गाउँ घरमा कतै मादल फुटुङ टुङ गर्यो कि म घरबाट बेपत्ता भैहाल्थेँ !

इनेप्लिज २०७४ वैशाख ३ गते १५:१३ मा प्रकाशित

गुल्मी धरम्पानी मैनडाँडामा जन्मिएको भएर होला म बालक अवस्था देखी नै गीत गाउँथें रे – मेरी आमा त्यसै भन्नुहुन्छ । म २ कक्षामा पढ्दा अर्थात ७ बर्ष पुगेर ८ बर्ष लाग्न थाले देखी हालसम्मका सबैकुरा सम्झिन्छु र मेरो मानसपटलमा ताजै छन् । हुन पनि गाउँ घरमा कतै मादल फुटुङ टुङ गर्यो कि म घरबाट लुकेर, भागेर, आमाका आँखा छलेर त्यहाँ पुगी हाल्थेँ । मारुनी, लाखे, कालिका, झ्याउरे, रोधी, तीजका गीत, नाटक, कुनै कार्यक्रम छुट्दैनथे । मेरी आमा र मेरो दाजु लाई सधैंको चिन्ता त्यो के भने बाउनको छोरो भएर नाच गान तिर म लाग्यो भन्ने । त्यतिबेला कस्तो भ्रम थियो भने नाच गान त मतला जातिले मात्रै गर्ने चिज हो । आमा भन्नुहुन्थ्यो तैंले – आमा बाउको इज्जत फाल्ने भईस यो नाच गान मा लागेर ।

पाँच दशकको छेउछाउ आईपुग्दासम्म हालसम्ममा मैले १२ सय गीत लेखेँछु, गाएँछु, ४१ वटा एल्बम नै प्रकाशित भएर बजारमा अाईसकेछन् । लोकगीत,दोहोरी गीत, राष्ट्रिय र आधुनिक गीत समेत लेखेको, संगीतवद्ध गरेको, गाएको र म जन्मिएको गुल्मीको माटो लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको एक प्रखर खानी भएर होला मलाई रेडियो नेपाल पुग्न, नेपाल टेलिभिजन पुग्न ४१ वटा एल्बम निकाल्दा, १२ सय गीत गाउँदा सम्मको अवस्थामा आउँदासम्म होस् वा लोकगीत, संगीत, कला, संस्कृति र दोहोरी गीतका लागि नेपाल अधिराज्यभर अभियान छेड्ने क्रममा ठुला अप्ठ्यारा जटिल मोड आए पनि म सँग हारिरहे । गुल्मीको माटोले मलाई मजबुत ढंगले स्थापित गराएको भएर होला म आफुलऐकहिलैइ कमजोर ठानिन ।

प्रथम पटक रेडियो नेपालमा स्वर परीक्षा पास गर्दा र पहिलो पटक रेडियो नेपालबाट मेरो गीत बज्दाको क्षण कसरी ब्याख्या गर्न सक्छु र म ? ओहो ! त्यो दिन संसारै जितेको जस्तो भान भएको थियो । तर संघर्ष गर्दा गर्दा पछि बल्ल थाहा पाएँ मैले अझ धेरै गर्न बाँकी रहेछ र अझै पनि बाँकी छ । यद्यपी रेडियो नेपालबाट प्रारम्भिक श्रेणीमा स्वर परीक्षा पास गरी घ, ग, ख, क श्रेणी हुँदै “बिशिष्ट श्रेणी” मा नेपालका बहुत थोरै औंलामा गन्न सकिने गायक/ कलाकारहरु मा आफ्नो नाम पनि दर्ज भएको देख्न पाउनु पक्कै खुशीको कुरा हो ।

नेपाल सरकारको तर्फबाट रेडियो नेपालले लिने स्वर परीक्षा स्तर निर्धारण नै आजसम्मपनि रहँदै आएको नेपाल सरकारको परीक्षा हो । यस बाहेक नेपाल टेलिभिजनबाट पनि भ्वाईस टेष्ट/स्क्रिन टेष्ट पास गरेर बिशिष्ट श्रेणीको गायक बन्नु/लोकदोहोरी क्षेत्रको अभियन्ता बन्नु म जस्तो एक गुल्मेली गाउँले केटाको लागि चानचुने कुरा थिएन । कठिन संघर्ष गर्दै गएँ, सफलता पनि हात पार्दै गईयो । रेडियो नेपालमा बजियो, नेपाल टेलिभिजनमा प्रसारित पनि भईयो । पछि दुवै संस्थामा महत्वपूर्ण जिम्मेवारी पनि वहन गरें । केहि समय रेडियो नेपालमा कार्यक्रम निर्माता, निर्देशक एवं सञ्चालक भएर रहेंभने नेपाल टेलिभिजनमा ब्यबस्थापन हेर्ने गरी टेलिभिजनकै संचालकको रुपमा जिम्मेवारी बहन पनि गरियो ।

मैले नेपाल टेलिभिजनमा रहँदा बिभिन्न खाले कार्यक्रम सञ्चालन गर्ने, निर्माण निर्देशन गर्ने मात्र गरिन टेलिभिजनकै व्यवस्थापन हेर्ने सञ्चालकका रुपमा सरकारले दिएको जिम्मेवारी पनि कुशलतापर्वक वहन गरें । मेरै कार्यकालमा नेपाल टेलिभिजनमा कैयौं सुधार कार्यहरु भए जसका कारण म नेपाल टेलिभिजन छाडेर बाहिर आएपछि पनि नेपाल टेलिभिजन परिवारले मलाई सधैं सम्झिने गर्नुहुन्छ र त्यसमा म सन्तुस्टी महशुस गर्ने गरेको छु ।

बिशेष गरेर नेपालमा लोकगीत, दोहोरी गीत, संगीत, लोक संस्कृतिका लागि, रेडियो नेपाल र त्यहाँ कार्यरत हाम्रा अग्रजहरुले महत्वपूर्ण भूमीका निर्वाह गरेपनि म नेपाल टेलिभिजन प्रवेश नगर्दासम्म नेपाल टेलिभिजनले लोकगीत, दोहोरी गीत, संगीत एवं सांस्कृतिक पक्षलाई त्यति धेरै महत्व दिएको देखिंदैनथ्यो । जब म नेपाल टेलिभिजनमा प्रवेश गरें त्यसैबेला लोकगीत प्रवेश गर्यो, दोहोरी गीत प्रबेश गर्यो, तीजको बेला तीजको गीत प्रवेश गर्यो, तिहारका बेला देउसी भैलोका गीतहरु प्रवेश गरे । मैले नेपाल टेलिभिजनको व्यवस्थापनमा आफू गए पछि होस वा जानुभन्दा अगाडि होस व्यवस्थापन टिमसँग एक प्रकारको विश्वास कायम गरेर नेपाल टेलिभिजनलाई अगाडि बढाउन कुनै कसर बाँकी राखिन, सो बारेमा मैले भन्दापनि नेपाल टेलिभिजनका दर्शकहरुले मुल्यांकन गर्नुभएकै छ होला ।

पप र र्यापले जकडिएको नेपाल टेलिभिजन म गएको एक बर्षभित्रै आमुल रुपमा परिवर्तन मात्र भएन दर्शक सर्वेक्षणमा सांगीतिक कार्यक्रमहरुतर्फ मेरै कार्यक्रम “लोक दोहोरी” लगातार सात बर्षसम्म एक नम्वरमा पर्न सफल भै पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म एक प्रकारको नयाँ माहौल/रौनक सिर्जना भयो । पश्चिमेली गीत पूर्वियाले नगाउने, नसुन्ने, पूर्वेली गीत पश्चिमेले नगाउने नसुन्ने चलनलाई तोड्न म पूर्व मेचिदेखि पश्चिम महाकाली सम्मको दौडाहा, प्रत्यक्ष रेकर्डिङ्ग/प्रत्यक्ष प्रसारण गर्नुका साथै आफ्नो वर्कतले भ्याएसम्म लगातार गरिरहें ।

मेरो त्यही अभियानसँगै नेपालमा मेरै प्रयासमा प्रदर्शनी, महोत्सव अभियानपनि छेँडियो । मलाई निम्तो गर्ने हरेक जिल्ला, नगरका आयोजकहरुलाई म भन्थें – तपाईँहरु प्रदर्शनी/महोत्सव आयोजना गर्नुस्, लोकगीत, दोहोरीगीत, हाँस्यव्यंग्य, ठाउँ र क्षेत्र अनुसार साँस्कृतिक कार्यक्रम गरौं । आफ्नो कला संस्कृतिको पहिचान पनि हुने, दर्शक श्रोतालाई मनोरञ्जन पनि हुने, आयोजकलाई खर्च धान्नपनि सजिलो पर्ने, कलाकारहरुपनि बाँच्ने, समग्रमा यसले सबैलाई फाईदा पुग्छ । नभन्दै नेपाल अधिराज्यभर यसै गरियो । हामीले शुरु गरेको अभियान करिब २० बर्ष हुनलाग्दा पनि अहिले पनि त्यत्तिकै आकर्षक अभियान बनेको छ, पटक्कै पुरानो भएको छैन । यसकै फलस्वरुप आज देशभर प्रदर्शनी/महोत्सव मेला आयोजना भईरहेका छन् । कलाकार बाँचेका छन्, दर्शक श्रोताले मनोरन्जन पाएकाछन्, आयोजकले यसै कारण हुने आम्दानीको हिसाब किताब गर्दै औंला भाँचेका छन् । समग्र कला संस्कृति बाँचेको छ, सबैलाई फाईदा पुगेको छ भन्ने मलाई लाग्छ ।

देशमा सिर्जित बिषम परिस्थीती, लाखौं लाख यूवाहरुको विदेश पलायनसँगै म पनि २०६४ सालदेखि अमेरिकामा बस्न थालें । ९ बर्षअघि म अमेरिका आउँदा न यहाँ तीज आएको थाहा हुन्थ्यो न त दशैं न त तिहार । न त अन्य कुनै चाडवाड । नेपाली क्यालेन्डर मुश्किलले भेटिन्थ्यो । तर म आएको बर्षदेखि मेरै नेतृत्वमा अमेरिकामा हामिले तीज पर्वमा तीज महोत्सव, दशैंमा साँस्कृतिक कार्यक्रम, तिहारमा देउसी भैलो, नेपाली चाडवाड अनुसार नेपाली क्यालेन्डर अनुसार हामीले यहाँपनि नेपालमा जस्तै साँस्कृतिक अभियानहरु शुरु गर्यौँ । अमेरिकाका बिभिन्न राज्य, शहर जहाँ जहाँ नेपाली बस्छन् सबैतिर कहिले म एकल शो लिएर पुगें, कहिले सामुहिक कार्यक्रम लिएर पुगें । अमेरिकामा स्थापित नेपाली संघ संस्थाका बार्षिक भेला/सम्मेलन देखि पिकनिक सम्म हामी पहुँच बढाउँदै गयौं । आज अमेरिकामा नेपालमा जस्तै वातावरण बनेकोछ, साँस्कृतिक माहौल पैदा भएको छ । अमेरिका र क्यानाडा मात्र होईन संसारका ३४ देशमा पुगेर हामीले यसै प्रकारले कला,संस्कृति साहित्य,गीत संगीतको माहौल बनाउँदै अगाडी बढीरहेका छौं र नेपाल बाहिर पनि हामीले नेपाल स्थापना गरेको आभास दिएका छौं ।

म अमेरिका आएकै बर्ष अमेरिकी सरकारको नियम कानुनको दायराभित्र रहेर हामीले अन्तर्राष्ट्रिय कलाकार मञ्च (www.iafamerica.com) स्थापना गरि कला, संस्कृति, गीत, संगीत, साहित्यलाई टेवा दिन जुन अभियान शुरु गर्यौं आज अन्तर्राष्ट्रिय कलाकार मञ्च संसारका ३२ देशहरुमा आफ्नो सञ्जाल बनाएर कृयाशिल रुपले लागिरहको छ । यो नै नेपाल बाहिर चलिरहेको र पहिलो नेपालीले नेतृत्व गरेको कलाकारहरुको अन्तर्राष्ट्रिय संस्था थियो त्यो बेला ।

हामीले स्थानिय रुपमा अरु संस्थाहरु पनि जन्माउँदै, सहयोग गर्दै, मिलेर अगाडि बढ्दै गयौं । जस्तो कि अमेरिकामा “नेपाली अमेरिकन कलाकार संघ” जन्मियो । हाम्रो मञ्चका उपाध्यक्ष यम बरालकै अध्यक्षतामा यो संघ शुरु भयो । त्यस्तै अन्यत्र अरु सँग मिलेर काम गर्ने, कला, संस्कृति, गीत, संगीत, साहित्यका लागि काम गर्ने काम गर्यो अन्तर्राष्ट्रिय कलाकार मञ्चले । यो विशुद्ध सामाजिक, सांस्कृतिक, मुनाफा रहित संस्था हो र सोही अनुसार काम गर्दै अगाडि बढिरहेको छ र बढिरहनेछ ।

यति राम्रा कुरा हुँदाहुँदै पनि अहिले पछिल्लो समयमा आएर नेपाल बाहिर अमेरिकामा होस् वा अन्य देशमा होस् यहाँ पनि नेपालको फोहोरी राजनीतिको प्रभावले समाज विभाजित हुन थाल्नु, “नेपाल र नेपाली ”भन्ने भावनाको सट्टा राजनीतिक पार्टी र तिनका भातृसंस्था,जातिय संघ संस्था आदि आदि कुराले गीत, संगीत, साहित्य, कला र संस्कृतिलाई पनि केही वाधा पुग्न थालेको देखिएको छ । यसका अलावा छाडा संस्कृति, गीत, संगीत, कलाले पनि चाहिने भन्दा बढि स्थान लिईदिंदा झन् दुखद अवस्था सिर्जना हुन थालेका छन् देश बाहिर पनि । यी सबै कुरालाई दर्शक, श्रोता, कलाकार, हामी सबैले गंभीरतापूर्वक मनन गर्न सक्नुपर्दछ र यसका नराम्रा पक्षहरुलाई निरुत्साहित गर्दै राम्रा पक्षलाई अँगाल्न सकियो भने अवश्य हाम्रो नेपाली पहिचान बचाउन सकिनेछ । नेपाली संस्कृति, कला, गीत, संगीत, साहित्य बचाउन सकिनेछ । यसका लागि हामी सबैमा चेत आउनु जरुरी भैसकेको छ ।

देश बाहिर अमेरिका होस् वा अन्य देशमा होस् जता बसेपनि हामीले हाम्रो कला संस्कृति, भाषा, साहित्य, गीत, संगीतलाई भुल्यौं भने हाम्रा सन्ततिले भोली हामीलाई पनि भुल्ने छन् । हाम्रा सन्तति र आफन्तजन वीचको पारस्परिक सम्वन्धको डोरी पनि चुँडिन सक्नेछ । हाम्रो पुस्तासँगै हामीले सबैकुरा गुमाउनुपर्ने पीडादायी अवस्था सिर्जना हुनसक्ने भएकोले यस बिषयमा हामी सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

हामीले नेपाली संस्कृतिको जगेर्नाका लागि निम्नानसारका कुराहरु गर्न वान्छनिय छ:

१) घरमा छोराछोरीसँग बोल्दा नेपालीमा बोल्ने ।
२) घरमा फुर्सदको बेला नेपाली चलचित्र/ म्यूजिक भिडियोहरु/ दकुमेन्ट्री सपरिवार हेर्ने ।
३) नेपाली गीत संगीत सुन्ने /सुनाउने ।
४) नेपाली कार्यक्रममा सहभागी हुने ।
५) नेपाली समुदायसँग आतेजाते गर्ने वा सम्पर्क बढाउने ।
६) नेपाली चाडवाड/रिती रिवाज मान्ने मनाउने ।
७) नेपाली मिडियाहरु पत्रपत्रिका/अनलाईन पनि हेर्ने/हेर्न लगाउने ।
८) नेपाली कला, संस्कृतीको महत्व एवं विविध पक्षका वारेमा छोराछोरी बाबुआमा सँगै बसेर छलफल गर्ने वा गर्न लगाउने ।
९) सकेसम्म छिटो छिटो नेपाल जाने, आफन्तजन भेट्न लगाउने, बोलाउने, नेपाली
पोशाक लगाउने ।
१०) नेपाली कला, संस्कृति, गीत, संगीत, साहित्य यावत पक्षहरुका बारेमा छोराछोरीसँग कुराकानी गर्ने/गराउने । चाडवाड रिती रिवाजको बैज्ञानिक ढंगवाट व्याख्या गर्ने, गराउने, पारिवारिक सामुदायिक वहस गर्ने/गराउने ।

माथि उल्लेखित १० बुँदा मात्र मनन गर्न सक्यौं भने हाम्रो कला, संस्कृति, समाज, आफ्नोपन लगायत हर कुरामा टेवा पुग्नेछ, मौलिकता बाँच्नेछ । छोराछोरी र बाबु आमाको त्यसैगरि देश बाहिर हुने र देशभित्र हुनेको दुरी बढ्न पाउने छैन ।

अन्तमा सम्पूर्ण देश बिदेशमा छरिएर रहेका नेपालीहरुमा लोकगीत, दोहोरी गीत, कला, संस्कृति, मौलिकपन बचाई राखौं भन्ने सन्देश दिन चाहन्छु । धन्यवाद ।

 

नोट : लेखक खनाल अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज वाशिंगटन डिसीका अध्यक्ष र नेपाल मदर डट कमका प्रधान सम्पादक पनि हुनुहुन्छ – सम्पादक ।

प्रतिक्रिया