प्रदेश नं. २ मा अब हामीलाई पहिलो बन्न कुनै शक्तिले रोक्न सक्दैन्ः नेता श्रीवास्तव

इनेप्लिज २०७४ वैशाख १६ गते ३:०० मा प्रकाशित

विभिन्न टुक्रामा विभाजित ६ वटा मधेश केन्द्रीत दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टीले मधेशमा एक खालको तरंग सृजना गरेको छ । यो एकताले राष्ट्रिय राजनीतिका ठूला राजनीतिक दलहरु समेत सशंकित भएका छन् । संविधान संशोधन प्रस्ताव अगाडि बढेसंगै राजपाका नेताहरु पनि जनताको घरदैलोसम्म पुग्नेक्रम बढ्न थालेको छ । यसै विषयमा दैनिक नेपालले वीरगञ्ज उपमहानगरपालिकाका पूर्व मेयर तथा राजपाका नेता विमल श्रीवास्तवसंग कुराकानी गरेको छः

१. के मधेशबादी दलहरुबीच एकता व्यवहारिक एकता हो त ?
निश्चय नै लामो समयसम्म टुटफुटबाट ग्रसित मधेशबादी दलहरुमा पछिल्लो समय राष्ट्रिय राजनीतिमा आएको उतारचढावले मधेशबादी दलहरुलाई पुनः एक पटक मधेशको भावनालाई एकिकृत गर्न एकताको विकल्प छैन भन्ने कुरा देखियो । जसले कारणले गर्दा हामीलाई एक हुन बाध्य बनायो । हामी व्यवहारिक रुपमै एक भएका छौं ।

२. तपाईहरुको यो पार्टी एकता छिमेकीको चाहनामा बनेको भन्ने आरोप छ नि के हो ?
यो आरोप मधेशी जनतालाई भारतीय भनेर राजधानीले हेर्ने दृष्ट्रिकोणको उपज मात्रै हो । हामी हिजो पनि नेपाली थियौं, आज पनि नेपाली नै हौं भोलि पनि नेपाली नै रहने छौं । हामी नेपाली हौं भनेर परिचय दिनुपर्ने स्थिति कहिलै नआओस् भन्ने हाम्रो चाहना हो ।

३. यो एकताले प्रदेश नम्बर २ त अन्य ठूला दललाई झट्का दिएकै हो त ?
हिजोको हाम्रो टुटफुटले गर्दा ठूला राजनीतिक दलहरुलाई मधेशी जनताले साथ दिएका थिए । तर, अब हाम्रो एकताले मधेशी जनताहरु पनि एक ठाउँमा आएका छन् । उनीहरुको भावना मजबुद भएको छ । जसले गर्दा सिंगो मधेशी जनताको साथ हामीलाई छ । अब २ नम्बर प्रदेशमा ठूला दलहरुको अस्तित्व धरासायी हुने अवस्थामा आइसकेको छ । त्यसकारण हामीलाई २ नम्बर प्रदेशमा पहिलो हुनबाट कुनै शक्तिले रोक्न सक्दैन ।

४. पार्टी एकतासंगै चुनावमा आकांक्षीहरुको संख्या पनि बढ्ला कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो नितान्त पार्टीको कुरा हो । पहिलो कुरा त संविधान संशोधन भइसकेको अवस्था छैन । त्यसकारण यो विषयमा मैले अहिले नै बोल्न उपयुक्त नहोला । यद्यपी, त्यो अवस्थामा हामीले उम्मेदवारका आकांक्षीहरुको योगदानको कदर गर्दै व्यवस्थापन गर्ने छौं ।

५. तपाई त पटक–पटक विरगञ्ज उपमहानगरपालिकाको मेयर बनिसक्नुभएको छ, यस निर्वाचनमा पनि उम्मेदवारी दिने केही तयारी छ त ?
स्वभाविक रुपमा लामो समयसम्म विरगञ्जबासीहरुको सुख दुखमा जोडिएको नाताले उहाँहरु मलाई यस पटक पनि मेयरको रुपमा देख्न चाहन्छन् । तर, यो बारेमा मैले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छैन । तर, जनताको घरदैलोमा पुग्दै गर्दा उहाँहरुको उत्साहले मलाई थप उर्जा मिलेको छ ।

६. यदि, पुनः विरगञ्ज उपमहानगरपालिकाको मेयर बन्नुभयो भने यो शहर विकासको तपाईसंग के–के योजना छन् ?
देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको विरगञ्ज शहरको मुहार फेर्न थुप्रै योजनाहरु बनाउन आवश्यक छ । काम गर्न सहज परिस्थिति सृजना भएको खण्डमा हामीले विरगञ्जलाई देशकै नमुना शहर बनाउने लक्ष्य बोकेका छौं । भारत र राजधानी काठमाडौंलाई जोड्न पुलको भूमिका निर्वाह गरिरहेको यस शहरमा सडकको स्तरोन्नती संगसंगै विकास निर्माणका थुप्रै गुरुयोजनाहरु बनाएर अगाडि बढ्ने सोच बनाएको छु । त्यस्तै, विरगञ्जबासीका थुप्रै आधारभूत आवश्यकताहरु परिपूर्ति गर्न म तत्पर छु ।

प्रतिक्रिया