मंगलबार, मंसिर ५ २०७४ | Tue, November 21, 2017
नेपालको समय: १०:१२ | Washington DC: 23:27

सरकारले तोक्यो म्यादी प्रहरीको सुविधाः ५१ हजार तलब, २ लाखको वीमा

 काठमाडौं ,७ बैशाख।  बिहीबारको मन्त्रिपरिषद बैठकले स्थानीय चुनावका लागि भर्ना भएका म्यादी प्रहरीका लागि सेवा सुविधा तोकेको छ ।

 

मन्त्रिपरिषदको बिहीबारको बैठकले गरेको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । उनीहरुले पोशाक भत्ताको रुपमा थप ७ हजार १ सय रुपैयाँ पाउँनेछन् ।

यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर दिनेछैन । गृह मन्त्रालयले तोकिदिएको मापदण्ड अनुसार म्यादी प्रहरीले आफै पोशाक किन्नुपर्नेछ ।

यसका अतिरिक्त पनि म्यादी प्रहरीका लागि सुविधा निर्धारण गरिएको छ । निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप बिशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।

५५ दिनको बिशेष वीमा

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृहमन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउँछ ।

निर्वाचनका बेला कुनै घटना दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष वीमाको व्यवस्था समेत गरेको छ । निर्वाचन अवधिभर ५५ दिनका लागि प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना वीमा गर्ने निर्णय गरेको हो । निर्वाचनमा खटिएका बेला म्यादी प्रहरी दुर्घटनामा परेमा २ लाख क्षतिपूर्ति पाउनेछन् ।

यस्तै उनीहरुका लागि १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ । निर्वाचन अवधि ५५ दिनभित्र कुनै म्यादी प्रहरी विरामी परेमा एक लाख ५० हजारसम्मको उपचार खर्च पनि सरकारले व्यहोर्ने छ ।

२०७४ वैशाख ७ गते ९:३९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी