चालु आवमा ६.९४ प्रतिशतको आर्थिक वृद्धि

इनेप्लिज २०७४ वैशाख १२ गते १९:१३ मा प्रकाशित

काठमाडौँ, १२ वैशाख । चालु आर्थिक वर्ष २०७३-७४ मा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६।९४ प्रतिशत हुने भएको छ । गत आवको यही समयमा ०।०१ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको थियो ।

यस आवको छ देखि नौ महिनाको यथार्थ तथ्याङ्कको आधारमा र बाँकी महिनाको सामान्य अवस्था रहेको अवस्थालाई अनुमानमा कुल गार्हस्थ्य उत्पादन उत्साहजनक देखिएको हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार अनुकुल मौसमले गर्दा कृषि क्षेत्रको उत्पादनमा भएको बढोत्तरी, निर्माण कार्यले लिएको गति र ऊर्जा सङ्कट समाप्तिसँगै अर्थतन्त्रमा सुधार आएको हो ।

विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोग सचिवालयका सचिव चन्द्रकुमार घिमिरेले आर्थिक विकासको हिसाबले चालु आव अत्यन्त फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा ऊर्जा सङ्कट अन्त्य भएको र बन्द हड्ताल कम भएकाले अर्थतन्त्रमा सकारात्मक असर परेको हो ।”

कृषि क्षेत्रमा ५।२९ प्रतिशतको वृद्धि हासिल भएको छ भने गैरकृषि क्षेत्रमा ७।७४ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य मूल्यमा रु २२ खर्ब ९३ अर्ब ९८ करोड ९० लाख रहेको छ भने चालु मूल्यअनुसार कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु २५ खर्ब ९९ अर्ब २३ करोड ४० लाख छ ।

चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण राष्ट्रिय लेखा अनुमान रु आठ खर्ब ७८ अर्ब ६० करोड ५० लाख अर्थात कुल गार्हस्थ्य उत्पादनको ३३।८ प्रतिशत रहने अनुमान गरिएको छ । यो पटक कुल स्थिर पुँजी निर्माणमा वृद्धि भएको हो । जुन गत आवमा २८।८ प्रतिशत थियो ।

चालु मूल्यमा अन्तिम उपभोग खर्च रु २३ खर्ब ३२ अर्ब ७४ करोड १० लाख अर्थात् कुल गार्हस्थ्य उत्पादनको ८९।७५ प्रतिशत रहने अनुमान छ । त्यस्तै चालु मुल्यमा वस्तु र सेवाको कुल निर्यात सालाखाला रु आठ खर्ब ३८ अर्ब ४६ कारोड ९० लाख मात्र रहनेछ ।

उपभोक्ता मूल्य सूचकाङ्क आधार वर्षमा सन् २०००-२००१ लाई आधार वर्ष मान्ने हो भने ३२४।२२ रहेको छ । विप्रेषण आयतर्फ कुल रु सात खर्ब २६ करोड ३० लाख रहेको छ जुन कुल गार्हस्थ्य उत्पादन २६।९४ प्रतिशत हुन आउँछ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा रु ९० हजार ५२१ अर्थात ८५३ अमेरिकी डलर हासिल भएको छ ।

कृषि क्षेत्रमा आएको सुधारका कारणले, सरकारले मल बिउ, प्राविधिक सहायता र सिँचाइ पु¥याएकाले पनि यो परिणाम आएको केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्यालको दाबी थियो । उहाँले ऊर्जा क्षेत्र व्यवस्थामा सुधार आएकाले उत्पादन क्षेत्रमा ठूलो योगदान पुगेको बताउनुभयो ।

चालु आवको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २९।३९ प्रतिशत तथा गैरकृषि क्षेत्रले ७०।६३ प्रतिशतको योगदान भएको अनुमान गरिएको छ । त्यसैगरी यस आवमा २८।८९ प्रतिशत योगदान रहेको कृषि तथा वन क्षेत्रमा ५।२५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ।

विसं २०२१÷२२ देखि निरन्तर कुल गार्हस्थ्य उत्पादनको अनुमान गर्दै आइएको छ ।

प्रतिक्रिया