अझै घरबाहिर शौचालय जान बाध्य डोम समुदाय

इनेप्लिज २०७४ वैशाख १५ गते १०:३१ मा प्रकाशित

डोम समुदायका अधिकांश सदस्य अझै पनि घरबाहिर शौचालय जान बाध्य छन् । रौतहटको ग्रामीण समुदायका अधिकांश डोम परिवारका बालबालिका, महिला तथा पुरुषसमेत शौचालय गर्न सडकको छेउछाउ, पर्ती जग्गा र खेतमा जान बाध्य हुनुपर्ने अवस्था रहेको छ ।
काठ र बाँसको काम आफैँले गर्न सक्ने डोम समुदायको घरमा शौचालय बनाइदिने मजदुर नपाउँदा घरबाहिर जोखिमपूर्ण अवस्थामा आशौच गर्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको डोम समुदायको अधिकांश घरमा शौचालय निर्माण हुन नसकेको जिल्ला खानेपानी तथा सरसफाइ, स्वच्छता समन्वय समिति रौतहटका सदस्य सचिव अनिल केशरीले बताएका छन् ।
घरमा शौचालय बनाउने चाहना हुँदाहुँदै पनि बनाइदिने प्राविधिक नपाएकोले बाध्य भएर घरबाहिर आशौच गर्न जानु परेको वरियारपुर ४ का नथुनी मल्लीले बताएका छन् । मल्ली आफ्नो पीडा सुनाउँदै भन्छन् – दिउँसा शौचालय जान मन लागेर पनि च्यापेर साँझसम्म बस्नु पर्ने बाध्यता महिलाहरुको रहेको छ ।
दिउँसोभरि खुल्ला सडक, खेत तथा खोला किनारमा आशौच गर्न बस्दा केटाहरुले जिस्क्याउने तथा खुल्ला दिसामुक्त घोषणा गर्न समस्या निम्त्याएको भन्दै कतिपयले लखेट्ने गरेको समेत मल्लीले बताए । तर आफूले पैसा उपलब्ध गराउँदा पनि शौचालय बनाइदिन कोही पनि मिस्त्री मान्ने नगरेको दुखेसो सुनाउँदै उनी भन्छन् – डोमको घरमा कसैले सौचालय बनाउँदा मिस्त्रीलाई समेत हेप्ने प्रवृत्ति समाजमा रहेको छ ।
सदरमुकाम गौर नगरपालिका ११ सिसवाका विश्वनाथ मल्ली शौचालय निर्माणको लागि विभिन्न संघ संस्थालाई हार गुहार गर्दा पनि नबनाइदिएको गुनासो गर्छन् । विभिन्न संघ संस्थाका मानिस आउने र फोटो खिचेर लैजाने तथा कसैले पनि शौचालय बनाउन केही पहल नगर्ने गरेको दुखेसो पोख्दै मल्ली भन्छन् – बिहान अँध्यारैमा शौचालय बस्नुपर्ने र राती अबेरमात्र घरबाहिर शौचालय बस्न निस्किनु पर्ने बाध्यता डोम समुदायको रहेको छ ।
जिल्लामा १६५ घरधुरी रहेको डोम समुदायमध्ये अधिकांशको समस्या उस्तै रहेको छ । धेरैले ऐलानी जग्गा तथा सडक पेटीमा घर बनाएर बसेका कारण संघसंस्थाले सहयोग गर्न नसकिएको संघ संस्थाको भनाइ छ । जनसेवा नेपालका प्रमुख भाग्यनारायण महतोले डोम समुदायका विभिन्न परिवारले सार्वजनिक ठाउँमा घर निर्माण गरेकाले शौचालय निर्माणको लागि ठोस सहयोग गर्न कठिनाइ भएको बताएका छन् ।
डोम समुदायले उपभोग गर्न पाउने गरी सार्वजनिक शौचालयको निर्माण हुन नसकेकोले समस्यामा डोम समुदाय देखिएको नेपाल पत्रकार महासंघ रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले बताएका छन् । जिल्लामा अनुगमनको क्रममा डोम समुदाय शौचालयबाट वंचित रहेको देखिएको स्वीकार्दै झाले डोम समुदायको बस्ती रहेको ठाउँमा तिनीहरुको पहुँचभित्र पर्ने गरी कम्तीमा सार्वजनिक शौचालयको निर्माण गर्नुपर्ने बताएका छन् ।
डोम समुदायको घरमा शौचालय निर्माण गर्न प्राविधिक नपाउने समस्यालाई सम्बोधन गरिने जिल्ला खानेपानी तथा सरसफाइ, स्वच्छता समन्वय समितिले जनाएको छ । समितिको पहलमा जिल्लाबाटै प्राविधिक उपलब्ध गराउने र आवश्यकताअनुसार शौचालयको निर्माण गरिने समितिका सदस्य सचिव केशरीले बताए ।

प्रतिक्रिया