धेरै नयाँ बर्षहरु आए, गए

इनेप्लिज २०७४ वैशाख ३ गते १२:२५ मा प्रकाशित

धेरै नयाँ बर्षहरु आए, गए
थाहै नपाई पार गरेँ
हार र जीतको लुकामारी खेलमा
आँफैलाई धेरै ठाउँमा तौलिएँ
पाउनु र गुमाउनुको नियतिमा
गुमाउनुको पिडा भन्दा
जती पाएँ त्यसैमा खुशीयाली मनाएँ
जीवनका यात्राहरुले नयाँ मोडहरु भेट्टाएर
रहरहरु उर्लिदैँ गर्दा
वसन्तको मीठो स्पर्शमा तृप्‍तिको प्याला
जानी नजानी खुलेरै पिएँ
पिउनुको मजामा ब्यथाहरु नसामै बिर्सिएँ
उमगँ र उत्साहको दोभानमा
कहिले नसकिने , कहिले नजोखिने
जीवनका मुर्त अमुर्त रङहरुलाई आजीवन अगाँल्दै
सागरसम्म पुग्न नदी भई बग्दै छु म आज… तर फेरी नयाँ वर्ष आयो अर्को,
नयाँ बर्षले त्यस्तो आमुल परिवर्तन ल्याओस्
जहाँ हर घर धुरीको अगेनामा आगो बलोस्
जनजागरणमा बिकासका मुलहरु फुटोस्
मिलिजुली शान्ती र एकताको छाता मुनि
नेपालको झण्डा अनि सार्वभौमसत्ता
बुद्ध जन्मेको देश , सगरमाथाको परिचयमा
नेपाल र नेपाली अनादी सम्म बाँचिरहोस् कामना यत्ति गरेँ ।

 

प्रतिक्रिया