“दुबै मृगौला फेल” विरामीको हार्दिक अपिल

इनेप्लिज २०७४ वैशाख ५ गते २२:१८ मा प्रकाशित

युवराज कार्की (सन्तोष) उदयपुर: गरिब तथा विपन्न अनि आर्थिक स्रोत नभएका मृगौला रोगीलाई अहिले सरकारले निःशुल्क उपचार गरिदिने घोषणा गरेको छ । तर, त्यही निःशुल्क उपचार गर्ने माध्यम खोज्दै एक मृगौला रोगी भौतारी रहेका छन् ।

यसरी भौतारिदै हिड्ने मृगौला रोगी हुन् खोटाङ चिसापानी स्थायी घर भई हाल उदयपुर त्रियुगा नगरपालिका ११ गाईघाटमा भाडामा बस्दै आएका ३४ वर्षे परसुराम परियार ।

सोमबार दिउँसो नेपाल पत्रकार महासंघ उदयपुरको कार्यालयमा न्याउरो अनुहार भएका परियार निःशुल्क उपचारको खोजीमा पत्रकारलाई सोध्न पुगेका । ‘दुबै मृगौला काम नलाग्ने भएको छ,’ मेरो दुबै मृगौला फेल भएका छन्, म बाँच्न चाहन्छु सहयोगी कोही हुनुहुन्छ ? लेखिएको प्लेकार्ड देखाउँदै परियारले भने, ‘सामान्य औषधी उपचार गर्ने पैसा समेत छैन ।’

गत फागुन महिनामा एक्कासी लगातार बान्ता हुने, शरीर सुनिन थालेपछि स्वास्थ्य परिक्षण गर्न बिराटनगरको गोल्डेन हस्पिटल प्रा.लि. पुगेको परियारको दुबै मृगौला फेल भएको पत्ता लागेको थियो।

‘फागुन ८ गते बिरामी भएर चेक गर्न गोल्डेन हस्पिटल प्रा.लि. गएँ,’ परियारले भने, ‘त्यहाँ चेक गर्ने मृगौला रोगका डाक्टर रमेश कुमार चौरसियाले दुबै मृगौला फेल भएको जानकारी दिए ।’ परियारको भनाई अनुसार डाक्टरहरुले मृगौला रोगको चेकजाँच गरेका थिए ।

गाईघाट बजारमा सामान्य सिलाई कटाई गरेर ४ जनाको परिवारको जीवन गुजारा चलाउदै आएका परियार उपचारको लागि आर्थिक रुपमा अति कमजोर छन् । ‘सिलाई कटाईले परिवारको गुजारा चलाउनै धौ धौ भएको छ,’ उनले भने, दुईवटै मृर्गौलाले काम गर्दैन, डाक्टरले प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, कसरी बाँच्न सक्छु होला ?’

‘म मरे भने मेरा ९ वर्षे र १४ वर्षे दुई छोरोको बिजोग हुने भयो,’ आँखाको गहभरी आँशुका धारा बगाउँदै पत्रकार महासंघ शाखा उदयपुरको कार्यालयमा पत्रकारसँग बिलौना गरे ।

स्वास्थ्य कार्यालय उदयपुरले निःशुल्क उपचारको लागि गोल्डेन अपस्तालमै सिफारिस गरेको छ, त्यहाँ उपचारको पैसा नलागे पनि औषधीको लागि पैसा लाग्छ भनेर त्यहाँका डाक्टरहरुले भनेका छन्, पैसा छैन।’ गोल्डेन नीजि अस्पताल भएकाले सरकारी अस्पतालमा उपचार गराउने माध्यम परियारले खोजी गरिरहेका छन्।

मृगौला रोगीको निःशुल्क उपचार हुन्छ भनेको समाचार सुनेका परियारलाई उनकै श्रीमती ३४ वर्षे निर्मला परियारले मृगौला दिने भएकी छिन्। श्रीमतीले दिने मृगौला मिल्ने, नमिल्ने चेक जाँचको लागि निःशुल्क हुने अस्पतालको खोजीमा अहिले पशुराम छन् ।

‘सामान्य औषधी उपचार गर्ने पैसा समेत कसरी जुटाउन,’ मृत्युलाई साथमा लिएर सहयोग माग्दै हिडेका परियारले भने, ‘श्रीमतीको मृगौला मिल्ने नमिल्ने चेक जाँचसम्म गराउन आर्थिक समस्या भो ।’ अरुको सिलाई कटाई सेन्टरमा जागिरको रुपमा काम गर्दा ६/७ हजार मासिक कमाउने परियारले अहिले गैर सरकारी संस्था तथा सरकारी कार्यालयमा जीवन दाताको खोजी रहेका छन् ।

‘सामान्य रुपमा काम गरेर जीविकोपार्जन गर्ने पशुरामलाई सहयोग गरि दिने जीवनदाता खोजिदिनु प¥यो।’ उनकै साथमा आएका गैससकर्मी कर्ण सुनामले हात जोड्दै भने, ‘सुनेको थिए रेडियो, पत्रपत्रिका, अनलाईनमा समाचार आएर धेर थोर आर्थिक सहयोग जुट्छ रे ।’ समाचार प्रकाशन प्रशारण गर्न पत्रकार महासंघमा लिएर आएको सुनामले बताए ।

पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले आर्थिक सहयोगको लागि समाचार पनि प्रकाशन र प्रसारण गर्दै निःशुल्क उपचारको लागि सम्बन्धित पक्षलाई ध्यानार्कषण गराउने बताए ।

‘कुन अस्पतालमा निःशुल्क मृगौला प्रत्यारोपण हुन्छ,’ अध्यक्ष खड्काले भने, ‘त्यसको पनि खोजी गर्ने अनि आर्थिक सहयोगको लागि बिगतमा समाचारको कारण उपचार भएका रोगीको जसरी उपचारमा सहयोग गर्ने प्रयास गर्दछौ ।’

मृगौला रोगी परियारलाई आर्थिक सहयोग गर्नको लागि रोगी परसुराम परियारको मोवाईल नम्वर ९८०७९०६२८६ र कर्ण सुनाम ९८४२८३१३५३ मा सम्पर्क गर्न सकिने छ ।

स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण मित्रजनहरुले सहयोगी हातहरु अगाडी बढाउँन सक्नुहुनेछ। सहयोगको लागि पिडित विरामी लगाएत परिवार  हार्दिक अपिल गर्दछ ।

– See more at: http://newsmissile.com/2017/04/18/14879#sthash.aNjVb0WY.jJuyIPFx.dpuf

प्रतिक्रिया