सोह्र दलले चुनाव चिह्न पाए

इनेप्लिज २०७४ वैशाख १४ गते १५:०२ मा प्रकाशित

दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् ।

त्यस्तै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिह्न पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभएको छ । अन्य दलले चुनाव चिह्न नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ । प्रदेश नं ५ मा दाङ पर्ने हुँदा यहाँ जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

यसअघि यहाँ पनि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएको हुँदा त्यहीअनुरुप तयारी गरिएको थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिअनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया