भोजपुरे गायक दीपकको डेब्यु एल्बम ‘तिमीलाई नै’

इनेप्लिज २०७३ चैत ३० गते ८:५३ मा प्रकाशित

काठमाडौं । भोजपुरे गायक दीपक राईले डेब्यु एल्बम ‘तिमीलाई नै’ श्रोतामाझ ल्याएका छन् । वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानले राईको एल्बम सार्वजनिक गरे । उनले गायकको एल्बम नयाँ भए पनि आम श्रोताका लागि भने उनको स्वरमा नयाँपन नपाइने बताए ।

भी रेकर्डसले बजारमा ल्याएको एल्बममा गायककै शब्द तथा संगीत छ । एल्बममा ‘तिमीलाई नै’, ‘तिमी त साथी’, ‘तिमीले बोलेको बात’, ‘कहाँ मैले गल्ती’ र ‘रात’ बोलका गरी ५ वटा गीत छन् । गायकका अनुसार एल्बम आधुनिक, सेन्टिमेन्टल फ्लेबरका गीत छन् ।

२०५८ सालमा भोजपुरमा भएको ‘भोजपुर आइडल’का विजेता दीपक सानैदेखि संगीतमा रुची राख्ने भए पनि उनी ‘भोजपुर आइडल’ भएपछि सबैमाझ चिनिएका हुन् । दीपकले काठमाडौंमा रहँदा डाक्टर किराँतलगायतका संगीतकारबाट संगीत प्रशिक्षण लिएका छन् ।

एल्बममा रहेको ‘तिमीलाई नै’ र ‘तिमी त साथी’ बोलको गीतको भिडियो पनि बनेको छ । पहिलो गीतको भिडियोमा सुशिल काफ्ले र सम्पदा बानियाँको अभिनय छ भने निर्देशक सुशील आफैले गरेका छन् ।

दोस्रो गीतमा दीपेन्द्र राई ‘कुलदीप’को छायांकन छ । यो गीतमा गायक दीपकसँगै बिना राई, अञ्जली माझी, मनिकुमार राईलगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया