प्रचण्ड भित्ते राष्ट्रपति भएजस्तै मोर्चाको आन्दोलन पनि कागजमै सिमित हुन्छ : खनाल

इनेप्लिज २०७४ वैशाख ३ गते २०:०६ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । उनले मोर्चाले चुनाव बहिष्कार गरेर आफूलाई लोकतान्त्रिक मुल्य र मान्यताबाट अलग गराउन खोजेको समेत आरोप लगाए। खनालले घाम र जुन रहेसम्म आफ्नो पार्टीले राष्ट्रिय हित विपरितको संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित गराउन नदिने उद्धघोष समेत गरे । मोर्चाले अहिले निर्वाचन बहिष्कार गरेर आन्दोलन नै घोषणा गरिसकेको छ, यस्तो अवस्थामा अब चुनाव हुन्छ कि हुँदैन ? स्वयम सत्तारुढ दलहरुवीच पनि मत विभाजित बनेको छ । प्रमुख प्रतिपक्षी दलको नाताले एमालेले मधेशको माँग सम्बोधन गर्न त्यति गम्भिरता नदेखाएको हो कि भन्ने जनगुनासो पनि बजारमा व्याप्त छ । यीनै विषयमा केन्द्रित रहेर पत्रकार ऋषि धमलाले बरिष्ठ नेता खनालसँग गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचनको मिति सर्ने अवस्था छ कि छैन ?

म चुनाव सर्ने कुनै संभावना देख्दिन् । चुनाव कथम कदाचित सारियो भने त्यो अत्यन्तै ठूलो दुर्भाग्य हुनेछ । सम्पूर्ण नेपाली जनताले यसको विरोध गर्नेछन् । र, राष्ट्र यसको विरोधमा उत्रन्छ ।

तर सबैभन्दा ठूलो दल काँग्रेसले त मधेशी मोर्चालाई सहभागी नगराई चुनाव गर्नुहुँदैन भनेर भनिसक्यो नि, अब एमालेले के गर्छ ?

तपाईले भनेको गीत नेपाली काँग्रेसले धेरै अगाडिदेखि गाउँदै आएको हो । त्यो गीतको अर्थ, आवश्कत्ता र औचित्य समाप्त भैसकेको छ । त्यसकारणले निर्वाचनको जुन तिथि मिति घोषणा भएको छ, अब त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्छ । सबै पार्टीहरु त्यसमा संलग्न हुनुपर्छ । मधेशी मोर्चापनि त्यसमा संलग्न हुनुपर्छ । मोर्चाले पनि लोकतन्त्रमा प्रवेश गरेर आफ्नो औचित्य सावित गर्न सक्नुपर्छ ।

मोर्चा र संघीय गठबन्धनले त आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिसक्यो नि, यसलाई एमालेले कसरी लिएको छ त ?

नेपालको संविधान घोषणा भैसकेको छ । यो तीन करोड नेपाली जनताहरुको संविधान हो । यो हिमाल, पहाड तराई सम्पूर्ण क्षेत्रका जनताका संविधान हो । यो संविधान कार्यान्वयन हुन्छ । संविधान कार्यान्वयन गर्ने कुरा यदि कसैले विथोल्न खोज्छ भने त्यो शान्ति, सुरक्षा तथा अमनचयनको कुरा हुन्छ । त्यो राज्यले ध्यान दिनुपर्छ ।

मोर्चाले आन्दोलन घोषणा गरिसक्दापनि एमालेले मधेशमा चुनावको वातावरण देखेको हो र ?

हामीले अहिलेसम्म मधेशी मोर्चालाई एउटा लोकतान्त्रिक शक्तिको रुपमा मुल्यांकन गर्दै आएका छौं । ०६२/६३ को जनक्रान्तिमा मधेशी मोर्चाको पनि संलग्नता रहेको थियो । लोकतन्त्रको बाटोमा ती पार्टीहरु हिँड्छन कि हिँड्दैनन ? लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई उनीहरुले स्विकार गर्छन कि गर्दैनन् ? जनताको अभिमतलाई मान्छन् कि मान्दैनन् ? अब तीनीहरुको परिक्षाको घडी आएको छ ।

तर मधेशी मोर्चाको माँग सम्बोधन गर्न एमाले लचिलो बन्नुपर्दैन र ?

हामीले तराई मधेशका जनताका सम्पूर्ण र आधारभुत माँगहरु पूर्ति गरिसकेका छौं । खासगरी भन्नुहुन्छ भने यो संविधानले ती माँगहरु पूर्ति गरिसकेको छ । अब जनताका हकअधिकार खोस्ने अधिकार कसैलाईपनि छैन । सम्पूर्ण गाउँपालिका, नगरपालिकाहरुले जसरी देशको राष्ट्रपति निर्वाचित गर्ने हक यो संविधानले दिईसकेको छ । मधेशी मोर्चा त्यो हक खोस्न चाहन्छ । हामी अब त्यो हक खोस्न दिँदैनौं । मधेशका जनताले पनि स्वयम त्यो अधिकार अब खोस्न दिँदैनन् । त्यसो हुनाले यस्तो मागहरु राखेर आन्दोलन गर्नुको कुनै औचित्य छैन । आन्दोलनको आवश्यक छैन । म मधेशी मोर्चाका नेताहरुलाई भन्न चाहन्छु–तपाईहरु पनि लामो समयदेखि काम गर्दै आउनुभएको छ, जनताका वीचमा जानुहोस् । निर्वाचनको तयारी गर्नुहोस् । निर्वाचनलाई सहज तुल्याउनुहोस । यसरीमात्रै हामी सहकार्य गर्दै अघि बढ्न सक्छौं ।

मोर्चाको माँग सम्बोधन गर्नको लागि एमालेले अहिलेसम्म कुनै पहल नै गरेन भनेर आरोपहरु लगाईएको छ नि ?

हामीले आँफै सरकारमा हुँदापनि मोर्चासँग ३६ पटक भनेको तीन दर्जन पटक छलफल गरेका छौं । र, अहिलेपनि हामी प्रतिपक्षमा हुँदापनि हामी ती साथीहरुसँग वार्ता गर्न जहिलेपनि तयार छौं । तर संविधानका मर्म र भावनाहरुलाई तोडमरोड गर्न, राष्ट्रिय हितलाई तलमाथि गर्न, नेकपा एमाले कहिल्यैपनि घाम जुन रहेसम्म तयार हुनेछैन भन्ने कुरा बुझ्नुपर्छ ।

उसो भए चुनाव नभएसम्म एमाले संविधान संशोधनको पक्षमा जाँदैन ?

संविधान संशोधनको पक्षमा जाँदैनौं । यो कुरा यहाँले ठीक भन्नुभयो । हामी अब स्थानीय निकायको निर्वाचनमा होमिएका छौं । सिँगो राष्ट्र र जनता यतिवेला निर्वाचनको तयारीमा जुटिसकेका छन् । यो निर्वाचन हुन्छ । कसैले, कसैले कसैलेपनि निर्वाचन रोक्न सक्दैन् ।

यदि प्रधानमन्त्रीले निर्वाचन गराउन चाहानु भएन भने के गर्नुहुन्छ ?

अब प्रधानमन्त्रीले पनि निर्वाचन रोक्नुहुँदैन । किनकी उहाँले प्रष्ट भनिसक्नुभयो । उहाँले धेरै समयपछि ठीक कुरा बोल्नुभएको छ । आईन्दा यस्तै कुरा बोल्नुहोस् प्रधानन्त्रीले भन्ने मेरो शुभकामना छ ।

तर संसदको ठूलो दल काँग्रेसले त मोर्चासहितको चुनाव र दुई चरणको निर्वाचनको कुरा गरेको छ नि ?

नेपाली काँग्रेस हाराभारा खेल्ने पार्टी हो । कहिले पूर्वतिर फर्केर बोल्छ । कहिले पश्चिमतिर फर्केर बोल्छ । गंगातिर जाँदा गंगाराम र जमुनारित जाँदा जमुनाराम भन्ने नेपाली काँग्रेसको चरित्र हो । बोल्दै रहन्छ । तर बैशाख ३१ गतेको निर्वाचनमा सहभागी हुन्छ । यो कुरामा हामी विश्वस्त छौं ।

काँग्रेसले मधेशी मोर्चालाईपनि सहमतिमै लैजानुपर्छ भनेर भनेको कुरामा एमालेले किन यसरी आपत्तिज जनाएको होला ?

हामीले सबै दलहरु मिलेर जानुपर्छ भन्ने कुरामा कहिले आपत्ति प्रकट गर्यौं र ? काँग्रेसमात्रै होईन, निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरु अब मिलेर निर्वाचनमा जानुपर्छ । मेरो त व्यक्तिगत रुपमा आह्वान छ : कि सबै दल चुनावमा मिलेर जाऔं । निर्वाचनलाई सफल बनाऔं । स्थानीय सरकारहरु निर्माण गरौं ।
२ नम्बर प्रदेशमा अहिलेको अवस्थामा निर्वाचन हुन सक्दैन भनेर देशको गृहमन्त्रीले भनिसक्नुभएको छ, अब तपाईहरु के गर्नुहुन्छ ?

चुनाव जहाँ जहाँ गाहा«े छ । त्यो ठाउँमा सरकारले राम्रो व्यवस्थापन गर्नुपर्छ । २ नम्बर प्रदेशमा पनि चुनाव हुन्छ । धेरै क्षेत्रहरुमा चुनाव हुन्छ । केही ठाउँमा अलि अलि गडबडी हुन सक्छ ।

तपाईको पार्टीले निर्वाचनमा जानको लागि घोषणापत्र तयार पारिसक्यो त ?

हामीले सबै कुरा तयार पारिसक्यौं । अब सिठी बज्नेवित्तिकै दौड सुरु हुन्छ ।

तर पार्टी केन्द्रिय समितिको बैठक त स्थगित् भयो नि ? के कारणले ?

हाम्रो पार्टी अध्यक्ष उपचारको लागि विदेश जानुभएको छ। उहाँ स्वदेश फर्किनेवित्तिकै तरुन्तै बैठक गर्छौं । र, बाँकी निर्णयहरु तुरुन्तै गरिन्छ । हामीले भित्र भित्रै धेरै कुरा गरेका छौं । हामी ७४४ वटा ईकाईहरुमा हामी तमतयार भएर बसेका छौं ।

उसो भए मधेशमा पनि तपाईहरु उम्मेद्धवारी दिन सक्नुहुन्छ ?

हेर्नुहोला । हामी २ नम्बर प्रदेशका प्रत्येक वडा, नगरपालिकाहरुमा हामी उम्मेद्धवारी दिन्छौं । हामी आमसभा गर्छौं । हामी जुलुस गर्छौं । कसले त्यो जुलुसमाथि हमला गर्दौ रहेछ ? कसले आक्रमण गर्दौ रहेछ ? को के गर्न आउँदो रहेछ ? हामी हेर्छौं । र सारा देश र जनताले त्यो कुरा हेर्न पाउँछन् ।

मधेशी मोर्चाले त निर्वाचन विथोल्ने निर्णय गरिसक्यो नि ?

विथोले उहाँहरुकै कद घट्छ । तर उनीहरुको आन्दोलन पनि कागजमै सिमित हुन्छ । अहिलेको हाम्रो प्रधानमन्त्री भित्तामा राष्ट्रपति वा भित्ते राष्ट्रपति हुनुभएको जस्तै मोर्चाको आन्दोलन पनि कागजी आन्दोलन हुन्छ । त्यस्तै यस्तै हो ।

प्रतिक्रिया