गाउँ–नगरका समस्या समाधान गर्ने नेमकिपाको प्रतिबद्धता

इनेप्लिज २०७४ वैशाख ७ गते ९:१८ मा प्रकाशित

काठमाडौँ, ७ वैशाख । नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, पुँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीले आज सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ मा भूबनोटअनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था मिलाइने जनाएको छ ।

पार्टीले बौद्धिक क्षेत्रको सहयोगमा आवास, पर्यटन, औद्योगिक, कृषि, शैक्षिक, हरितल क्षेत्रलगायतका भूउपयोग सम्बन्धी नक्सा तयार गरी कार्यान्वनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टीले गाउँपालिकामा जनताको नागरिक भावनाको विकास गरी गाउँपालिकाकालाई सफा र स्वच्छ बनाउने, पानीका स्रोत सफा राख्ने, बाढीपहिरो नियन्त्रणका लागि वृक्षारोपण गर्नेलगायतका विकास निर्माणका कार्यलाई जोड दिएको छ ।

त्यसैगरी नगरपालिकामा सडकको सरसफाइ, हरियाली, खानेपानी आपूर्ति, नमुना विद्यालय तथा कलेज स्थापना र कालोबजार, कृत्रिम अभाव गर्नेजस्ता कार्यलाई कानुनी दायरामा ल्याई उपभोक्ताको अधिकार स्थापित गर्ने सो पार्टीले घोषणापत्रमा उल्लेख छ ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले घोषणापत्र, वर्गआधार, पार्टीको सिद्धान्त मिल्ने पार्टीसँग सहकार्य गरेर आफ्नो पार्टी अगाडि बढ्ने स्पष्ट गर्नुभयो । उहाँले २८ जिल्लामा आफ्नो पार्टीले उम्मेदवारी दिने घोषणासमेत गर्नुभयो ।

मधेस केन्द्रित दललाई निर्वाचमा ल्याउने विषयमा पार्टी अध्यक्ष बिजुक्छेले निर्वाचनलाई सफल बनाउन चरणबद्ध निर्वाचन गर्न सकिने धारणा पनि व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया