाखसम्म छ । हामीले यो वर्ष युरोपबाट मात्रै करिब २ लाख पर्यटकहरुलाई नेपाल भित्र्याउने लक्ष्य लिएका छौं । आशा गरौं यसको रिजल्ट २०१७ मै देख्न पाउने छौं । किनभन्दा हामीलाई दोस्रो पुस्ताका विद्यार्थीहरुले पनि सहयोग गरिरहेका छन् ।

विभिन्न युनिभर्सिटीहरुले पनि विद्यार्थीसहित नेपाल भ्रमण गर्ने बचन दिएका छन् । दोस्रो पुस्ताका नेपालीहरु आएपनि एउटा युरोपियनले गर्ने खर्च भन्दा कम हुँदैन । व्यक्तिगत र संस्थागत प्रयासहरु हामीले गरिरहेका छौं । युरोपभर छरिएर रहेका दोस्रो पुस्ताका नेपालीका बच्चाबच्ची, विभिन्न युनिभर्सिटीका विद्यार्थीलाई नेपाल भिजिट गराउने काममा पनि लागिरहेका छौं ।

पेशा व्यवसाय पनि पर्यटन प्रबर्धनको माध्यम

बेलायतमा मात्रै नभई युरोपमा छरिएर रहेका नेपालीहरुले विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रबर्धनमा टेवा पु¥याइराख्नुभएको छ । बेलायतमा रहेका करिब अढाई सय नेपाली रेष्टुरेन्टले कम्तीमा आफ्नो रेष्टुरेन्टमा आउने ग्राहकलाई नेपाल घुम्न जान प्रेरित गरेर पर्यटन प्रबर्धनमा योगदान पु¥याइरहेका छन् ।

बेलायतलगायत युरोपमा नेपाली परिकारका पारखी छन् । बलिउड र हलिउडका कलाकारहरु पनि नेपाली खाना खान नेपाली रेष्टुरेन्टमा आउने गरेका छन् । हामीले विभिन्न किसिमका परिकारहरु हामीले पस्किरहेका छौं ।

गर्वको कुरा हो, बेलायतकै एक मन्त्रीले हाम्रै ‘एभरेष्ट इन’ रेष्टुरेन्टमै आएर सेफलाई अनुरोध गरी आफै खाना पकाएर पनि खानु भएको छ । जुन कुरा बेलायती मिडियामा छ्यापछ्याप्ती आएको थियो । जसले नेपाली खानाको प्रबद्र्धनमा अझ बल पुगेको छ ।

हामीले ‘एभरेष्ट इन’ रेष्टुरेन्टका विभिन्न शाखाहरुमार्फत पनि नेपाली परिकाररु पस्किरहेका छौं । विभिन्न माध्यमबाट नेपाली पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरिरहेका छौं । यसरीनै पर्यटक संख्या अझ वृद्धि गर्न सकिन्छ भन्नेमा विश्वस्त छौं ।

के के हुँदैछन् युरोपमा ?

नेपालको पर्यटन प्रवद्र्धनका लागि हामी कुनै पनि कसर बाँकी नराख्ने कोशिस गरिरहेका छौं । ‘भिजिट नेपाल युरोप २०१७’ अन्तर्गत नेपाली नयाँ वर्षमा सांस्कृतिक कार्यक्रम, बुद्ध जयन्ती, एभरेष्ट डे, फोटो प्रदर्शनी र वर्कसप, संगीत महोत्सव, वर्ल्ड कल्चर डे मनाउने छौं ।

त्यसैगरि विभिन्न मेलामा पनि सहभागिता जनाउँदै छौं । बेलायतका नेपालीसमक्ष विदेशी पर्यटकलाई नेपाल घुम्न सुरक्षित रहेको सन्देश प्रवाह गर्न लागिरहेका छौं ।

सन २०१७ को लागि तय गरिएको नेपाल भ्रमण वर्ष २०१७ यूरोप कार्यक्रम र सन २०१८ मा आयोजना गरिने नेपाल भ्रमण वर्षलाई समेत मध्येनजर गर्दै युरोपका विभिन्न देशका पर्यटन प्रतिनिधिहरुले आफ्ना योजना र कार्यक्रमहरु गर्दै आइरहनुभएको छ ।

हामीले नेपाल बारे थाहा नभएका ठाउँहरुमा नेपालको पर्यटकीय क्षेत्र, कलासंस्कृति लगायतका बारेमा जानकारी दिइरहेका छौं । त्यसको प्रतिफल देखिन थालिसकेको छ ।

नेपाल सरकारको भूमिका

धेरै नेपालीहरु खाली हात बिदेश गएका छन् । तर, अवसर पाएर उनीहरु बिदेशमै बसिरहेका हुन्छन् । पेशा व्यवसाय पनि उतै सुरु गरेका छन् । त्यस्ता नेपालीहरुलाई नेपालमै बसेर केही गर्ने वातावरण बनाउने काम भनेको सरकारको हो । उनीहरुलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन सरकारले पहल थाल्नुपर्छ ।

बिदेशमै व्यापार व्यवसाय गरिरहेकाहरुबाट पनि सरकारले फाइदा लिन सक्नुपर्छ । उनीहरुमार्फत नेपाली पर्यटनको प्रबद्र्धन गर्न लगाएर विदेशी पर्यटकलाई नेपाल भित्र्याउन सक्नुपर्छ । जसले समृद्ध नेपाल बनाउन सकिन्छ । त्यतातिर सरकारले ध्यान दिन जरुरी छ ।

त्यस्तै, ‘अतिथि देव, भव’ को नारालाई आत्मासाथ गरेर पर्यटकको स्वागत गर्ने वातावरण बनाउन पनि सबैभन्दा महत्पूर्ण काम हो । नेपालमा बिदेशी पर्यटकहरुलाई स्वागत कसरी गर्ने भन्ने समेत थाहा छैन । पर्यटकहरु विमानस्थलमा ओर्लने वित्तिकै स्वागतयोग्य वातावरण हुनुपर्छ । त्यहाँ बसेकाहरु कर्मचारीले राष्ट्रियतालाई ख्याल गर्दै सभ्य भाषा प्रयोग गरेर उनीहरुलाई स्वागत गर्ने बानीको विकास गर्नु सिक्नुपर्छ ।

केही नभएपनि टुरिजम क्षेत्रमा पढिरहेका विद्याथीहरुलाई पोशाकमै त्यस्तो काममा लगाउन सकिन्छ । उनीहरुका लागि पनि त्यो अनुभवन हुन्छ । मुसुक्क हाँसेपनि पुग्छ । लामो दुरीको यात्राबाट आएका बिदेशी पर्यटकहरुलाई थकाई लागेको हुन्छ । आराम गर्ने उचित ठाउँ समेत बनाउनुपर्छ । यहाँ बाथरुम पनि सफा नभएको स्थिति छ । देश बाहिर गएर बसेका नेपालहरुलाई कसरी स्वागत गर्ने र नेपालमै लगानी गर्न उत्प्रेरित गर्ने भन्ने तर्फ अब सरकारले सोच्नुपर्छ । नेपालीहरुलाई नेपालमै आएर केही गरौं भन्ने भावनाको विकास गर्न पनि अनिवार्य छ ।

व्यवस्थित होटल–रेष्टुरेन्ट

हाम्रो जतासुकै पनि होटल, रेष्टुरेन्टहरु छन्, व्यवस्थित बनाउन सकिएका छैनन् । पर्यटकहरुलाई एउटा राम्रो स्थानमा बसौं भने पनि यहाँ त्यस्तो वातावरण छैन । होटलमा खाना खाऔं भने त्यही खानाले विरामी हुने स्थिति पनि नेपालमा छ । सबैभन्दा पहिले त्यसमा सुधार गर्न सक्नुपर्छ ।

होटल रेष्टुरेन्टहरुको अनुगमन तथा नियमन हुन सकिरहेको छैन । जहाँ पनि होटल, रेष्टुरेन्ट खोल्न दिइएको छ । यसलाई पनि व्यवस्थित गर्न लाग्नुपर्छ । सबै नेपाल सरकार, नागरिक समाज लगायत सबै क्षेत्रले यस विषयमा गम्भीर बन्नुपर्छ । यसपछि मात्रै बढी भन्दा बढी पर्यटकहरुलाई भित्र्याउन सकिन्छ भने यस कार्यमा संयोजनको भूमिका निर्वाह गर्न बिदेशमा पर्यटन प्रबद्र्धनमा जुटेका हामी जस्ता नेपालहरुलाई पनि सहज बन्छ ।

प्रतिक्रिया